पोखरामा किनमेल संसारको फस्ट आउटलेट सञ्चालनमा

एउटा विन्दुमा पुग्छु भन्ने आँट छः सञ्जय कुमार मल्ल

पोखरा न्यूज सम्वाददाता । किनमेल संसारको फस्ट आउटलेट शनिबारदेखि पोखरामा औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ग्रैहापाटनस्थित प्राइम सहकारी भवनको ग्राउण्ड फ्लोरमा सञ्चालनमा आएको आउटलेटको नेपाली तथा गुरुङ फिल्मकी नायिका रजनी गुरुङ, कलाकार एवं निर्देशक माओत्से गुरुङ, वरिष्ठ कलाकार प्रकाश घिमिरे र रेडियो अन्नपूर्ण पोखराकी प्रवन्ध निर्देशक सुनयना पालिखेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

विगत २० वर्षदेखि निरन्तर सञ्चारकर्ममा क्रियाशील सञ्जय कुमार मल्लले यो सञ्चालनमा ल्याउनुभएको हो । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेशन मेनेजर रहनुभएका सञ्जय मल्ललाई किनमेल संसारको सञ्चालनमा जीवनसंगीनी अञ्जु मल्लको साथ रहेको छ ।

आउटलेट शुभारम्भ कार्यक्रममा बोल्दै नायिका रजनी गुरुङले किनमेल संसारले ग्राहकको माया पाउने विश्वास व्यक्त गर्नुभयो । आफैले केही गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्नु निकै सकारात्मक रहने उहाँको भनाइ छ ।

रेडियो अन्नपूर्णकी प्रबन्ध निर्देशक सुनयना पालिखेले मल्ल दम्पतिको व्यवसायिक यात्राको सफलताको शुभकामना दिनुभयो । मेहनत र लगावका कारण उहाँहरु सफल हुने पालिखेको विश्वास थियो ।

कलाकार तथा निर्देशक माओत्से गुरुङले कोरोना कहरको यो समयमा सबैजनाले विकल्पको रुपमा कुनै न कुनै काम गर्नुपर्ने बताउनुभयो । कोरोनाका कारण कलाकारिता क्षेत्रमात्र नभएर पत्रकारिता क्षेत्रमा अगाडि बढिरहेकालाई ठूलो असर परेको उहाँको भनाइ थियो । वैकल्पिक व्यवसायले यात्रामा सहजता मिल्ने उहाँको विश्वास थियो ।

कलाकार प्रकाश घिमिरेले आफूले पढाएको विद्यार्थी अञ्जु मल्लले सञ्चालनमा ल्याएको व्यवसायको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । शिक्षण पेशाबाट रिटायर्ड हुनुभएका घिमिरेले कन्या स्कूलमा मल्ललाई गणित विषय पढाएका दिनको स्मरण गर्नुभयो ।

किनमेल संसारले विशेष गरेर बेड सिटलाई फोकस गरेको छ । विश्वकै चर्चित ब्राण्डका उच्च गुणस्तरीय बेड सिट उपलब्ध गराउने भएकोले ग्राहकको मन जित्नेमा सञ्चालक अञ्जु मल्ल विश्वस्त हुनुहुन्छ ।

ग्राहकको साथ र मायाले व्यवसायलाई थप बृहत बनाउदै लैजाने उहाँले सुनाउनुभयो । ‘यो हाम्रो सुरुवात हो, सबैको माया र साथले यसलाई विस्तार गर्न सक्छौ भन्ने विश्वास छ’ उहाँले भन्नुभयो । शिक्षण पेशाको अनुभव समेत संगाल्नुभएकी उहाँले महिलाहरु समेत आफै आत्मनिर्भर बन्न सक्षम छन् भन्ने दृढताका साथ यो व्यवसायमा हात हाल्नुभएको हो ।

बम्बई डाईङ, जयपुरी फ्रेबिक, रेमोण्ड, ड्रिम इरा, फ्लोरेन्स, सलोना विचोना, सिंगापुर जिन्स कटन, जिन्स कटन, पियोर कटन ब्राण्डका बेडसिट किनमेल संसारमा उपलब्ध छन् । साथमा चलेका ब्राण्डका घरायसी सामानहरु यहाँ पाइन्छ । लेटेस्ट डिजाइनका टप्स, कुर्था, प्रिन्टेड कुशन, सादा कुशन र डिजाइन कुशन सहितका सामान समेत यहाँ उपलब्ध छ । विस्तारै अन्य ठाउँमा समेत आउटलेट खोल्ने तयारी गरिएको सञ्चालक सञ्जय मल्लले बताउनुभयो ।

सबैको साथ र सर्पोटले अगाडि बढ्न सहज हुने उहाँको अपेक्षा छ । ‘शुन्यबाट यात्रा सुरु गरेको छु, एउटा विन्दुमा पुग्न सक्छु भन्ने आँट छ । सबैको साथ सर्पोटले अगाडि बढ्न सहज बनेको छ’ उहाँले भन्नुभयो ।

किनमेल संसार नेपाल फेसबुक पेजबाट नेपालका जुनसुकै ठाउँबाट सामान अर्डर गर्न सकिनेछ । डेलिभरीको सुविधा नेपालभरी रहेको सञ्चालककोे भनाइ छ । पोखराका ग्राहकलाई फ्रि होमडेलीभरीको व्यवस्था गरिएको बताइएको छ ।

किनमेल संसारले सेवा दिन लागेको एकवर्ष भयो । अहिलेसम्म अनलाइनलाई मात्र फोकस गरेपनि प्रत्यक्ष रुपमा पसलमा नै आएर सामान किन्न चाहनेको मागलाई सम्बोधन गर्न आउटलेट सञ्चालन गरिएको हो । औपचारिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कञ्चन थापाले गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button