घट्टटोलका कृषक भकारो सुधार अभियानमा

पोखरा न्यूज । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको घट्टटोलका कृषकले भकारो सुधार अभियान चलाएका छन् । माटोको उत्पादन क्षमता बढाउन रासायनिक मल र विषादीको विकल्पमा गुणस्तरीय प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले भकारो सुधार गर्न थालेका हुन् । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रममार्फत भकारो सुधार अभियान सञ्चालन गरिएको अन्नपूर्ण कृषक समूहका अध्यक्ष दलबहादुर कार्कीले बताउनुभयो ।

“खेर गइरहेको गहुँतलाई सङ्कलन गर्न र मलमा नाइट्रोजन उडेर नष्ट हुन नदिन भकारो सुधार गरिएको हो”, उहाँले भन्नुभयो, “माटोको उर्बर शक्ति बढाउन भकारो सुधार अभियानले सहयोग पुग्ने अपेक्षा छ ।” गाईभैँसी बस्ने ठाउँ ढलान, मूत्र सङ्कलन गर्ने पोखरी र मलखादमा छाप्रो बनाएका छन् । मललाई घामपानीबाट जोगाउन सकेमा नाइट्रोजन उडेर नष्ट हुँदैन । पोखरीमा सङ्कलित मूत्रलाई जैविक विषादीका रुपमा प्रयोग गर्न सकिन्छ ।

समूहले गत वर्ष ३७ जना कृषकलाई भकारो सुधार गर्न रु २० हजारका दरले अनुदान उपलब्ध गराएको थियो । चालू आर्थिक वर्षमा थप १५ वटा भकारो सुधार गर्न रु ३५ हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको समूहले जनाएको छ । यसअघि गाईभैँसीको गोठ व्यवस्थित थिएन । खुला ठाउँमा मल थुपार्ने गर्दथे । खेतबारीमै गाईबस्तु बाध्ने चलन थियो । भकारोको मूत्र सङ्कलन नहुँदा त्यसै बगेर खेर जान्थ्यो । परम्परागत भकारोलाई सुधार गरेर व्यवस्थित बनाएपछि गुणस्तरीय मल उत्पादन हुनुका साथै खेतीबालीमा लाग्ने रोगकिरा नष्ट गर्न सङ्कलित मूत्र प्रयोग गर्न थालेका छन् ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राङ्गारिकखेतीका माध्यमबाट वातावरणमा स्वच्छतासँगै कृषकको आयआर्जन सुधारका लागि घट्टटोलमा गत आर्थिक वर्ष २०७६÷०७७ देखि मुख्यमन्त्री वातावरणमैत्री कृषि नमूना गाउँ कार्यक्रम सञ्चालन गरेको थियो । आव २०७६÷७७ मा रु २५ लाख विनियोजन भएको कार्यक्रमका लागि यस वर्ष पनि थप रु २५ लाख विनियोजन भएको छ । समूहमा ५८ घरधुरी कृषक आबद्ध भएका छन् । गत वर्ष आठ हजार ५०० सुन्तला, एक हजार ६०० ओखर र नौ हजार ३०० टिम्मुर र एक हजार वटा अलैँचीका बिरुवा वितरण गरिएको कृषि प्राविधिक विनिता केसीले बताउनुभयो ।

समूहमा प्रयोग गर्ने गरी सात वटा खेतबारी जोत्ने मिनिटेलर हलो उपलब्ध गराइएको छ । तीन वटा सुन्तलाको बिरुवा रोप्ने औजारको व्यवस्था गरेका छन् । दुई वटा सिँचाइ पोखरी निर्माण गरेर तीन हजार ५०० मिटर पाइप वितरण गरेका छन् । “यस वर्ष रु चार लाख बराबरको बिरुवा वितरण गर्ने कार्यक्रम छ, सुन्तला, कागती प्रजातिका बिरुवालाई जोड दिएका छौँ, कृषि प्राविधिक केसीले भन्नुभयो, “पन्ध्र वटा भकारो सुधार र तीन वटा सिँचाइ पोखरी निर्माण हुँदैछ । कृषकलाई स्थलगत तालीम प्रदान र भ्रमण कार्यक्रम सकिएको छ ।”

घट्टटोलका कृषकले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिकरूपमा सुन्तलाका बिरुवा लगाउन थालेका छन् । स्थानीय बालकृष्ण कटुवालले वैदेशिक रोजगारको विकल्पमा स्वदेशमै स्वरोजगार बन्न सुन्तलाखेती गरेको बताउनुभयो । सो ठाउँका करीब १० जना युवाले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा कृषक कटुवालले बताउनुभयो ।

“एक रोपनी खेतबारीमा ५०० सुन्तलाका बिरुवा लगाएको छु । केराखेती, माछा र माहुरीपालन पनि गरेको छु”, उहाँले भन्नुभयो, “घट्टटोल सुन्तला गाउँमा परिणत भएको छ । धेरैले सुन्तला लगाउनुभएको छ । धान, कोदो, मकैको तुलनामा कम लागतमा बढी आम्दानी गर्न सकिने भएकाले सुन्तलाखेतीमा आकर्षित भएका हौँ ।”

गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा हरेक वर्ष एक÷एक वटा मुख्यमन्त्री वातावरण मैत्री कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दी क्षेत्र (क)मा पहिलो वर्ष बेनी नगरपालिका–४ सिंगा र भगवतीमा कार्यक्रम लागू भएको प्रदेशसभा सदस्य विनोद केसीले बताउनुभयो । क्षेत्र (ख) को मङ्गला गाउँपालिकाको तोराखेत, कोत्रवाङ, सिम, सातबिसे, पोक, मालिका गाउँपालिकाको बिम र धवलागिरि गाउँपालिकाको खाम्लामा सो कार्यक्रम लागू भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button