पोखरामा २७ वर्षीय युवामाथि गोली प्रहार गर्ने पाण्डे पक्राउ

पोखरा न्यूज । पोखरामा एक युवकमाथि गोली प्रहार गरी फरार रहेका व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखराको महतगौंडामा गत माघ २३ गते  गोली हानी फरार रहेका  बारा बरियापुर नगरपालिका – ४ पिपराबृताका ४५ वर्षीय राजकिशोर पाण्डेलाई आइतबार बिहान प्रहरीले पोखराको सिमपानीबाट पक्राउ गरेको हो।

सोही दिन साँझ ७ बजेको समयमा महतगौँडा नोलौ घुम्ती नजिक पवर्तका २७ वर्षीय मनोज बिकलाई अपरिचित व्यक्तिले गोली हानी घाइते बनाएकोमा अनुसन्धान पश्चात हुलियाका आधारमा खोजतलास गर्ने क्रममा पाण्डेलाई आइतबार पोखराबाटै पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते बिकले दिएको हुलियाको आधारमा प्रहरीले बाराको पिपराबृता घर भइ पर्साको विरगंज आदर्शनगरमा अस्थायी रुपमा बस्दै आएका पाण्डे हालसालै पोखरा आउनासाथ पक्राउ गरेको एसपी  श्रेष्ठले बताउनुभयो । पोखरामा मेटल सम्बन्धी काम गरी बस्ने पाण्डे घटना पश्चात फरार रही हालसालै पुन: पोखरा फर्किएको प्रहरीको भनाई छ  । एसपी  श्रेष्ठका अनुसार  प्रहरीले  पाण्डेको साथबाट  ३ राउण्ड गोली समेत फेला पारेको छ । पक्राउ परेका पाण्डेमाथि अन्य आपराधिक घटनामा समेत संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको एसपी  श्रेष्ठले उल्लेख गर्नुभयो ।

वायरिङ सम्बन्धी काम गर्ने  बिक गत माघ २३ गते गोली लागी घाइते भए पश्चात मोटरसाइकलमै  वडा प्रहरी कार्यालय बैदाम पुगेर घटनाबारे जानकारी दिनुभएको थियो  । प्रहरीले तत्कालै उहाँलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगेकोमा अहिले स्वास्थ्य अवस्था सुधार हुँदै गएको एसपी  श्रेष्ठले जानकारी दिनुभयो  ।

गोली प्रहारबाट बिकको अगाडिपट्टी दाहिने कोखामा  प्वाल परी पछाडि ढाडको भागमा समेत चोट देखिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button