बारपाक सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा

पोखरा न्यूज । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आज पालिकाभित्र सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले गोरखा भूकम्पबाट ज्यान गुमाउनेहरुका स्मृतिमा भूकम्प स्मृति दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

“विसं २०७२ वैशाख १२ गते आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक भएको गाउँपालिकाभित्र उक्त दिनको सम्झनामा बिदा दिइएको हो”, उहाँले भन्नुभयो, “भूकम्पलाई भुल्नेभन्दा पनि सम्झेर सधैँ सचेत र पूर्वतयारीमा सबै सदैव लाग्नुपर्छ ।”

गाउँ कार्यपालिकाको गत चैत २५ गते बसेको बैठकले भूकम्प स्मृति दिवसका अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदाको दिन गाउँपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शिक्षण संस्थालगायत सार्वजनिक सङ्घसंस्था बन्द रहने गाउँपालिकाले जनाएको छ ।

बारपाक सुलिकोट – १ र २ मा पर्ने भूकम्पको केन्द्रविन्दु बारपाक गाउँका एक हजार ४५० घरमध्ये भूकम्पबाट केही घरका ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्प स्मृति दिवसका अवसरमा हरेक वर्ष बारपाकमा विभिन्न कार्यक्रम गरिँदै आए पनि यस वर्ष कोरोना सङ्क्रमण जोखिमका कारण कार्यक्रम स्थगन गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button