मौलिक गीत गाउँदा र सुन्दा आनन्द आउँछ: ईश्वर सिंह

समाजलाई अपच्य हुने खालका गीत बजारमा ल्याउन दिनु हुँदैन

पोखरा न्यूज सम्वाददाता । लोक गायक ईश्वर सिंहको जन्म बागलुङ जिल्ला गल्कोट नगरपालिका वडा नम्बर ७ मा भएको हो । बाल्यअवस्थादेखि नै उहाँलाई गीतसंगीतको क्षेत्रमा रुचि थियो । स्कुलमा अध्ययन गर्दा सांगीतिक कार्यक्रममा भाग लिने मात्र नभएर केही पुरस्कार जित्नुभयो । फलस्वरुप सांगीतिक क्षेत्रमा अगाडि बढ्ने हुृटहुटी बढेर गयो । मौलिक गीतसंगीत गाउन र सुन्न उहाँलाई मनपर्छ ।

झण्डै एकसय गीतमा आवाज भरिसक्नु भएको उहाँ गीतसंगीतका क्षेत्रमा निरन्तर क्रियाशील हुनुुहन्छ । यानिमाया, पन्चेबाजा, बिना साले गीत सहित सागरै तरेर, पवित्र माया, सुन कथा, बरमालामा जरी, साडी किनौला, रमाइलो साँझ, माया सलल, जाले रुमाल, मैना चरी, मादी दोभान, मेरो सोल्टी, आँशु बरबर लगायत गीत मार्फत उहाँले आफ्नो बेग्लै पहिचान बनाउनुभएको छ । आफूले आवाज भरेका तथा संगीत भरेका धेरै गीतहरुले दर्शक श्रोताहरुको माया पाएकोमा उत्साहित उहाँ निरन्तर सांगीतिक क्षेत्रमा अगाडि बढ्ने बताउनुहुन्छ । उहाँले वैकल्पिक पेशासँगै सांगीतिक यात्रालाई अगाडि बढाउनुभएको छ । यसपाली लोकगायक ईश्वर सिंहसँग सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
मलाई सानै उमेरदेखि गीत गाउन, बाजा बजाउन अत्यन्तै मन पथ्र्यो । हुनपनि म जन्मेको बागलुङ जिल्ला मौलिक गीतसंगीतको उर्बर भुमि हो । त्यसमा पनि म गल्कोटमा जन्मेको मानिस भएर होला मौलिक गीतहरु प्रायःजसो यानिमाया, सुनिमाया, सालैजो, विनासाले झ्याउरे, सोरठी, नौमती बाजा जस्ता गीतबाट निकै प्रभावित थिए । स्कुल पढ्दा बिभिन्न सांगीतिक कार्यक्रममा भाग लिने गर्ने मैले पुरस्कार समेत जित्न सफल भए । जसका कारण म यो क्षेत्रमा मनैदेखि उत्साहित भएर लागे ।

कस्ता गीत गाउन मनपर्छ ?
विशेषगरि मौलिक गीतसंगीतमा भिजेको छुँ । सोही कारण मौलिक गीतहरु नै गाउन र सुन्न पाउँदा छुट्टै आनन्द आउँछ । अहिलेसम्म यस्तै मौलिक गीतहरु गाउदै यात्रालाई अगाडि बढाइरहेको छुँ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
बाल्यकालमा बिशेषगरी आफुभन्दा ठूला दाइ, दिदीहरुले मेलापात गर्दा गाउनुभएका गीतहरु सुन्थे । रेडियोमा सांगीतिक कार्यक्रमहरु मार्फत धेरै गीत सुने । क्यासेट प्लेयरमा अडियो चक्का राखेर गीत उतिकै सुनिन्थ्यो । विवाहमा बजाइने नौमति बाजाको तालमा गायका गीतहरु मात्र नभएर भजन गाएको सुन्ने गर्थे । यस्तै गीतहरु सुन्दा आफैले गीत गाउन खोज्ने मेरो बानी थियो ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
धेरै हुनुहुन्छ । गीतको भावलाई बुझेर सुर, ताल तथा लयलाई न्याय दियर गीत गाउने तथा लय र शब्द सिर्जना गर्ने सबै गायक गायिका तथा श्रष्टाहरु मलाई मनपर्छ ।

लोक दोहोरी क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
मलाई लाग्छ गीतसंगीतमा लागेर जीवन धान्न मुस्किल नै छ । किनकि अवस्था सामान्य छैन । धेरै कुराहरुले कलाकारलाई असर गर्छ । सांगीतिक क्षेत्रमा राज्यबाट हुने सेवा सुविधा खासै नभएको कारण धेरै कलाकार गीतसंगीतको साथमा वैकल्पिक काममा व्यस्त हुनुपर्ने अवस्था छ । म आफैले गीतसंगीतसंगै जागिर समेत गर्दै जीवन चलाउदै आएको छु । गीतसंगीतको क्षेत्रमा मात्र लागेर जीवन धान्ने कलाकार एकदमै थोरै हुनुहुन्छ ।

तपाईले देखेको सपना ?
सपना त मैले धेरै ठुला–ठुला देख्नी गर्छु, देख्नुनी पर्छ जस्तो लाग्छ । सपनाविनाको जीवन जीवन नै हुदैन तर सपना कतिसम्म साकार हुन्छन भन्नी कुरा महत्वपूर्ण हो । आजसम्म जति दर्शक भगवानहरुको माया पाएको छु, मेरा सिर्जनालाइ माया गर्नुभएको छ त्यही नै मेरो लागि सौभाग्य हो । सोही कारण विस्तारै मेरा सपनाहरु साकार हुदै जानेछन् म विश्वस्त छुँ । मेरो सपना सांगीतिक क्षेत्रमानै एउटा उचाइमा पुग्नु हो ।

लोक दोहोरी क्षेत्रका सकारात्मक कुरा ?
पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा लाग्ने कलाकार तथा यसलाई मन पराउने दर्शक श्रोताहरुको लहर निकै बढेको छ । पुराना पुस्ताहरु त भैहाल्नुभो, उहाँहरुले लोक संस्कृतीलाई धेरै माया गर्नुहुन्छ । अहिले बालबालिकादेखि अहिलेको नयाँ पुस्ताहरु समेत यो क्षेत्रमा लाग्नु भएको छ, मन पराउने दर्शक श्रोता समेत उस्तै हुनुहुन्छ । यो लोक दोहोरी क्षेत्रको सकारात्मक कुरा हो । फलस्वरुप सबैको सामुहिक प्रयासमा नयाँ प्रविधिसंग जोडिदै हाम्रो मौलिक सस्कृति बचाइ राख्न ठुलो टेवा मिलेको छ ।

लोक दोहोरी क्षेत्रमा सुधार गर्नुपर्ने कुरा ?
यो क्षेत्रमा विकृति, विसंगति, छाडापन भित्रनु दिुन हुदैन । हाम्रो समाजलाई अपच्य हुने खालका गीतहरु बजारमा ल्याउन दिनु हुदैन । मौलिक गीतसंगीतको निरन्तर संरक्षण, सम्वद्र्घन गर्दै नयाँ पुस्तालाई समेत यसको बारेमा बिस्तृत रुपमा अध्ययन गर्नको लागि प्रेरित गर्न जरुरि छ । लोकदोहोरी क्षेत्रमा देखिएका विकृतिहरु रोक्नको लागि सेन्सर बोर्ड गठन हुनुपर्छ । जसका लागि गीतसंगीतमा आबद्ध बिभिन्न संघ संस्थाले सरकारलाई दवाव दिनुपर्छ । यसरी सेन्सरबोर्डको स्थापना भयो भने हाम्रो गीतसंगीतमा अझै शुद्धता हुनेछ ।

आफूमा निखारता कसरी थप्दै आउनुभयो ?
म अहिले पनि निरन्तर अभ्यासमा नै छु । मौलिक गीतसंगीत लाइनै निरन्तरता दिइराखेको छु । अझै केहि नयाँपन दिदै मेरो कला माझ्ने कोशीस गर्दैछु ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
मैले संगीतक्षेत्रबाट पाएको भनेको सम्पूर्ण दर्शक श्रोताहरुको माया हो । मलाई पहिला थोरैले चिन्नुहुन्थ्यो भने अहिले धेरैले चिन्नुहुन्छ, यहीनै मेरो लागि अमुल्य चिज हो ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
यो क्षेत्रमा लागेर गुमाएको खासै केहि छैन ।

अबका योजना के छन् ?
यतिबेला मैले गाएका र सिर्जना गरेका केहि गीतहरु मेरो आफ्नै अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएका छन् । वनको मजुर, आँशु बरबर, मादी दोभान लगायतका गीतहरुको प्रमोसन लागिरहेको छु । दर्शक श्रोताहरुको माया पाइराखेको छु । अब निरन्तररुपमा केहि नयाँ सिर्जनाहरु पस्कने सोच मैले बनाएको छु ।

अन्तमा के भन्नुहुन्छ ?
सबैभन्दा पहिले दर्शक श्रोताहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । अझै मेरा सिर्जनाहरु निरन्तर पस्कदै जानेछु । यहाँहरुको माया, हौसलाले थप जोश बढेको छ । यो क्षेत्रमा लाग्नको लागि प्रेरणा दिनुहुने मेरो घर परिवार, अग्रज कलाकारहरुप्रति समेत आभार प्रकट गर्दछु । आगामी दिनमा सांगीतिक क्षेत्रमा निरन्तर अझै क्रियाशील भएर अगाडि बढ्दै जानेछु । सदैव मेरा गीतहरुलाई माया गरिदिनुहोला भनेर दर्शक श्रोतालाई भन्न चाहन्छु । यो अवसर दिनुभएकोमा पोखरा न्यूज र तपाई प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु । धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button