गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमूखलाई पत्र

पोखरा न्यूज । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन बुझाएका छन् ।

अविश्वास प्रस्तावमाथि छलफल गर्न विपक्षी दलले विशेष अधिवेशन माग गर्दै बिहीबार प्रदेश प्रमुख कार्यालयका सचिव हरि वास्तोला मार्फत प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पत्रमा बुझाएका हुन्।

प्रदेश प्रमूखलाई पत्र बुझाउन नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली, नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जनता समाजबादी पार्टीका नेता हरिशरण आचार्य उपस्थित हुनुभएको थियो ।

प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुन नसक्ने हुँदा नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गरिएको सो पत्रमा उल्लेख छ । प्रदेशसभाका एक चौथाइ सांसदले विशेष अधिवेशन माग गरेमा प्रदेश प्रमुखले अधिवेशनको मिति र समय तोक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा  प्रदेश प्रमुख  शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको थियो।

आज  प्रदेश सभा सचिवालयमा सरकार विरुद्ध २८ जना प्रदेश सदस्यहरुको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आजै माओबादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button