पोखरा न्यूज । नेपाली काँग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।
नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक राजनीतिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो । बैठकमा काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुई दलको आधिकारिक धारणा माग्ने बताइएको छ ।
नेकपा माओवादी केन्द्रले काँग्रेसलाई सरकार गठन गर्न पहल गर्न आग्रह गर्दै आएको छ भने अर्को दल जसपा नयाँ सरकार गठनको बिषयमा विभाजित छ । जसपामा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्दै आएको भएपनि अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निकट देखिदै आएका छन् ।
आज बस्ने बैठकमा नयाँ सरकार बन्ने बिषयमा तीन दलबीच सहमति नभए माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्ने संकेत गरेको छ ।





