हिरोइन बनेर नाँच्ने रहर सानैदेखि थियो: रजनी गुरुङ

कलाकार अडिसनदेखि भाग्नु हुँदैन

पोखरा न्यूज सम्वाददाता । कलाकार अडिसनदेखि भाग्नु हुँदैन भन्ने मान्यता अभिनेत्री रजनी गुरुङको छ । केही कलाकार अडिसनदेखि भाग्न खोज्ने गरेको भन्दै त्यस्तो नगर्न उहाँ आग्रह गर्नुहुन्छ । आफन्त अथवा चिनेजानेको आधारमा कलाकार छनोट गर्ने प्रवृत्ति फिल्मको लागि हितकर नहुने उहाँको बुझाइ छ । यसरी फिल्ममा काम गर्न दिदाँ सोचे जस्तो आउटपुट कलाकारले दिन नसक्ने तर्क उहाँ गर्नुहुन्छ । कलाकारले लाज नमानी अडिसनमार्फत आफ्नो प्रतिभा देखाएर अभिनयको क्षेत्रमा आउनपर्नेमा उहाँको जोड छ ।

‘केही कलाकारमा मलाई रिजेक्ट गरिदियो भने बेइज्जत पो हुन्छ भन्ने सोच छ, त्यस्तो सोच राख्नु हुँदैन निर्धक्कका साथ अडिसन दिएर आफ्नो प्रतिभाको आधारमा आउनुपर्छ’ उहाँले भन्नुभयो । कलाकारिता क्षेत्रमा अगाडि बढ्न खोज्ने सबैले आफ्नो प्रतिभालाई निखारता प्रदान गर्दै यात्रा तय गर्नुपर्ने बुझाइ उहाँको हो ।

निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘टलकजङ भर्सेस टुल्के’ बाट उहाँको नेपाली फिल्म क्षेत्रमा डेब्यु भएको हो । फिल्ममा छानिने अवसर अडिसन मार्फतनै मिलेको थियो । ‘त्यतिबेला गुञ्जदाइले यो फिल्मका लागि मंगोलियन टाइपको फेस चाहिएको छ भनेर मलाई भन्नुभयो । अनि अडिसन दिएर छानिएको हुँ’ उहाँले भन्नुभयो ।

फिल्म हेर्न औधी रुचाउने रजनीको बानीमा भने विगतको तुलनामा परिवर्तन आएको छ । विगतमा फिल्म हेर्दा टाइमपास हुने मान्यता राख्ने उहाँ अहिले फिल्म ज्ञान आर्जन गर्नको लागि बढी हेर्नुहुन्छ ।

बाल्यकालमा रमाइलोको लागि फिल्म हेरेर टाइमपास हुन्छ भन्ने हुन्थ्यो । फिल्ममा हिरो, हिरोइन हुन्छन् । डाँडाकाडाँमा नाँच्छन् भन्ने उहाँलाई लाग्थ्यो । नृत्यमा अब्बल रजनीमा हिरोइन बनेर नाच्ने रहर सानैदेखि थियो । ‘मलाई डाँडाकाँडा नाच्दै हिड्न मनपथ्र्यो । सानोमा सपनामा समेत यस्तै देख्थे, स्कुलमा प्यारेन्टस् डेमा नाच्थे’ उहाँ पुराना कुरा सम्झदै भन्नुहुन्छ ।

यसको लागि कसरी अगाडि बढ्नुपर्छ थाहै थिएन । जेहोस् उहाँले रमाइलोको लागि नै फिल्म हेर्नुहुन्थ्यो । फिल्म हेरेपछि घरमा गएर फिल्ममा के के भएको थियो भनेर सबै कथा भन्ने बानी उहाँमा थियो ।

अहिले उहाँको फिल्म हेर्ने शैली परिवर्तन भएको छ । उहाँले फुर्सदको समयमा फिल्म हेर्नुहुन्छ, त्योपनि मनोरञ्जनको लागि नभइ सिक्नका लागि । ‘एक्टिङ हेर्छु, फिल हेर्छु, पढ्छु, यसरी फिल्म हेर्दा आफुमा निखारता थप्ने अवसर समेत मिल्छ’ उहाँ भन्नुहुन्छ ।

बढी मात्रामा हलमा नै फिल्म हेर्न मनपराउने उहाँले हेरेको पहिलो हिन्दी फिल्म ‘पुकार’ हो । हलमा हेरेको पहिलो नेपाली फिल्म कुन हो ठ्याक्कै भन्न नसकेपनि नेपाली फिल्म ‘साथी’ हेरेको भने सम्झनुहुन्छ । ‘साथी’ भन्दा अगाडिनै हलमा अर्को कुनै नेपाली फिल्म हेर्नुभएको हो ।

त्यतिबेलाको समयमा हलमा लागेको फिल्मको बारेमा प्रचार गर्ने शैली भनेको ट्याक्सिमा माइक लगाएर भन्नेनै थियो । सोही माध्यमबाट जानकारी पाएपछि उहाँ हलसम्म पुग्नुहुन्थ्यो ।

हलमा हुने भीडले फिल्म हेर्दा छुट्टै रौनकता मिल्थ्यो । जुन रौनकता घरमा फिल्म हेर्दा मिल्ने कुरा भएन । सोही कारण हलमानै गएर हेर्न मज्जा लाग्थ्यो । कोक राख्ने क्यारेटमा अगाडि बसेर समेत फिल्म हेरेको सम्झना उहाँसँग ताजै छ ।

स्याङ्जा पौवेगौडेमा जन्मनुभएको रजनीले बाल्यकालको बढी समय इण्डियामा बिताउनुभयो । नेपाल आएपछि घरमा टिभी भएकोले डेकमा सिडी ल्याएर समेत उहाँले फिल्म हेर्नुभयो । इन्डियामा हुँदा टिभीमा कार्टुननै बढी हेरेको स्मरण उहाँसँग छ । उहाँ अहिले पोखरामानै बस्नुहुन्छ । बेला–बेलामा जन्म ठाउँमा भने पुग्नुहुन्छ ।

उहाँको अभिनयको यात्रा गुरुङ फिल्म मार्फत भएको हो । गुरुङ फिल्ममा अवसर पाउन उहाँलाई खासै स्ट्रगल गर्नु परेन । फुपाजु गमबहादुर दशैंको बेलामा भेटिदा नानी तिमी के बन्ने भनेर रजनीलाई सोध्नु भयो । उहाँले म त हिरोइन बन्ने भन्नुभयो ।

फुपाजु गमबहादुरको त्यतिबेला गुरुङ फिल्म क्षेत्रका मेरुदण्डको रुपमा स्थापित हुनुभएका वेद बहादुर गुरुङ श्याम र स्व.लोक बहादुर गुरुङसँग राम्रो चिनजान थियो । उहाँहरुको अभियान फिल्मस् प्रोडक्सन हाउस गुरुङ फिल्म क्षेत्रमा स्थापित बनेको थियो ।

‘मेरो भेनाको माध्यमबाट मैले काम सुरु गरेको कारण अवसरका लागि स्ट्रगल त्यतिबेला गर्नुपरेन । बरु अहिले स्ट्रगल गरिरहेको छु’ उहाँले भन्नुभयो ।

रजनीले हालसम्म झण्डै एक दर्जन गुरुङ फिल्ममा काम गर्नुभएको छ । नेपाली फिल्म समेत ६, ७ वटा पुगिसके । उहाँले अभिनय गरेका केही फिल्म प्रदर्शन हुन बाँकी छ । केही फिल्म निर्माणको क्रममा छन् । यतिबेला केही स्क्रिप्ट पढिरहनु भएको छ ।

गुरुङ र नेपाली फिल्ममा अभिनय गर्ने तरिका एउटै भएपनि सुटिङको क्रममा केही भिन्नता उहाँले पाउनुभएको छ । गुरुङ फिल्ममा काम गर्दा आफ्नो घरमा आएर काम गरेको जस्तो लाग्छ । पारिवारिक वातावरणमा काम गर्न पाइन्छ । सुटिङमा गएको जस्तो ‘फिल’ नै हुँदैन । नेपाली फिल्म व्यवसायिक हुन्छ । सिस्टम छुट्टै हुन्छ । सबैसँग बोल्ने, हाँस्ने अवसर मिल्दैन । नेपाली फिल्ममा कलाकारको समेत सिधंै निर्देशकसम्म एक्सेस हुँदैन तर गुरुङ फिल्ममा सबै पारिवारिक वातावरणमा काम गर्न पाइने उहाँले सुनाउनुभयो ।

अभिनेत्री गौरी मल्लको अभिनयबाट प्रभावित भएको बताउने उहाँलाई माओत्से गुरुङको अभिनय समेत उतिकै मनपर्छ ।

नेपाली फिल्मी क्षेत्रमा सचेत निर्माता, निर्देशकको आगमन हुनु सकारात्मक पक्ष भएको बुझाइ उहाँको छ । पहिला कस्तो थियो थाहा भएन । ‘अहिले त सबैलाई सर्पोट गर्ने खालकै हुनुहुन्छ । आफूले के सर्पोट गर्दा कलाकारले राम्रो आउटपुट दिन सक्छ भन्नेमा निर्माता निर्देशक सचेत हुनुहुन्छ । कलाकार समेत मैले कस्तो खालको क्यारेक्टर गर्न सक्छु भन्ने पहिल्यै बुझेर आउनुभएको छ । यसरी काम गर्दा फिल्म राम्रो बन्छ ।’ उहाँ भन्नुहुन्छ ।

त्यसोत रजनीलाई कलाकारले नेचुरल अभिनय गर्दा राम्रो हुने होे भन्ने लाग्छ । अहिले कलाकार कन्सियस भएका छौँ । स्क्रिप्ट अनुसारको क्यारेक्टर बन्न खोज्छौं । ड्रेस लगायतका कुरामा ध्यान दिन्छौ । हतारमा काम नगरी राम्रो आउटपुट दिनको लागि समय दिएरनै काम गर्नुपर्छ भन्ने उहाँलाई लाग्छ । अभिनय गर्न पाए भन्दैमा नगरी आफूलाई क्यारेक्टर म्याच गर्छ कि गर्दै भन्ने ख्याल दिएर काम गर्न सके बल्ल सफल भइने उहाँको विश्वास छ ।

नेपाली फिल्ममा मात्र नभएर अहिले गुरुङ फिल्ममा पनि धेरै सुधार भएको उहाँको बुझाइ छ । आफुमा जे प्रतिभा छ त्यसमा ‘इन्जोय’ गर्न पाइन्छ । पहिला धेरै दुःख गर्नुपर्ने थियो । अहिले सहज भएको छ ।

उहाँ भन्नुहुन्छ, ‘आजभन्दा १० वर्ष अगाडि गुरुङ फिल्मको क्षेत्रमा आउँदा धेरै दुःख गर्नुपर्‍यो । अहिले त्यस्तो छैन । बजेट सानो हुन्थ्यो । बुझ्ने कम हुनुहुन्थ्यो । अहिले बुझ्ने मात्र बढ्नुभएको छैन बजेट पनि बढेको छ । धेरै कुरामा सुधार भएको छ ।’ सदैव गुरुङ फिल्मले आफ्नो भाषा रीतिरिवाज संस्कृतिलाई नै फोकस गर्नुपर्छ भन्ने उहाँलाई लाग्छ ।

फिल्मी करियरका सुरुवाती दिनका अनुभव उहाँले भुल्नुभएको छैन । त्यतिबेला हामी आफ्नै झोला बोकेर डाँडाकाँडा हिमाल गयौ । काँचो चाउचाउ, काँचो भात खायौ । चिसोमा कठाग्रीदै काम गथ्र्यौ । त्यस्तो दुःख अहिले छैन । स्पोर्ट व्याइ चाहियो, यो चाहियो, ऊ चाहियो भनेर डिमाण्ड गरिन्छ । पहिला सबै आफैले गर्नुपर्ने थियो ।

‘धीँ’ फिल्म गर्दा यति चिसो थियो । हामीले धेरै दुःख गरेका थियौ । फलस्वरुप यो फिल्म सर्वाधिक रुचाएको गुरुङ फिल्म बन्यो । मैले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाए । त्यतिबेला गरेको अभिनय अहिले गर्न सक्छु जस्तो उहाँलाई लाग्दैन । ‘त्यो बेला जे थियो रियल थियो । अहिले क्यामरा फेस गर्ने बानी भयो, कन्सेन्स भएको छु’ उहाँले थप्नुभयो ।

कलाकारले आफ्नो धरातल विसर्नु नहुनेमा उहाँको जोड छ । हामीले आफु कहाँबाट आएको हुँ बिर्सन हुँदैन र आफ्नो भाषा संस्कृतिलाई मर्न दिनु हुँदैन भन्दै आफुले सपना र योजना नबनाइकन यात्रा गरिरहेको उहाँले बताउनुभयो । ‘सपना देखे पुरा हुन्छ भन्छन् । तर मेरो सपना केही छैन । अगाडिका योजना पनि बनाएको छैन । आफुमा जे छ त्यसैमा खुशी भएर बस्न’े उहाँले सुनाउनुभयो ।

उहाँले सन्तोष कोन्मेको ‘बरालडाँडा गाउँ’ गीतबाट म्युजिक भिडियोको यात्रा सुरु गर्नुभयो । छायाकंनको लागि कास्कीको बरालडाँडा गाउँनै पुग्नुभयो । म्युजिक भिडियोमा काम गर्दाका सुरुवाती दिनमा धेरै मेहनत गरेको उहाँको अनुभव छ । उहाँले हालसम्म झण्डै ३० वटा म्युजिक भिडियोमा काम गर्नुभयो । म्युजिक भिडियोको यात्रा समेत जारी नै छ ।

अभिनयको क्षेत्रमा लागेर प्राप्त आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ । सबैजनालाई नेपाली तथा गुरुङ फिल्मलाई माया गर्न तथा सर्पोट गर्न आग्रह उहाँ गर्नुहुन्छ ।

फिल्म, म्युजिक भिडियो मात्र नभएर हाँस्य टेलिसिरियल मेरी बास्सैमा मंगली क्यारेक्
टर मार्फत समेत धेरैको माया उहाँले बटुल्नुभयो । जापानी फिल्म ‘एभरेष्ट समिट अफ गड्समा’ काम गर्नुभएको छ । अभिनयको माध्यमबाट दर्शकको माया पाउन आफुमा निखारता थप्दै निरन्तर क्रियाशील बन्ने वाचा उहाँको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button