पोखरामा एक करोडको लगानीमा सुनाखरी भोजन गृह सञ्चालन

गायक कुमार पुन किचनमा व्यस्त

पोखरा न्यूज सम्वाददाता । धेरैलाई थाहा नहुन सक्छ चर्चित लोकदोहारी गायक कुमार पुन पाककलामा झनै पोख्त हुनुहुन्छ भनेर । आफ्नो पृथक गायनशैलीका कारण लोकसंगीत पारखीको माझ बेग्लै पहिचान बनाउन सफल हुनुभएका उहाँले आफ्नो पाककलाको स्वाद चखाउन हालै सुनाखरी भोजन गृह पोखरा रंगशाला गेट अगाडि सञ्चालनमा ल्याउनु भएको छ । सो भोजन गृहको किचनमा भेटिनुहुन्छ पुन । भोजन गृहमा उहाँसँगै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी र मोडल तथा फेसन कोरियोग्राफर विशाल गुरुङको लगानी रहेको छ । तीनैजना अहिले नेपाली खानालाई प्राथमिकता दिएर सञ्चालनमा ल्याइएको सुनाखरी भोजन गृहलाई थप व्यवस्थित बनाइ ग्राहकको रोजाइमा पार्न तल्लिन हुनुहुन्छ ।

गायक पुनसँग सांगीतिक क्षेत्रमा सहकार्य गर्दे आउनुभएका रमेश विजी उहाँको मिल्ने साथीसमेत हुनुहुन्छ । विजी पोखरामा आउँदा बस्ने ठाउँ पुनको घर नै हुने गर्दथ्यो । पुनसँगको मित्रता मोडल विशाल गुरुङसँग समेत उस्तै थियो । गुरुङ पनि प्रायः पुनको घरमा जाने गर्नुहुन्थ्यो । यसरी तीनैजना एकै ठाउँमा भेट भएर छलफल हुँदा व्यवसाय गर्ने निचोडमा उहाँहरु पुग्नुभयो । किनकि पुनको घरमा पकाएका परिकारले उहाँहरुको मन जितेको थियो । जुन परिकार गायक पुनले आफै तयार पार्नुहुन्थ्यो ।

हुनपनि अहिले कोरोना कहरले कलाकारिता सहित विभिन्न क्षेत्रमा असर परेको छ । कलाकारिता क्षेत्रले मात्र जीवन धान्न समस्या पर्ने भएकोले आम्दानीको वैकल्पिक श्रोतको खोजि गर्ने क्रममा उहाँहरुलाई यो व्यवसाय सञ्चालनमा ल्याउन बल मिल्यो । ‘कोरोनाले गर्दा खासै काम भएन, कतै जानुपनि पर्ने थिएन । अनि यसो टाइमपास पनि हुने भएकोले यो व्यवसाय सुरु गरेका हौँ’ गायक पुनले भन्नुभयो । उहाँहरु तीनैजनाबीच छलफल हुँदा मिलेर केही गर्नुपर्‍यो भन्नेमा सहमति भएर नै भोजन गृह सञ्चालन गर्न कस्सिनुभएको हो । उहाँहरुबीच सल्लाह नयाँगाउँ पोखरामा रहेको गायक पुनको घरमा नै भएको थियो ।

गायक पुन भन्नुहुन्छ–‘हामी तीनजना मध्ये खानाको आइटमतर्फ मलाई अनुभव थियो । किनकि मैल यो काम पहिल्यै थाइल्याण्डको बैकंकमा रहँदा गरेको थिए । टिपिकल खाना खान चाहनेको लागि उपयुक्त गन्तव्य बन्न सक्छ भन्ने विश्वासका साथ सुरु गरेका हौं । मलाई वेस्टन खाना भन्दा टिपिकल गाउँले खानातर्फ अनुभव भएको हुनाले ठीक छ म खानाको सेक्सन हेर्छु भनेर साथीहरुलाई सहमति दिए र सुरु गर्‍यौ । सरसल्लाह मिलेपछि तुरुन्तै काम थाल्न कस्सियौ ।’

गायक पुनले थाइल्याण्डमा रहँदा रेष्टुरेन्टमा काम गर्नुभएको थियो । ‘त्यहाँ हुँदा धेरै दुःख पनि गरियो । मानिसलाई परेपछि थाहा हुने रहेछ । अनुभव भयो । मेरो थकाली र नेवार साथीहरुसँग बढी हेलमेल भएको हुनाले मैले थकाली स्वाद र नेवारी स्वाद बारेमा समेत जानकारी राखेको छु’ पुनले भन्नुभयो । आफूहरुले थकाली, नेवारी खाना नभएर टिपिकल नेपाली खानामा जोड दिएका उहाँको भनाइ छ । मलाई यसमा अलिकति अनुभव छ । अनुभव भएको र किचनको जिम्मा भएकोले समेत मलाई कामको भार परेको छ । तर विश्वस्त छु मलाई दिइएको जिम्मेवारी पूरा गरेरै पोखरामा टिपिकल खाना पाइने ठाउँको परिचय सुनाखरीले बनाउनेछ । साथीभाइ भेट्न सजिलो हुने ठाउँका कारण हाइवे नजिकै भोजन गृह सञ्चालनमा ल्याइयो ।’ पुनले भन्नुभयो ।

गायक पुनको पोखराको रिमझिम दोहोरी साँझ तथा नवलपरासीमा माछापालन व्यवसायमा समेत लगानी छ । आफूलाई पहिल्यैदेखि नै कुमार पुनको पाककलाले लोभ्याउने गरेको सफल शब्द संकलकको परिचय बनाउनुभएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजी बताउनुहुन्छ ।


‘म पोखरा आउँदा कुमारजीकोमा नै बस्थे । यसरी बस्दा उहाँले तयार पारेका खानेकुराले मेरो मन लोभ्याउथ्यो । किनकि उहाँको नेपाली खानाको रेसिपि एकदमै छुट्टै किसिमको छ’ विजीले भन्नुभयो । ‘म विभिन्न ठाउँ हिड्ने डुल्ने मानिसले जहाँ जहाँ पुगेर खाना खाइयो । तर उहाँले पकाएको खाना खाँदा ती खानाहरु फिक्का लाग्ने गथ्र्यो । उहाँको क्षमता देखेर मैले आजभन्दा धेरै पहिल्यैदेखि नै व्यवसाय गरौ भनेको थिए । तपाईसँग जे सीप छ त्यो हरेक मानिसँग हुँदैन । यसलाई हामीले बजारमा व्यवसायिककरण पनि गरौ । काठमाण्डौमा नै एउटा भाञ्छा घर सञ्चालन गरौँ भने उहाँ मान्नुभएन । सायद उहाँलाई पोखरा छोड्न मनलागेको थिएन होला ।’ विजी भन्नुहुन्छ–‘अहिले थकाली भान्छा घर लेखेर मानिस तान्ने प्रयास गरिन्छ, तर तपाईकोमा थकाली भान्छा लेन्ख्नु पनि पर्दैन । खाइसकेपछि मानिसलाई स्वादले चिनाउने हो । तपाईले तयार गर्ने स्वाद भनेको नेपालीहरुको लागि नेपाली खाना मनपराउनेको लागि उत्कृष्ट बन्न सक्छ । काठमाण्डौमा नै गरौ भने तर त्यतिबेला मान्नुभएन ।’

थाइल्याण्डमा धेरै समय बसेर आराम गर्छु भनेर नेपाल आउनुभएकोले होला पुनले शुरुमा त्यति चासो नदिएको विजी बताउनु हुन्छ । तर पनि अहिलेको अवस्थामा एउटा बैकल्पिक पेशा हुनुपर्ने रहेछ भनेपछि उहालेँ साथीहरुको आग्रह मान्नुभएको हो । ‘कुमार जीको खाना बनाउने कला हामीले देख्यौ । जुन खाना हामीले खायौ । खाएपछि त्यो सिपलाई जनमानसमा लानुपर्छ भन्ने भनेर मैले गरेको ढिपीले गर्दा यो सञ्चालनमा आएको हो । वास्तवमा मःमः चाउमिन लगायतका परिकार ठाउँ अनुसार जस्ले पनि बनाइरहेका छन् । तर नेपाली मौलीक टिपिकल खाना जो नोपली जनजिव्रोको लागि भिज्ने खालको स्वाद दिने खुबी भएको व्यक्ति कुमार पुन भएकोले हामीले आँट गरेका हौ । अन्त जहाँसुकै खाना खाएकोले एकपटक सुनाखरीको खाना पारिवारिक रुपमा आएर खानुभयो भने सायद मलाई दोस्रोचोटिबाट अन्त जानुहुन्छ जस्तो मलाई लाग्दैन ।’ विजीले थप्नुभयो ।

हुनत विजीले व्यवसाय क्षेत्रमा हात हालेको केही वर्ष भयो । काठमाण्डौको ठमेलमा आर्यतारा होटल सञ्चालन गर्नुभएको छ । यो होटल विदेशी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । अहिले विदशी कम हुनुहुन्छ तर नेपालीहरुले पनि होटल चलेको छ । उहाँको अर्को व्यवसाय भनेको विजी ग्रीन टि हो । पर्यटन क्षेत्रका साथीभाइको संगतले व्यवसाय क्षेत्रमा आएको उहाँले सुनाउनुभयो । ‘पर्यटन व्यवसाय राम्रो छ जोडिदा राम्रो हुन्छ भनेर साथीहरुको सल्लाह दिनुभयो । किनकि गीत संगीत भनेको केवल आत्मरतिको लागि मात्र भयो । जीवनको उत्तरार्धमा केही नहुँदा त्यही विगतको विरासत सम्झेर भनै पीडा भएर बस्नुपर्ने हुन्छ । विरामी हुँदा पनि चन्दा उठाउनुपर्ने हुन्छ । त्यसले व्यवसाय आफ्नो र परिवारको लागि राम्रो कुरा हो भनेर साथीहरुले भनेपछि म साथी संगतमा नै व्यवसायमा आए । सीप, कला भएर अध्ययन गरेर व्यवसायमा आएको भने हैन । व्यवसायमा साथीबाट सर्पोट भएको छ । ग्रिन टि सुनाखरी भोजन गृहबाट पोखरामा उपलब्ध छ । अब काठमाण्डौं पोखरा आउँजाउँ गर्छु । नयाँवर्षको सुर्योदय सँगै पोखरामा यो व्यवसाय सुरु गरेका छौं ।’ विजीले भन्नुभयो ।

भोजन गृहका सञ्चालक मध्येका एका विशाल गुरुङ झण्डै एक करोडको लगानीमा भोजन गृह सञ्चालन गर्न लागिएको बताउनुहुन्छ । ग्राहकको सुविधालाई ध्यान दिदाँ अनुमान गरेको भन्दा बढी लगानी भएको उहाँको भनाइ छ ।
यो व्यवसाय लकडाउनकै प्रेरणा भएको उहाँ बताउनुहुन्छ । सँगै बसेर खाँदा केही व्यवसाय गर्नुपर्‍यो । भइरहेको व्यवसाय चलेन भन्ने कुरा भयो । रेगुलर व्यवसाय के होला भन्दा रेष्टुरेन्ट गरौन त राम्रो खालको टिपिकल नेपाली खानलाई लक्षित गरेर भन्ने निष्र्कषमा यो व्यवसाय सुरु गर्न कस्सियौ ।

‘हामी तीनजनाले नै आ–आफ्नो क्षेत्रमा धेरै थोरै पिआर बनाएका थियौ । त्यही पिआरको सदुपयोग गर्नुपर्छ भन्ने समेत भएकोले व्यवसाय गर्न आँट्यौ’ गुरुङले भन्नुभयो । ‘हामी अरुकोमा गएर सधै खानु भन्दा एउटा खोलियो भने साथीहरु समेत त्यही आउँछन् भन्ने भयो । यसको निचोड फागुन महिनामा कुमार दाइको घरमा बेलुका गफ गर्ने क्रममा गरेका हौ । अहिले हामीले एकैचोटीमा १ सय ५० जनालाई खाना खुवाउन सक्छौ । त्यहाँ विभिन्न पार्ट बनाएका छौँ । जहाँ पारिवारिक वातावरणमा खानेकुराको स्वाद चाख्न पाइन्छ । २५ जना अट्ने हल तयार भइसकेको छ । अर्को एक सय जना क्षमताको हल माथिल्लो तलामा बनाउदै पनि छौँ ।’

रंगशाला अगाडि भएको खेल क्षेत्रका व्यक्तिलाई पनि लक्षित गरिएको छ । हाइवेमा भएकोले सबै खालका ग्राहक आउने सञ्चालकहरुको विश्वास छ । पोखरा बाहिरबाट पोखरा छिर्नेहरु खाना खान कहाँ जाने भन्दा सुनाखरी भोज गृह जाउ भन्ने बनाउ भनेर कस्सिएका छौ । पक्कै सुनाखरी भोज गृह नेपाली खानाको पारखीको लागि हब बन्नेछ । विस्तारै ग्राहकको मन जित्ने अपेक्षा छ । टिपिकल नेपाली खानालाई जोड दिएका हौं । गाउँबाट अर्गानिक उत्पादन मगाएर सेवा दिइरहेका छौँ । विहान ७ बजेबाट बेलुका १० बजेसम्म हामी सेवामा हाजिर हुन्छौ । अहिले १२ जनालाई रोजगारी दिएका र्छौँ । अब राम्रै गति लिए थप १२ जनालाई रोजगार दिनेछौ ।

हुनत विशाल गुरुङ सन् २००४ मा मिस्टर टिन बन्नुभएको थियो । मिस्टर टिन बनेपछि उहाँको ग्लामर्स क्षेत्रको करियर अगाडि बढ्यो । उपाधि जितेपछि होम नर्सरी प्रि स्कुलले उहाँलाई हायर गरेको थियो । ‘नामको हिसाबले यो मानिसलाई यहाँ ल्यायो भने हामीलाई फाइदा हुन्छ भन्ने उहाँहरुलाई भएको हुनुपर्छ । म आवद्ध भएको एक वर्षपछि मन्टेश्वरीका सञ्चालकहरु मलाई मन्टेश्वरीको जिम्मा लगाएर इन्डिया फर्कनुभयो । बाल संसार मन्टेश्वरी अहिले समेत सञ्चालन गरिरहको छु । म इभेन्ट फर युको चियरमेन समेत हुँ । हालसम्म म्युजिक एक दर्जन जति म्युजिक भिडियोमा काम गरिसकेको छु । केही टिभी विज्ञापनमा समेत काम गरे । अहिले गुरुङ फिल्मबाट समेत अफर आएको छ । त्यसका लागि स्क्रिफ्ट हेरिरहेको छु । विभिन्न ठाउँमा आयोजना हुने इभेन्टहरुमा पुग्ने गरेको छु ।’ गुरुङले भन्नुभयो ।

नेपाली नयाँ वर्षलाई लक्षित गरेर सञ्चालनमा आएको सुनाखरी भोजन गृहको औपचारिक उद्घाटन गत चैत्र ३१ गते साँझ गरिएको हो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button