राष्ट्रियसभा अध्यक्षलाई प्रवासीको समस्या

पोखरा न्यूज । नेकपा एमालेसँग आबद्ध प्रवासी नेपाली एकता मञ्चको केन्द्रिय समितिले शनिबार भर्चुअल माध्यमबाट एक कार्यक्रम सम्पन्न गरेकोछ । कार्यक्रममा वक्ताहरूले दक्षिण कोरियामा अझैसम्म राजदूत नियुक्त हुन नसक्दा आफ्ना गुनासाहरूको कूटनीतिकरूपमा पहल हुन नसकेकाले तुरुन्त राजदूत पठाउन अनुरोध गरेका थिए । युरोप र नेपालबीच सिधा हवाई उडान गर्न माग गर्दै वक्ताहरूले गैरआवासीय नेपालीलाई दिने भनिएको नागरिकता नेपालमा रहने नेपाली सरह हुनु पर्ने तथा खाडी मुलुकमा रहेका लाखौँ नेपालीले सिकेको सीप र ज्ञानको उपयोग राज्यले गर्नु पर्ने जस्ता सुझाव र समस्या राखेका थिए ।

सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले पछिल्लो पटक अन्य देशमा राजदूत पठाउने क्रममा संसदीय सुनुवाइमा नाम पठाउने क्रममा कोरिया छुटेका कारण यस्तो हुन गएको र अब छिट्टै पठाइने बताउनुभयो । त्यस्तै नागरिकताका सवालमा हाल संसद्मा विधेयक पेश भइसकेको र यसमा थप केही मागहरू सम्बोधन गर्नुपर्ने रहेको भनी बाग्लुङबाट निर्वाचित सांसद सूर्य पाठकले संसोधन प्रस्ताव पेश गर्नुभएको भन्दै उहाँले सो विधेयक राष्ट्रियसभामा आउँदा आफूले थप आवाज उठाउने बताउनुभयो ।

अध्यक्ष तिमिल्सेनाले युरोप र नेपालबीच सिधा हवाई उडानका लागि युरोपमा हाल नेपाली जहाज उडाउन प्रतिबन्ध रहेको र यसको विकल्पका रूपमा रसिया–नेपाल सिधा उडानका लागि आफू नेपालका लागि रसियाका राजदूतसँग निरन्तर संवादमा रहेको बताउनुभयो । कार्यक्रममा विश्वका विभिन्न देशबाट प्रवासी नेपाली मञ्चका पदाधिकारी, पत्रकार र अन्य सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button