दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

पोखरा न्यूज । सर्लाहीको वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो । स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो ।

उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु ५० लाख र साना किसान कृषि सहकारी संस्था लिमिटेड शङ्करपुरबाट रु ५० लाख गरी जम्मा रु एक करोडको लागत साझेदारीमा आगामी असार १५ गतेभित्र कम्पाउण्ड वाल र फुटपाथ निर्माण गरिने संस्थाका प्रबन्धक माधव काफ्लेले जानकारी दिनुभयो ।

दाना उद्योग निर्माणका लागि कूल लागत रु पाँच करोड ९३ लाख ९७ हजार ११० लाग्ने अनुमान गरिएको प्रबन्धक काफ्लेले बताउनुभयो । सोका लागि सङ्घीय सरकारबाट ५० प्रतिशत अनुदान, नगरपालिकाको कृषि कार्यक्रमबाट २५ प्रतिशत र बाँकी २५ प्रतिशत रकम समुदायबाट शेयर आह्वान गरी उद्योग निर्माण गरिने प्रबन्धक काफ्लेले बताउनुभयो ।

निर्माण हुन लागेको उक्त उद्योगमा प्रतिघण्टा पाँच टन तयारी दाना उत्पादन हुने संस्थाले जनाएको छ । कृषि जोनका रुपमा रहेको वाग्मती नगर क्षेत्रमा मकै, गहँु, आलुलगायतका अन्नबाली अत्यधिकमात्रामा उत्पादन हुने गरेको छ । उत्पादन भएको अन्नबाली किसानले थोरै मूल्यमा खेतैबाट बेच्नुपर्ने बाध्यता खेप्दै आएका थिए । उद्योग सञ्चालनपछि यस क्षेत्रका किसानले उत्पादन गरेका मकै, धान गहुँलगायतका बालीले मूल्य पाउने र पशुपालन गर्ने किसानले दाना खरीदमा मूल्य कम हुने अपेक्षा गरेका छन् ।

त्यसैगरी वडा नं ५ मा करीब रु एक करोड ५० लाखको लागतमा अन्न भण्डार पनि भवन निर्माण गरिने भएको छ । स्थानीय किसानले उत्पादन गरेको कृषिउपज भण्डारण गर्ने गरी भवन तयार गर्न लागिएको नगर प्रमुख थापाले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button