शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

पोखरा न्यूज । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो । सङ्ग्रहालयमा अन्तर्राष्ट्रिय व्यक्तित्वका २८ कलाकृतिसहित करिब १०० सामग्री सङ्ग्रह गरिएको छ । यसको निर्माण कलाकार सरगम सम्राट पाख्रिनले गर्नुभएको हो । रुखको ठुटा र जराबाट बनेको सङ्ग्रहालय विश्वमै पहिलो भएको उहाँले दावी गर्नुभयो ।

सङ्ग्रहालय उद्घाटन समारोहमा वन विभागका महानिर्देशक मानबहादुर खड्काले यस किसिमको सङ्ग्रहालय अहिलेसम्म नेपालमा अन्यत्र नबनेको जानकारी दिनुभयो । सङ्ग्रहालयमा गौतम बुद्ध, महात्मा गान्धी, अलबर्ट आइन्स्टाइन, राइट ब्रदर्स, सर आइज्यक न्यूटन, माइकल फराडे, जेसस क्राइष्टलगायत व्यक्तिका तस्बिर काठका ठुटा र रुखका जरा एवं राँगो तथा खसीका हड्डी प्रयोग गरेर बनाई सङ्ग्रहमा राखिएको छ ।

कार्यक्रममा महानिर्देशक खड्काले शहीद, निजामती, घुन्साजस्ता महत्वपूर्ण स्मारक निर्माण भइरहेको स्थलमा यस्ता सङ्ग्रहालयले नमूना स्थल बनाउन सहयोग गर्ने बताउनुभयो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन(युनेस्को)का नेपाल राष्ट्रिय आयोगका निमित्त सहायक महासचिव डा बाबुराम अधिकारीले शहीद सङ्ग्रहालयसँगै युनेस्को सङ्ग्रहालय पनि निर्माण गर्न लागिएको बताउनुभयो ।

युनेस्को सङ्ग्रहालयमा शिक्षा, विज्ञान र संस्कृतिलगायत विषयवस्तु समेटिने जानकारी पनि उहाँले दिनुभयो । गोकर्णमा युनेस्को ग्रामसँगै दक्षिण एसियाली अध्ययन केन्द्रसमेत निर्माण गर्न लागिएको छ । यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सिफारीस गरिएको उहाँले सुनाउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा अर्थ मन्त्रालयसँग रु ६२ करोड बजेट माग गरिएको जनाइएको छ ।

कार्यक्रममा शहीद स्मारक उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले सङ्ग्रहालय प्रवेशका लागि नेपाली आगन्तुकसँग रु २५, विदेशीसँग रु ५०, विद्यार्थी र सामुदायिक वनका सदस्यलाई रु १०, ज्येष्ठ नागरिक एवं फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क प्रवेश गराइने जानकारी दिनुभयो । शहीद स्मारकको कामको ७२ प्रतिशत भौतिक र ५८ प्रतिशत वित्तीय प्रगति भएको जानकारी कार्यक्रममा उहाँले दिनुभयो ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, शिक्षक प्रकाश अधिकारी, सामुदायिक वनकी सचिव देवी बजगाइँ, कलाकार पाख्रिनलगायतले फरक किसिमका सङ्ग्रहालयले देशको पहिचान गराउनुका साथै आन्तरिक एवं पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने विश्वस व्यक्त गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button