विष्णु पाण्डे पार्कमा शहीद सङ्ग्रहालय

पोखरा न्यूज । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कमा शहीद सङ्ग्रहालय स्थापना हुने भएको छ । सङ्ग्रहालयका लागि अहिले भवन निर्माण शुरु गरिएको छ ।

जनआन्दोलन २०६२/६३ लगायत प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि बलिदानी दिएका शहीदको जीवनी र उनीहरुले गरेका योगदानको अभिलेखीकरण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्न लागिएको शहीद पाण्डे स्मृति प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सुनवल नगरपालिकाद्वारा आव २०७७/७८ मा कार्यपालिका सदस्यहरुका लागि विनियोजित रकम रु ६० लाखको लागतमा सङ्ग्रहालय निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । यस पार्कलाई नमूना पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ तीव्र गतिमा कार्य अघि बढिरहेको छ ।

कार्यपालिका सदस्यहरुले आफूले पाउने सुविधाबापतको रकमबाट आगामी वर्षभित्र सम्पन्न गर्ने गरी सङ्ग्रहालय निर्माणको काम थालिएको सुनवल नगर उपप्रमुख दधिराम अर्यालले जानकारी दिनुभयो । “यस क्षेत्रको विकासका लागि नगरपालिकाले बजेट, नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएका छौँ तर यहाँको विकासका लागि नगरपालिकाबाट विनियोजन हुने रकम अपुग हुने भएकाले प्रदेश र सङ्घीय सरकारबाट आवश्यक सहयोगका लागि पनि पहल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यहाँ देशैभरिका राष्ट्रिय शहीदहरुको सालिक निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।

जनआन्दोलनका क्रममा २०६२ चैत ३० गते सदरमुकाम परासीमा शहादत प्राप्त गर्नुभएका तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद विष्णुप्रसाद पाण्डेको स्मृतिमा विसं २०६३ मा प्रतिष्ठान स्थापना गरी शहीद पार्क (स्मारक स्थल) निर्माण गरिएको हो ।

पूर्वपश्चिम राजमार्गस्थित वनकट्टीको भगवती सामुदायिक वन क्षेत्रअन्तर्गत १० हेक्टर क्षेत्रफलमा यो पार्क अवस्थित छ । यस पार्कलाई नमूना पर्यटकीयस्थल र देशभरका शहीदहरुको थलोका रुपमा विकास गर्ने गरी यहाँ धमाधम संरचनाहरु निर्माण भइरहेको प्रतिष्ठानका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । सुन्दर, रमणीय अनि हरियाली वातावरण रहेको यस पार्कमा शहीद पाण्डेको सालिक, वनभोज स्थल, पोखरी, बगैँचा, सभाहल, शहीद स्मृति भवन, प्रतीक्षालयलगायत पूर्वाधार रहेका छन् ।

यहाँ घुमफिर गर्ने र वनभोजका लागि दैनिक रुपमा पर्यटकको आगमन हुने गरेको छ । बालबालिका तथा ज्येष्ठ नागरिकसम्मको आकर्षणको केन्द्र बनाउन अल्पकालीन र दीर्घकालीन योजना बनाएर यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको प्रतिष्ठानले जनाएको छ । लोकतान्त्रिक आन्दोलनका उपलब्धि र शहीदको भावनालाई प्रतिनिधित्व गर्ने गरी यस स्मारकस्थलमा देशभरका शहीदको सालिक निर्माण गरी यस पार्कलाई शहीदको एकमात्र थलोका रुपमा विकास गर्ने दीर्घकालीन योजनाका साथ पहल भइरहेको प्रतिष्ठानका सचिव दुर्गानारायण सुवेदी बताउनुहुन्छ ।

बालबालिका र विद्यार्थीहरुका लागि बाल उद्यान, खेल मैदान, चक्रपथ, चिडियाखाना, हरियाली पार्क, मनोरञ्जनस्थल, कबर्ड हल, हरियाली वातावरणमा रमाउन सकिने र वनभोजका लागि व्यवस्थित संरचनाहरु पनि निर्माण गर्ने योजना बनाइएको उहाँले बताउनुभयो । प्रतिष्ठानले आगामी तीन वर्षभित्रमा यस पार्क क्षेत्रमा खेल मैदान, बालबगैँचा, पौडी पोखरी, वनवाटिका, स्मारिका भवन, रेष्टुरेन्ट, मनमोहक पोखरी, दृश्यावलोकन स्तम्भ, पार्किङ स्थल बनाउने योजना बनाएको छ । त्यसका लागि करीब रु तीन करोड लगानी लाग्ने अनुमान गरिएको छ । यसका लागि तीनै तहका सरकारसँग आवश्यक पहल भइरहेको प्रतिष्ठानले जनाएको छ ।

यहाँ मुख्य प्रवेशद्धारको पूर्वतर्फ मन्दिर, उत्तरतर्फ वृद्धाश्रम, विभिन्न भाषाभाषी र जातीयता झल्किने सांस्कृतिक घर निर्माण गर्ने लक्ष्य राखिएको छ । यस पार्कको वृहत्तर विकासका लागि नगरपालिकाबाट गुरुयोजना निर्माण भई अन्तिम रुप पाउन बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यस क्षेत्रमा आधुनिक विकाससँगै जनघनत्व बढ्दै जाँदा शहर बजारमा सार्वजनिकस्थलको अभाव हुँदै जानु, गाउँ शहरीकरणतर्फ उन्मुख हुनु, जताततै ठूलाठूला घर र महल ठडिने क्रम बढ्नुलगायत कारणले प्राकृतिक वातावरण, हरियाली, खुल्ला मैदान, जङ्गली जनावर र पशुपन्छीहरु देख्न नपाउने स्थिति भइरहेको छ । यस क्षेत्रलाई संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउन आफूहरु लागिरहेको प्रतिष्ठानका उपाध्यक्ष प्रेम न्यौपानेले बताउनुभयो ।

शहीद पत्नी भागिरथी पाण्डेले शहीदको सम्मानमा राज्यले उचित ध्यान नदिएको बताउनुहुन्छ । शहीदको सम्मानमा बन्ने संरचना, शहीदका परिवारको शिक्षा, स्वास्थ्य र रोजगारमा सरकारले आवश्यक नीति नै बनाएर अघि बढ्नुपर्ने उहाँको सुझाव छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शहीद विष्णु पाण्डे पार्कलाई नमूना पर्यटकीय गन्तव्य र देशभरका शहीदहरुको थलोका रुपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरी सहयोग गर्दै आएको बताउनुभयो ।

गत आवमा मात्रै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट रु ५० लाख र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रु २० लाख विनियोजन गरी यहाँ विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँको थप विकासका लागि आफूले निरन्तर पहल गरिरहेको मन्त्री चौधरीको भनाइ छ । सुनवल नगरपालिका, प्रदेश सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा यहाँ विभिन्न संरचना निर्माण भएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button