गुरुङ फिल्म ‘शिरसुवा’को ग्रस कलेक्सन सबैभन्दा बढी

नियमित फिल्म प्रदर्शन हाललाई स्थगित

पोखरा न्यूज सम्वाददाता । गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको ब्यवस्थापनमा गत फागुन १ गतेबाट नियमित गुरुङ फिल्म प्रदर्शन अन्तर्गतको सेयर रकम हस्तान्तरण गरिएको छ । जिफानको केन्द्रीय कार्यालय पोखरा–१३ चिसापानीमा एक कार्यक्रमको आयोजना गरेर सेयर रकम हस्तान्तरण गरिएको अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिनुभयो । ‘गुरुङ फिल्म एशोसिएसन नेपाल जिफानको व्यवस्थापनमा पोखरा सभागृह चोकस्थित मिडटाउन सिनेमा हलमा प्रदर्शन भएका गुरुङ फिल्महरुको सेयर हस्तान्तरण गरेका छौ’ उहाँले भन्नुभयो ।

यो अवधिमा कर्म क्या, रिंजे नासाँ, शिरसुवा, स्यू रु, तमुस्यो र सबन मु फिल्म हलमा प्रर्दशन भएका थिए । जसमध्यै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने फिल्म शिरसुवा बनेको छ । शिरसुवाले १ लाख २८ हजार ९ सय २५ रुपैयाँ ग्रस कलेक्सन गर्न सफल बन्यो । यसैगरी तमुस्योले ७२ हजार ४ सय ५० रुपैयाँ, सबन मुले ५८ हजार १ सय रुपैयाँ, स्यू रु ले ४७ हजार ८ सय ७५ रुपैयाँ, रिंजे नासाँले १४ हजार ३ सय ५० रुपैया र कर्म क्याले ५ हजार ७ सय रुपैयाँ ग्रस कलेक्सन गरेको अध्यक्ष गुरुङले जनाउनुभयो ।

नियमित हलमा फिल्म प्रदर्शन गर्ने तथा ग्रस कलेक्सनको बारेमा सबैलाई जानकारी दिने क्रमसँगै सबै फिल्म निर्मातालाई राम्रो फिल्म निमार्ण गर्ने नैतिक दवाव सिर्जना हुने अध्यक्ष गुरुङको भनाइ रहेको छ । ‘अब फिल्म बनायो भने राम्रो फिल्म बनाउनुपर्छ, धेरै दिन हलमा चलाउनुपर्छ भन्ने मनोवैज्ञानिक दवाव निर्माता निर्देशकलाई पर्छ’ उहाँले भन्नुभयो ।

नियमित फिल्म प्रदर्शन कार्यक्रमका संयोजक तथा निर्माता निर्देशक विभाग प्रमुख सोमबहादुर गुरुङले शेयर रकम हस्तान्तरण गर्नुभयो । जिफानका अध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यवाहक महासचिव तोलबहादुर गुरुङले गर्नुभएको थियो ।

यता कोरोना कहरको दोस्रो लहरका कारण नियमित प्रदर्शन हुने तय भएका दूई गुरुङ फिल्मको प्रर्दशन हाललाई स्थगित गरिएको छ । फिल्म प्रदर्शन अन्तर्गत बैशाख १० र ११ गते ‘सिमि नासा’ र बैशाख १७ र १८ गते ‘टुकी’ फिल्म प्रदर्शनको निम्ति पुर्वतालिका प्रकाशित गरेर प्रचारप्रसार गरिएके भएपनि नेपाल सरकार तथा जिल्ला प्रशासन कार्यलय कास्कीद्वारा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको आदेश बमोजिम अर्को सूचना जारी नभएसम्मको लागि नियमित फिल्म प्रदर्शन स्थगित गरिएको जिफानका कार्यकारी सचिब तथा प्रचारप्रसार विभाग प्रमुख रमेश गुरुङले जानकारी दिनुभयो । नियमित गुरुङ फिल्म प्रदर्शन स्थगित हुँदा दर्शक महानुभबहरुमा पर्न गएको असुविधा प्रति क्षमा माग्दै कोरोना कहरको अवस्था सामान्य बन्ने वित्तिकै प्रदर्शनलाई निरन्तरता दिइने जनाइएको छ ।

यसैबिच गुरुङ जिफानको साधारण सदस्य, आजिवन सदस्य, कृतिमानी सदस्य र मानार्थ सदस्यको व्यक्तिगत, संस्थागत र फिल्मीग्राफी विवरणलाई जिफानले आधिकारिक वेवसाइटमा राख्ने कार्यलाई सुरुवात गरेको छ । जिफानले सम्पूर्ण सदस्य तथा निर्माण भएका गुरुङ फिल्मको बारेमा व्यवस्थित रुपमा अभिलेखीकरण गर्न खोजेको छ । जसका कारण नयाँ पुस्ता तथा यो क्षेत्रमा रुचि राख्नेलाई सहज हुने अपेक्षा गरिएको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button