राजनीतिक नेतृत्वको चिन्तन परिवर्तन हुन नसकेको टिप्पणी

पोखरा न्यूज सम्वाददाता । उर्जा जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले देशमा व्यवस्था परिवर्तन भए अनुसार राजनीतिक नेतृत्वको चिन्तन, कार्यशैली र संस्कार परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ ।

अखिल (छैठौं)ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले व्यवस्था परिवर्तन भएपनि राजनीतिक नेतृत्वहरुमा निरङ्कुस व्यवस्थाको चिन्तन, प्रवृति, संस्कार र संस्कृतिहरु कायमै रहेको बताउनुभएको हो । त्यसको विरुद्धमा अझै लडनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो । एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा आइसकेपछि विकास र समृद्धिमा सफलता हासिल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो । परिवर्तित समाजमा माक्र्सवाद, लेनिनवाद र माओवादका दर्शन विचारहरु महत्वपूर्ण भएपनि आर्थिक, राजनीतिक, समाजिक, सञ्चार, विज्ञान र प्रविधिको विकास भएको आधारमा विचारलाई परिवर्तन गर्न नसक्दासम्म रुपान्तरण हुन गाह्रो हुने पनि बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता देव गुरुङले सामन्तवाद र वैदेशिक उपनिवेशलाई विस्थापन नगरिकन समाजवादी क्रान्ति सम्भव नभएको बताउनुभयो । अहिले समावजवादको राजनीतिक प्रवृति विस्थापन भएको तर आर्थिक सामाजिक र सांस्कृतिक जराहरु विस्थापन नभएको बताउनुभयो । संसद विघटनदेखि अदालतबाट दल विभाजन गर्ने काम बाह्य शक्तिकेन्द्रहरुबाट भएको पनि बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता धरापमा परेको टिप्पणी गर्नुभयो । ७० वर्षदेखि लडेर ल्याएको दलीय व्यवस्था, गणतन्त्र, धर्म निरपेक्षता सबै धरापमा परेको पनि उहाँले बताउनुभयो । यसलाई संस्थागत गर्न चुनौति रहेको पनि बताउनुभयो । नेपाली जनताले आन्दोलनबाट राजतन्त्र हटाएपनि अहिले देशी विदेशी शक्तिहरु राजतन्त्र स्थापित गर्न लागिपरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता लिलामणि पोखरेलले अझैपनि क्रान्ति सफल नभएको बताउनुभयो । क्रान्ति पूरा भएको भए देशमा राष्ट्रिय सार्वभौमिकता जगेर्ना भइसक्नु पर्ने तर अहिले सार्वभौमिकता नै धरापमा परेको बताउनुभयो ।

कार्यक्रममा अखिल (छैठौं)ले आफ्ना पूर्वअध्यक्षहरुलाई सम्मान गरेको थियो । यस्तै नेपालको विद्यार्थी आन्दोलन, अखिल (छैठौं)को इतिहास नामको पुस्तक विमोचन पनि गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button