भकुण्डेबेंसी फाँटमा सिंचाइ सुविधा

पोखरा न्यूज । भकुण्डेवेंशी फाँटलाई सिँचित गर्ने उद्देश्यले यहाँका खोलालाई व्यवस्थित गर्ने कार्य अगाडि बढाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका क्षेत्रको सोती खोलालाई व्यवस्थित गरेपछि भकुण्डे फाँटका हजारौँ रोपनी जग्गा फेरी सिँचाइ सुविधासहित हराभरा हुने आशा गरिएको छ ।

नगरपालिकाले सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत सो खोलाको व्यवस्थापन गर्न अगाडि बढाएको हो । सो काम अगाडि बढेसँगै सोतीले रुप फेर्दैछ । सो कार्यक्रम अन्तर्गत अहिले पहिलो चरणमा नमोबुद्ध नगरपालिका–२ मा झण्डै आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणको काम सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ । वन तथा वातावरण मन्त्रालयको जलवायु नमूना कार्यक्रम अन्तर्गत आधा किलोमिटर क्षेत्रमा खोला संरक्षणका लागि दायाँवायाँ पर्खाल लगाउने काम सकिएको छ । सोती खोला जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत यसवर्ष रु ९९ लाख ६८ हजार र रु १५ लाख २९ हजार जनश्रमदानबाट र बाँकी नेपाल जलवायु अनुकुलन कार्यक्रममार्फत खर्च गरी सो कार्य सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । नमोबुद्ध नगरपालिकाका इञ्जिनियर उज्ज्वल अर्यालले सहायक खोलासहित सोती खोला व्यवस्थापनका लागि कूल रु ४५ करोड ६८ लाख खर्च हुने अनुमानसहितको डिपिआर तयार भइसकेको बताउनुभयो ।

खोलाको दुबैतर्फ कोरिडोरसमेत निर्माण हुनेछ । नमोबुद्ध–२, ३, ४ र ७ अन्तर्गत ४।३०५ किमी लम्बाइँमा सोती खोलाको मुहानदेखि दाप्चा खोलासम्म सो काम सम्पन्न हुनेछ । कुनैबेला आफूले सिँचाइका लागि सोती खोलाको पानी उपभोग गर्ने गरेको स्मरण गर्नुहुँदै नगरप्रमुख प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले उक्त खोला पहिलेकै अवस्थामा ल्याउनको लागि पानीको व्यवस्थापन गर्न र वातावरण संरक्षणका लागि कृषि क्षेत्रको प्रवद्र्धनका गर्न व्यवस्थापन अगाडि बडाएको बताउनुभयो । हिउँदमा पनि पानीको अभाव नभएको अवस्थाबाट अहिले सिँचाइको अभावका कारण वर्षायामसमेतमा खेती गर्न समस्या भएकोले सो आयोजनालाई प्राथमिकताका साथ अघि बढाइएको उहाँले बताउनुभयो । अहिले खोलाको मूलसमेत सुकेको र पानीको आधार नभएकाले भकुण्डे क्षेत्र सुख्खाग्रस्त रहेको भन्दै शर्माले केही वर्षपछि भकुण्डेमा सिँचाइको अभाव नहुने गरी कार्यक्रमलाई अघि बढाइएको उहाँको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले प्रदेश सरकार र सङ्घीय सरकारका अन्य निकायसँग पनि सहकार्य गर्दै कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउने प्रयास भइरहेको बताउनुभयो । नमोबुद्ध नगरपालिकाले सोती खोला संरक्षण र व्यवस्थापनका लागि २०३४ सालको नापीअनुसार खोलाको सीमाङ्कन गरेर काम शुरु गरेको जनाएको छ । जनअन्तर्गत पहिलो चरणमा खोलाको संरक्षण गर्ने, बीचबीचमा पोखरी निर्माण गर्ने, खोलाको दुवैतर्फ वृक्षारोपण गर्ने र सोती कोरिडोरसमेत निर्माण गर्ने नगरपालिकाको लक्ष्य रहेको छ ।

वातावरण अधिकृत सन्तोष काफ्लेले भकुण्डे फाँटमा रहेका इँटा उद्योग विस्थापनसँगै किसानलाई राहत दिनका लागि योजना फलदायी सावित हुने बताउनुभयो । वरिपरि सुख्खा रहेको क्षेत्रमा कृषिमार्फत जनताको आर्थिक उन्नतिमा टेवा पु¥याउन सो योजनाले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सोती खोलामा पानीका लागि डिप बोरिङ सञ्चालन गरिने र बोरिङको पानीलाई खोलामा बगाएर ठाउँठाउँमा पोखरी निर्माण गरिनेछ । खोलाको ठाउँठाउँमा निर्माण गरिने पोखरीबाट पानी तानेर सिँचाइ गर्नका लागि सोलारको पनि व्यवस्थापन गरिने उहाँले बताउनुभयो । जमीनको पानी निकालेर जमीनमै बगाएर जमीनभित्रै पु¥याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । बहुवर्षे योजनामा परेको यो आयोजना सम्पन्न भएपछि सोती खोलाबाट भकुण्डे र आसपासका किसानले पर्याप्त मात्रामा सिँचाइ सुविधा उपभोग गर्न पाउने अपेक्षा गरिएको छ ।

जलाधार व्यवस्थापन कार्यक्रम अन्तर्गत पहिलो चरणको काम सकिएपछि वन तथा वातावरण मन्त्रालयका सहसचिवद्वय डा राधा वाग्ले र विन्दुकुमारी मिश्र तथा उपसचिव सिर्जना श्रेष्ठ, नगर प्रमुख तिमल्सिनालगायतको टोलीले कार्यक्रमस्थलको अनुगमनसमेत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button