काफलडाँडा करबाकेलीमा सङ्ग्रहालय स्थापना

पोखरा न्यूज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा सङ्ग्रहालय स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा म्याग्दीको पहिचान झल्काउने सङ्ग्रहालय स्थापना भएको हो । समितिका संरक्षक चामबहादुर पुनले लोप हुन लागेका परम्परागत सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो ।

“कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीहरुलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ”, उहाँले भन्नुभयो, “दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्रीहरु सङ्कलन गरेर राख्न थालेका छौँ ।”

सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने विभिन्न समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हात हतियार, भााडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राख्न थालिएको छ । पुराना पुस्तक र धातुका सिक्काहरु पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ ।

सामग्रीहरुको सजावटको काम सकिएपछि सङ्ग्रहालय अवलोकनका लागि खुल्ला गराउने करबाकेली संरक्षण समितिले जनाएको छ । सङ्ग्रहालय स्थापना गर्न करबाकेलीमा परम्परागत शैली र प्रव्धििको प्रयोग गरेर दुई तले भवन निर्माण भएको छ । ढुङ्गा, माटो, चुन, सिमेन्ट, बालुवा र काठ प्रयोग गरेर मैलिकता झल्कने आकर्षक दुई तले भवन निर्माण भएको हो । भवन निर्माणमा हालसम्म करिब रु ६८ लाख खर्च भएको समितिका सचिव रवि गर्बुजाले बताउनुभयो ।

“अन्नपुर्ण गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेका छन्”, उहाँले भन्नुभया,े “बाँकी रु ५३ लाख स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । समितिको रु तीन लाख खर्च भएको छ । घोषणा गरेको सहयोग प्राप्त हुने क्रम जारी छ ।”

पुन समुदायको अगुवाइमा स्थापना गरिए पनि सङ्ग्रहालयलाई म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । सङ्ग्रहालयले परम्परागत सामग्रीको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अन्नपूर्ण–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयोे ।

पुन समुदायका कुल देवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ ।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाइएको करबाकेली, उनका श्रीमतीहरु हिमला, फिमला, छोराहरु रामचन र कुलचनको मुर्ति छन् ।

मन्दिरको प्रवेशद्वारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरुले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मङ्गलबार र मङ्सिरको पहिलो उजेली मङ्गलबार पारेर पूजा गर्छन् ।

करबाकेलीसम्म पुग्न करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्वार पनि निर्माण गरिएको छ । करबाकेली परिसरमा करिब एक हजार क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ ।

करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौ वटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० भन्दा बढी पाहुना बास बस्न सक्ने सुविधा छ ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धौलागिरि, नीलगिरि, माछापुच्छ«्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमालका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ ।

यहाँबाट नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृश्य देखिन्छ । करबाकेलीलाई केन्द्रीत गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताउनुभयो ।

पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फुलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button