कास्कीगण्डकीमनोरन्जनसमाचार

अभिनय क्षमता बढाउन मेहनत गर्दैछुः रोहन नेपाली

फिल्म हेर्दा अलि इमोसनल हुन्छु

पोखरा न्यूज सम्वाददाता । रोहन नेपालीको जन्म पोखरा महानगरपालिाका वडा नम्बर ५ मा भएको हो । नृत्य क्षेत्रमा स्थापित उहाँ नेपाली फिल्म उद्योगमा अगाडि बढ्दै गरेको कोरीयोग्राफर हुनुहुन्छ । उहाँमा गीत गाउने, अभिनय गर्ने कला समेत छ । केही कभर गीतमा आवाज दिनुभएका रोहनले फिल्म र म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । अहिलेसम्म आफूलाई कोरीयोग्राफरको रुपमा चिनाउने उहाँ अभिनयको क्षेत्रमा समेत अगाडि बढ्न मेहनत गर्दै हुनुहुन्छ ।

हेर्दा सरल देखिने उहाँको सबैसँग मिल्ने, बोल्ने र हाँस्ने बानी छ । कोहीसँग इगो लिनुहुन्न भन्ने उहाँलाई लाग्छ ।

नेपाली फिल्म ‘पर्खिबसे’मार्फत एसिस्टेन्ट कोरीयोग्राफरको रुपमा डेब्यू गर्नुभएको उहाँले विभिन्न फिल्ममा कोरियोग्राफी गर्नुभयो । यो अवधिमा विभिन्न उतार चढाव सामना गरिसक्नुभएको छ । केही समय काठमाण्डौंलाई कर्मथलो बनाउनुभयो । काठमाण्डौमा बसेर दुःख पाइएको अनुभव उहाँसँग छ । अहिले जन्मठाउँ पोखरामा नै फकिएर काम गरिरहनु भएको छ ।

विभिन्न क्लब तथा संघसंसथा आवद्ध भएर काम गरेको अनुभव लिनु भएको छ । राष्ट्रिय जनसांस्कृतीक महासंघ, सुर्योदय कला केन्द्र, मालेपाटन क्लब आदिमा बसेर उहाले काम गर्नुभयो । केही स्कुलमा नृत्य प्रशिक्षकको रुपमा काम गर्नुभएका नेपाली नृत्य निर्देशक समाजमा समेत आवद्ध हुनुहुन्छ । अहिले भने कलाकारिता क्षेत्रलाई फोकस गर्न सामाजिक संघ संस्थाको काम घटाउनुभएको छ ।

पछिल्लो सपमा सर्ट मुभिको क्षेत्रमा झनै व्यस्त हुनुहुन्छ । युवा निर्देशक नेत्र गुरुङ सहितको टिममा रहेर उहाँहरुले कोरोना कहरको समयलाई अवसरको रुपमा प्रयोग गर्नुभयो । त्यसको प्रतिफल स्वरुप धेरै ‘सर्ट मुभि’ यो अवधिमा पोखराबाट निर्माण भए । यसले पोखराबाट राम्रो तरिकाले ‘सर्ट मुभि’ बनाउन सकिन्छ है सन्देश छर्न उहाँ लगायतको टिम सफल बनेकोे छ । फलस्वरुप भोलिका दिनमा यो क्षेत्र अझै राम्रो हुने विश्वास उहाँहरुमा छ । यसपाली हामीले कोरियोग्राफर रोहन नेपालीसँग फिल्मी क्षेत्र तथा उहाँको यात्रासँग सम्बन्धित केही प्रश्न सोधेका छौँ ।


तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
मैले फिल्म एकदमै धेरै हेर्छु । फिल्म क्षेत्रमा लगाव भएको कारणले हलमा चलेका प्रायः फिल्म छुटाउदिन ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
फिल्म त हलमानै गएर हेर्न मनपर्छ । खासमा युट्युब तथा डिजिटल प्लार्टफमा भन्दा फिल्म चलेपछि हलमा नै हेर्नुपर्छ भन्ने मान्यता राख्छु । साथीभाइलाई समेत हलमा नै गएर फिल्म हेर्नुपर्छ भनेर भन्छु । कुनै फिल्म छुटिहालेको खण्डमा मात्र कहिलेकाही युट्युब मार्फत घरमा हेर्ने गर्छु ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
मलाई सिंगल थिएटरमा फिल्म हेर्दाखेरी रमाइलो हुन्छ । त्यहाँ नर्मल दर्शक तथा साथीभाइसँगै बसेर फिल्म हेर्ने अवसर मिल्छ । पर्दामा आउने सिनमा हुने दर्शकको रियाक्सन हेर्दा झनै मज्जा लाग्छ । मलाई सिरिङ्ग हुने खालको सिन भएको फिल्म हलमा नै हेर्दा छुट्टै अनुभव मिल्छ ।
इमोसनल सिन आउँदाखेरी मन थाम्नै सक्दिन मेरो आँखामा आँशु आईहाल्छ यस्तो अनुभूति हलमानै फिल्म हेर्दा लिन पाइन्छ । मलाई पछिल्लो समयमा ‘आमा’ फिल्म हेर्दा एकदमै गाह्रो भएको थियो । किनकि मलाई फिल्मको कथाले एकदमै छोयो । बढीनै इमोसनल भए । घोप्टी परी–परी रोएको थिए । बाहिरबाट टिस्यु पेपर ल्याएर आँशु पुछ्दै फिल्म हेरेको थिए । घरमा हेर्दा त्यस्तो अनुभुती गर्न पाइदैन ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
बाल्यकालमा धेरै फिल्महरु हेर्ने गरिन्थ्यो । त्यो मध्य याद भएको ‘दर्पण छाया’ भन्ने फिल्म हो । त्यतीबेला म सानै थिए । फिल्म हेर्न एक्लै हलमा गएको थिए । मलाई दिलिप रायमाझीको डान्स भएको ‘लहनाले जुरायोकी’ हेरेपछि नै यो फिल्म जसरी पनि हेर्छु भन्ने भएर एक्लै गएको थिए । हलमा भिड यति धेरै थियो की म च्याप्पीरहेको थिए । त्यो भिडले मलाई धकेल्दा धकेल्दै भित्र लगिदियो । त्यतिबेला मैले टिकट काटेको पनि थिइन । मध्यान्न १२ बजेको सो हेरेको हुँ । भित्र ढोका लागेको थियो म च्याप्पीरहेको थिए । भिडमा चप्पल फुस्कियो कहाँ गयो थाहा नै थिएन । ढोका खोल्नासाथ त्यो भिडले हुत्याएर मलाई भित्र पुर्‍याइदियो । त्यो कुरा कहिल्यै विर्सिन्न । फिल्म हेर्दा म अलि इमोसनल हुन्छु । कारुणिक दृश्य देख्दा आँशु झरिहाल्छ ।

मनपर्ने फिल्मी कलाकार ?
अहिले नेपालमा थुप्रै कलाकार हुनुहुन्छ । पछिल्लो क्रममा फिल्म क्षेत्रमा राम्रो अभिनय गर्ने धेरै आउनुभएको छ । मलाई पुरानोमा मनपर्ने कलाकार गोपाल भुटानी, मिथिला शर्मा, गौरी मल्ल, भुवन चन्द हुनुहुन्छ । उहाँहरुको अभिनय हेर्दा अपनत्व फिल हुन्थ्यो । नयाँ पुस्तामा खगेन्द्र लामिछाने, दयाहाङ राई खास लाग्छ ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
पहिला फिल्म क्षेत्रमा लागेर बाच्न गाह्रो थियो । अहिले नेपाली सिनेमा क्षेत्रमा लागेर केही गर्न सक्ने बाँच्न सक्ने अवस्था सिर्जना भएको छ । फिल्म मार्फत पहिचान बनाउदै आफु बाच्न सकिन्छ । नेपालमा आर्टिस्टिक मुभिहरु बन्न थालेका छन् । जसले गर्दा हामीले थाहा नपाएका कुराहरुलाई सजिलै तरिकाले थाहा पाउन सकेका छौ । जस्तैः झोला फिल्म । धेरैले पुस्तकमा पढेपनि नपढ्नु भएकाले झोला फिल्म हेरेर सती प्रथाको बारेमा जानकारी लिनुभएको थियो । हुनत नेपालमा जानकारीमुलक फिल्म थोरै बनेका छन् । तर, जति बनेको छ तिनीहरु रुचाइएका छन् ।

नेपाली फिल्मले देशविदेशमा फड्को मार्दैछ । अहिले प्रेमगीत–३ फिल्मले हिन्दीमा डविङ गरेर बलिउडमा इन्ट्रि गर्दैछ । यो पनि सकारात्मक पक्ष हो । नेपाली सिनेमा उद्योगलाई विश्वसामु चिनाउन खोज्ने खालका गतिविधि हुन थालेका छन् ।

सुधार गर्नुपर्ने पक्ष ?
कलाकारहरुको बोली, कलाकारको बानी व्यवहारमा सुधार हुनुपर्छ । कलाकार भएपछि कलाकारको स्थानमा बस्न सक्नुपर्छ । कलाकारले आफूलाई जानकारी नभएको विषयमा बोल्नु हुँदैन । यसरी बोल्दा सिनेमा उद्योगलाई नकारात्मक असर पारेको छ । नेपाली फिल्म पुरानै तरिकाले मेकिङ गरिरहेका छौँ । मेकिङलाई अलिकति परिवर्तन गर्नुपर्छ ।

अर्को कुरा नेपाली फिल्म धेरैजसो स्क्रिफ्टमा, डाइलगमा र स्क्रिन प्लेमा चिप्लन्छ । स्क्रिफ्ट तयार भएपछि कलकार खोज्ने चलन छ । यो गलत हो । त्यसले गर्दा फिल्ममा असर गरेको छ । पहिले नै कलाकार फिक्स गरेर उसलाई सुहाउने खालको चरित्रलाई निभाउन दियो भने कलाकार सफल हुन्छन् जस्तो मलाई लाग्छ ।

सानोमा फिल्म हेर्दा अभिनय गर्ने रहर कतिको हुन्थ्यो ?
मलाई सानोमा फिल्म हेर्दा अभिनय गरौ–गरौ लाग्थ्यो । त्यतिबेला म ख्याउटे र लुरे थिए । त्यो हुँदा अभिनय गर्ने इच्छा हुँदापनि सक्दिन होला, दर्शकले रुचाउनुहुन्न होला भन्ने अलि डर लाग्थ्यो । कसैले केही भन्नछकी भन्ने हुन्थ्यो । सोही कारण मैले नृत्य र गायनतर्फ आफुलाई केन्द्रित गरे । पछि कोरीयोग्राफी गर्न थाले ।

तपाईको फिल्ममा कोरियोग्राफी यात्रा कसरी शुरु भयो ?
नेपाली फिल्म तथा म्युजिक भिडियोका युवा निर्देशक नेत्र गुरुङ दाइले मैले बाटोमा स्टेज सो गर्दा मैले गरेको नृत्य हेर्नुहुन्थ्यो । मेरो नृत्य धेरै मनपराउनुहुन्थ्यो । नृत्य मनपराएको कारणले मैले नेपाली फिल्ममा कोरसमा नाच्न पाउथे । त्यतिबेला पोखरामा छायाकंनको लागि आएका फिल्मको कोरसमा लिडमा नाचिरहेको हुन्थे ।

नृत्य निर्देशक शान्ता नेपालीले ‘पर्खिबसे’ फिल्ममा एसिसटेन्ट कोरियोग्राफरको रुपमा राख्नुभयो । अनि पर्खिबसेबाट एसिसटेन्ट कोरियोग्राफरको रुपमा फिल्म क्षेत्रमा डेब्यु गरे । त्यसपछि नेत्र गुरुङको निर्देशनको फिल्म ‘नाईके’बाट कोरियोग्राफर कै रुपमा मैले काम गर्न थाले । नेपाली फिल्ममा चलिरहेको भन्दापनि केही फरक दिन्छु भनेर नाइके फिल्ममा मैले केही प्यार्टनहरु चेञ्ज गरेको थियो । आर्यन सिग्देल दाईलाई फिल्ममा राम्रैसँग नचाए । अलिकति साउथ इण्डियन फिल्मको प्रभाव परेको हुनाले मैले त्यही प्यार्टनमा नेपाली गीतसंगीतलाई चेञ्ज गर्न खोजे । धेरैले प्रशंसा गर्नुभयो, मनपराउनुभयो । त्यसपछि अलविदा, स्काउट, ह्याप्पी निउ इयर, प्लास, लगायतका फिल्ममा काम गरे ।

अनि अभिनयको यात्रा नि ?
पहिला मलाई अभिनय गर्न मन लाग्थेन । पछि धेरैले तिम्रो डान्स राम्रो छ । आफै कोरियोग्राफर हौ । अभिनयपनि राम्रो गर्छो, अब अभिनय गर्नुपछ, चिनिनुपर्छ भन्नुहुन्थ्यो । पर्दा पछाडि भएर चिनेनन् अगाडि आएर चिनिनुपर्छ भन्ने उहाँहरुको सुझाब हुन्थ्यो । सोही उत्पेरणाका कारण म्युजिक भिडियो खेल्न थाले ।

यात्रा अब कसरी अगाडि बढ्ला ?
अहिले विस्तारै अभिनय गर्न थालेको छु । पछिल्लो क्रममा ‘हम जायगा’ भन्ने फिल्म पनि खेले । केही म्युजिक भिडियो पनि गरे । दर्शकले अभिनय गरे मन पराउनुभएको छ । विस्तारै अभिनयलाई समेत साथै लाने सोचमा छु । अहिले कोरियोग्राफिलाई अलि कम गरेको छु । अभिनयमा क्षमता बढाउन मेहनत गर्दैछु । अब अभिनयलाई गति दिने सोच मेरो हो ।

तपाईले देखेको सपना के छ ?
एउटा सफल कलाकारको रुपमा मेरो नाम आओस् भन्ने सपना छ । मबाट अरु समेत प्रभावित हुन् । मलाई हेरेर हामीले पनि केही गर्न सक्छौँ भन्ने उनीहरुमा होस् । म पैसाको पछि दौडिने गरेको छैन । जसरी हुन्छ नेपाली फिल्म क्षेत्र र म्युजिक भिडियोको क्षेत्रमा केही नयाँ परिवर्तन गर्दै राम्रो तरिकाले अगाडी बढाउन पाए हुने थियो भन्ने लाग्छ ।

अर्को कुरा मेरो डान्स स्टुडियो पनि छ । विशेषगरी ‘स्ट्रीट डान्सर’हरुलाई डान्सको तालिम दिएर एकेडेमिक बनाउन पाए भन्ने सोच जहिल्यै मेरो मनमा आउँछ । त्यसैले ‘स्ट्रीट डान्सर’हरुलाई डान्सको तालिम दिएर एकेडेमिक बनाउने सपना समेत देखेको छुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button