म लाइभ दोहोरीबाट चिनिए: माया गुरुङ

सुनीमाया, यानीमाया, ठाडो भाकाहरु गाउन मनपराउँछु

लोक दोहोरी गायिका माया गुरुङको जन्म स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका ११ कोल्मा काल्खुमा भएको हो । हाल पोखरा नयाँगाउँमा बस्नुहुन्छ । उहाँमा बाल्यकालदेखि नै गीत संगीतप्रतिरुचि थियो । स्कुल पढ्ने क्रमबाट गीत गाउन सुरु गर्नुभयो । यस्ता कार्यक्रममा सहभागी भन्दा पाएको हौसलाका कारण अगाडि बढ्न उहाँलाई सघायो ।

लाइभ दोहोरीतर्फ उहाँको बेग्लै पहिचान बनेको छ । लाइभ दोहोरीका प्रतियोगीतामा भाग लिदाँ थुप्रै महत्वपूर्ण पुरस्कार उहाँले पाउनुभएको छ ।

२०६३ सालमा ‘लायौ माया नजानी नजानी छुट्यो भने कहाँ होला म जानी’ गीत रेकर्ड गरेर औपचारिक यात्रा सुरु गर्नुभयो । हालसम्म ४० भन्दा बढी गीतमा उहाँले आवाज भर्नुभएको छ ।
रंगशाला जत्री, रोधिमा झिलिलि बक्ति, कुरि–कुरि चल्ला जुध्यो माउसित, आमा परदेशी, तिर्खा लाग्यो हर–हर, चेली भाग ३, अभागिनी, दिदी भाइ, अच्छा मेरो लाहुरे, वनको मजुर झल्को दिन–दिन आदि हुन् ।

विभिन्न मेला महोत्सव तथा दोहोरी साँझमा आफ्नो प्रस्तुति राख्दै दर्शको श्रोताको माया उहाँले बटुल्दै आउनुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान गण्डकी प्रदेश समिति पोखराको महिला उपाध्यक्ष तथा तमु गुरुङ कलाकार संघको समेत उपाध्यक्ष पदको जिम्मेवारी उहाँलार्ई छ । निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील बन्ने योजनाका साथ अगाडि बढ्नु भएकी लोक दोहोरी गायिका माया गुरुङसँग हामीले सांगीतिक यात्राकै बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
स्कुल पढ्दा ठेटर, कौरा आदि नांच्ने गाउने प्रतियोगिता हुन्थ्यो । त्यस बेलादेखि नै यस्ता प्रतियोगितामा भाग लिन्थे । यस्ता प्रतियोगितामा गायन तर्फबाट पुरस्कृत समेत भएकी थिए । यस्तै कार्यक्रममा गाउदै गर्दा पाएको सर्पोटका कारण अगाडि बढ्न हौसिए । जुन अहिलेसम्म निरन्तर जारी छ ।

कस्ता गीत गाउन मनपर्छ ?
मलाई विशुद्ध लोकदोहोरी गीत गाउन मनपर्छ । पुरानो पुस्ताले गाउने सुनिमाया, यानिमाया, ठाडो भाकाहरु बढि गाउन मन पराउँछु । यस्ता गीत गाउँदा छुट्टै खालको आनन्द आउँछ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
बाल्यकालमा गीतसंगीत रेडियो मार्फत नै सुनियो । क्यासेटमा टेप मार्फत समेत उतिकै सुने ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
स्पेशल यो नै भन्ने छैन । मलाई प्रायः सबै गायक गायिकाको आवाज मनपर्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
यहीं क्षेत्रमा लागेर जीवन धान्न त मुस्किल छ । सोही कारण वैकल्पिक पेशा समेत जरुरी ठानेर वैकल्पिक पेशा समेत गरेकी छुँ ।

तपाईले देखेको सपना ?
मनमा ठूलो सपना पालेको छैन । आजसम्म जतिले माया गर्दिनु भएको छ यहीं मेरो सपना थियो । यहीं क्षेत्रमा मेहेनत गरेर आगामी दिनमा अझै धेरै दर्शक स्रोताको मनमा बस्न सकौँ भन्ने छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
नेपाली लोकसंगीतको क्षेत्रलाई मनपराउने दर्शक श्रोताका संख्या बढ्दै गएको छ । मौलिकता बोकेका गीत दर्शक श्रोतामाझ आइरहेका छन् । सांगीतिक क्षेत्रका कलाकारहरु समय अनुसार अपडेट भैइराखेका छन् । बालबालिकादेखि वृद्धबृद्धासम्मकालाई लोकदोहोरी गीत गाउने जोश पलाइ रहेको छ । यो नै नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधानुपर्ने कुरा ?
अलिकति अपाच्य, छाडा गीतहरु बजारमा ल्याउन नदिनको लागि सबै लाग्नुपर्नेछ । गीत संगीतको संरक्षण तथा प्रर्वद्धनमा खोलिएका संघ संस्थाहरु क्रियाशील बनेर त्यस्ता गीतलाई बजारमा आउन नदिन र बजारमा ल्याएको खण्डमा कारवाहीको माग गर्नुपर्छ । विकृति विसंगती रोक्न गीत संगीतको क्षेत्रमा सेन्सर गर्नको लागि सरकारको तर्फबाट बोर्ड गठन गर्नुपर्छ । ‘भल्गर’ शब्द भएका गीत दोहोर्‍याएर सुन्ने गर्दा लोकदोहोरी क्षेत्रमा विकृति मात्र थपिएको छैन गीत झनै भाइरल बनिरहेका छन् । यसकारण पनि सेन्सर आवश्यक छ ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
संगीत क्षेत्रबाट पाएको भनेको सम्पूर्ण दर्शक श्रोताको माया हो । दर्शक श्रोताले मलाई चिन्नु भएको छ, उहाँहरुको माया पाएकी छु । यसमा सन्तुष्ट छु ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
गुमाउनुपर्ने चिज खासै केहि छैन ।

तपाई लाइभ दोहोरीबाटै चिनिएको व्यक्ति अहिले प्रतियोगिता हुन छोडिरहेका छन् कारण के होला ?
हो म लाइभ दोहोरीबाटै चिनिएको हुँ । मैले लाइभ दोहोरी गाउँदा केही महत्वुपूर्ण पुरस्कार जिते । अहिले प्रतियोगीता कम भएका छन् । विभिन्न युट्युब च्यानल मार्फत कलाकार यतिकै भाइरल भइदिन्छ । सोही कारण प्रतियोगितामा भाग लिने मानिसको कमी भयो । सबै कलाकारलाई प्रतियोगितामा भाग लिन लगाएर ल्याउन सक्ने हो भने उनीहरु खारिन्थे, सही प्रतिभा आउने थियो । अहिले जस्तो भएपनि एक्कासी आउने चलन छ । हामीले प्रतिष्ठान मार्फत प्रदेश स्तरीय प्रतियोगिता गर्दा पनि सहभागिता कम भयो । साना केटाकेटीदेखि सबैले गीत गाए भन्दै अनौठो शब्द हालेर भाइरल बनाउने चलनले समस्या भयो । ती व्यक्तिहरु प्रतियोगितामा आउँदैनन् । प्रतियोगितामा नआई उनीहरु भाइरल बन्दा प्रतियोगितामा आउनेलाई समेत समस्या भएको छ । यसरी भाइरल हुने लामो समय टिक्दैनन् । अब सबैको सहकार्यमा लाइभ दोहोरी मार्फत प्रतिभाहरुको खोजी गुर्नपर्छ । यसरी खोजेको प्रतिभा बल्ल लामो समयसम्म सांगीतिक क्षेत्रमा टिक्छन् ।

दोहोरी साँझमा समेत काम गर्नुभयो, अहिले किन छोड्नुभएको ?
मैले पोखरा लेकसाइडको माछापुच्छ्रे दोहोरी साँझबाट यात्रा सुरुवात गरेको थिए । त्यसपछि देउराली दोहोरी साँझ हालको रुपाहील दोहोरी साँझ, दौतरी दोहोरी साँझमा आवद्ध भए । माछापुच्छ्रे दोहोरी साँझमा गाउने मात्र नभएर सेयर हालेर केही समय एक्लै दोहोरी साँझ चलाए । रुपाहील दोहोरी साँझमा समेत सेयर हालेरै आवद्ध भए । अहिले पोखराका अधिकांश दोहोरी साँझले राख्ने विषेश कार्यक्रममा अतिथि कलाकारको रुपमा जाने गरेको छु । दैनिक रुपमा दोहोरी साँझमा जान भ्याउदिन किनकि म धेरै क्षेत्रमा क्रियाशील बन्न खोज्दैछु । आफ्नै व्यवसाय पनि छ । विगत ५ वर्ष देखि नयाँगाउँ पोखरामा फाम सञ्चालन गरेको छु । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध भएर सामाजिक काम समेत गरिरहेको छु ।

अबका योजना के छन् ?
भर्खरै मात्र ‘वनको मजुर’ बोलको नयाँ गीत बजारमा आएको छ । यसको प्रमोसन गरिरहेकी छु । दर्शक श्रोताको साथ पाइरहेका छौँ । अब भने आफ्नै युट्युब च्यानल रेलिमाई दोहोरी घरबाट केही कोसेलीहरु पस्कनेछु । सोही युट्युब च्यानलबाट केही नयाँ कन्सेप्टका भिडियोहरु दर्शकमाझ ल्याउनेछु ।

अन्तमा के भन्नुहुन्छ ?
सबैभन्दा पहिले त सबै दर्शक श्रोतालाई धन्यवाद दिन चाहन्छु । अझै अरु सृजनाहरु हजुरहरु माझ ल्याउने हौसला दिनुहोला भन्न चाहन्छु । मलाई विश्वास गरेर गीत गाउन दिने अगाडि बढ्न प्रोत्साहन गर्ने, सहकार्य गर्ने अग्रज तथा सर्जकहरु प्रति आभार प्रकट गर्दछु । अब आगामी दिनमा निरन्तर सांगीतिक क्षेत्रमा क्रियाशील बन्नेछु । केही गीत आउने तयारीमा छन् । सधैँ साथ सहयोग सर्पोट गर्नुहोला भन्न चाहन्छु । यो अवसरका लागि धेरै भन्दा धेरै तपाई र पोखरा न्यूजलाई हृदयदेखि नै आभार प्रकट गर्दछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button