अपर तामाकोशीको काममा अस्वभाविक ढिलाइः प्रधानमन्त्री केपी शर्मा ओली

पोखरा न्यूज सम्वाददाता । प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा भइरहेको ढिलाइ सैह्य नहुने बताउनुभएको छ । बिहीबार नापी कार्यालयबाट अनलाइन प्रणाली नेलिस तथा मेरो कित्ता मार्फत सेवा प्रवाहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अपर तामाकोशीको काममा अस्वभाविक रुपमा ढिलाइ गरिएको भन्दै यस्तो ढिलासुस्ती सैह्य नहुने बताउनुभएको हो ।

अपर तामाकोशीको काममा दैनिक १३ करोड रुपैँया नोक्सान भइरहेकाले काम किन ढिलो भइरहेको छ भन्नेमा आफूले विशेष रुची बढाउनुपर्ने आवश्यकता रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो । काममा ढिलासुस्ती भएमा ढिलासुस्ती गर्नेले नै त्यसको क्षतिपुर्ति बेहोर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘अत्यन्तै अस्वभाविक ढङ्गले अपर तामाकोशीको काममा ढिलाइ गरिएको छ । मैले यसतर्फ विशेष ध्यान राख्नुपर्ने, रुची बढाउनुपर्ने जस्तो देखेको छु । अपर तामाकोशीको काममा जुन ढिलासुस्ती छ त्यो अस्वभाविक, असाधारण छ । लगभग एक वर्षदेखि म एउटै कुरा सुनिराख्या छु एउटा सानो मेसिन त्यहाँ जडान गर्नुछ । त्यति राख्न दिनमा प्रत्यक्ष पाँच करोड त्यसमा नोक्सान भइराख्या छ । परोक्ष भन्ने हो भने १३ करोड दैनिक नोक्सान भइराख्या छ । केही मान्छेहरुको यो ढिलासुस्ती हो या अरु केही हो त्यो हेर्नपर्ने भएको छ । यस्तो विलम्ब ढिलासुस्ती अब सैह्य, अब मान्य हुन सक्दैन ।’

प्रधानमन्त्री ओलीले देशमा खाद्यान्नको अभाव नहुनेगरी उत्पादन भएको भएपनि गलत आनिबानीका कारण खाद्य सङ्कट पर्ने गरेको बताउनुभयो । भूमि समस्यालाई समाधान गर्न र कृषिलाई व्यवसायिक रुपमा अगाडी बढाउन सरकार लागेको पनि बताउनुभयो । नेपालले खाद्य वस्तु अन्य देशमा निर्यात गर्नुपर्नेमा उहाँको जोड छ । दुई तीन वर्ष भित्रमा नेपालबाट खाद्यान्न निर्यात गर्नेगरी काम अगाडी बढाएको पनि बताउनुभयो ।

विगत वर्षहरुदेखि व्यापार असन्तुलनलाई कम गर्दै लगेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा व्यापार असन्तुलन हुन नदिने पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘अलिकति हाम्रो आनिबानीमा सुधार गर्नुपर्ने छ । खाद्यबस्तु हामीलाई पुग्नेगरी हाम्रो देशमा उत्पादन छ तर हाम्रो गलत बानिका कारणले खाद्यवस्तु हामीलाई पुगिराखेको छैन । खाद्यान्न पुग्या छैन । खाद्य सामाग्री पुग्या छैन । अलिकति हाम्रा आनिबानी परिवर्तन ग¥यौँ भने हामीलाई ती कुराहरुपनि पुग्छ । हामी भूमिलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा हामीले भूमि आयोग निर्माण गरेका छौँ । त्यसले अब जमिन एकातिर, धनी पुर्जा एकातिर, बसोबास एकातिर यसप्रकारको स्थितिलाई अन्त्य गरेर त्यसले सुकुम्बासी समस्या, अव्यवस्थित बसोबासको समस्या, देखिने अनेक प्रकारका समस्याहरु जो भूमि सम्बन्धी समस्याहरु छन् तिनीहरुलाई समाधान गर्न कम्मर कसेर लागेको छ । अर्को भूमि आयोगले काम अगाडी बढाउने छ । कृषिको आधुनिकिकरणको सम्बन्धमा हामीले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम त्यस अन्र्तगत अनेक सुपरजोन, जोन, पकेट आदी यस्ता क्षेत्र तोकेरै एउटा ड्राइभ गर्न खोजेका छौँ । माछा, मासु, दुध, अण्डामा आत्मनिर्भर भइसक्याछौँ ।’

प्रधानमन्त्री ओलीले अन्य कुराहरुमा निर्यातमा जोड दिएपनि लगानी र प्रविधि भने आयात गर्ने बताउनुभयो । कृषिको क्षेत्रमा आत्मनिर्भर हुन सके अन्य विभिन्न क्षेत्रमा आत्मनिर्भर हुने बाटो खुल्ने भन्दै उहाँले कृषिको आधुनिकिकरण र व्यवसायिकरणमार्फत आत्मनिर्भर हुन जोड दिनुभयो । उहाँले भन्नुभयो ‘हामी लगानी आमन्त्रण गर्छौ । टेक्नोलोजी पनि हामी ल्याउँछौँ । अरु कुराहरु हामी धेरै आयातमा रुची राख्दैनौँ तर अहिलेसम्म हाम्रो आयात यतिधेरै छ कि आत्मनिर्भरतातर्फ हामीले जानुपर्ने छ । यस सन्दर्भमा हामी कमसेकम कृषिको क्षेत्रमा, जमिनको उपयोगको क्षेत्रमा यी क्षेत्रहरुमा आत्मनिर्भर हुन सक्यौँ भने आत्मनिर्भरताको सुरुवात अरु क्षेत्रहरुमा पनि हुन्छ । कृषिको आधुनिकिकरण भयो भने, कृषिको व्यवसायिकरण भयो भने त्यसले साइडमा कृषि आधारित उद्योगहरुपनि खोल्छ । साना, मझौला, घरेलु उद्योगहरु खुल्छ । प्रशोधन उद्योगहरु खुल्छ । चिस्यानका सेन्टरहरु खुल्छ । कामको अवसर थप सृजना गर्छ । यसको असर उत्पादन र उत्पादन वृद्धिमा मात्रै हुँदैन । सेवा प्राप्त गर्ने वा सेवा उपलब्ध गराउने, सेवा प्रदायकको सजिलोका लागि मात्रै होइन उत्पादन उपादकत्व वृद्धि र ठूलो मात्रामा उत्पादन वृद्धि गर्ने । त्यतापट्टि अब देश जादैछ । त्यहाँपट्टि अब देश लान चाहिरहेका छौँ ।’

प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकोले सजग र सचेत हुनका लागि सबैलाई आग्रह समेत गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button