सबै ‘जनरा’का गीतलाई ‘रेस्पेक्ट’ गर्छु: मुस्कान रानाभाट

विग आइकन र नेपाल आइडलले चिनायो

पोखरा न्यूज सम्वादाता । तेस्रो संस्करणको नेपाल आइडलमा उत्कृष्ट ६ मा पर्न सफल मुस्कान रानाभाट चौथो संस्करणको विग आइकनको उपाधि विजेता हुनुहुन्छ । उहाँले भर्खरै संगीत र राजनीति शास्त्रमा स्नातक अध्ययन पूरा गर्नुभएको छ ।

चार वर्षको उमेरबाटै गीत गाउन थाल्नुभएकी उहाँले ९ बर्ष हुँदा बाल एलबम ‘बेबी मुस्कान’ सार्वजनिक गर्नुभएको थियो । उहाँले छाल, चट्ट रूमाल, नखोज्नु मलाई गीत मार्फत दर्शक श्रोताको ध्यान खिच्नु भएको छ । केही गीत रिलिजको तयारीमा समेत छन् ।

आफ्नो करियरको लागि काठमाण्डौंमा बसेर सर्घष गरिरहनुभएकी मुस्कानको जन्म ठाउँ पोखराको एयरपोर्ट नजिकै हो । उहाँ सामाजिक कार्यमा समेत उत्तिकै क्रियाशील हुनुहुन्छ ।

यतिबेला उहाँले हालसम्म आफूले सिकेको सांगीतिक सिप स्कुलहरुमा पुगेर नयाँ प्रतिभाबीच बाडिरहनुभएको छ । यसका अलावा आफै स्वावलम्बी बन्न ‘नेल एक्सटेन्सन’ को विजनेस समेत गरिरहनुभएको छ । स्वदेश तथा विदेशमा आयोजना भएका सांगीतिक कार्यक्रम मार्फत आफ्नो प्रतिभा सुनाइसक्नुभएकी गायिका मुस्कान रानाभाटसँग यसपाली सांगीतिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको सांगीतिक यात्रा कसरी शुरु भयो ?
मेरो सांगीतिक यात्रा स्कुल अध्ययन गर्ने क्रमबाट नै सुरु भयो । ४ बर्षको हुँदादेखि नै स्कुलको ‘प्यारेन्टस डे’ मा म पनि गीत गाउँछु भन्दै अगाडि सर्थेँ । पोखराका रेडियोमा सञ्चालन हुने हरेक बाल कार्यक्रममा मलाई सहभागीता जनाउन भन्दै मामुले फोन लगाइदिनुहुन्थ्यो । फोन मार्फत गीत गाउँथे । यसरी गीत सुनाउँदा केहि न केहि जित्थेँ । हरेक प्रतियोगीतामा पापा तथा मामुले हात समातेर लगेको अझै याद छ । त्यसैले मेरो सांगीतिक यात्राको सुरुवात भएको पापा र मामुले दिनुभएको सर्पोट र साथले नै हो । जुन निरन्तर कायमै छ ।

कस्ता गीत गाउन मनपर्छ ?
म सबै जनराका गीतलाई रेस्पेक्ट गर्छु । आफैले समेत सबै जनराका गीत गाउने कोसिस गर्छु । तर मेरो भोकललाई म्याच हुने सफ्ट मेलोडी पप गीत हो जस्तो लाग्छ ।

चौथो संस्करणको विग आइकन हुनुअघि र भएपछिको परिवर्तन ?
विग आईकन हुनु अघि ए गाउँछे है भन्ने केहिलाई मात्र थाहा थियो । अन्एक्सपेक्टेड जितेपछि अवसर धेरै आयो । युके, ईन्डिया पनि म्युजिकल टुर गएँ । म्युजिकल सोहरू धेरै गरेँ । धेरैले चिन्नु भयो ।

तेस्रो संस्करणको नेपाल आइडलको अनुभव कस्तो रह्यो ?
नेपाल आईडलले पनि मलाई नाम दिएको हो । अन्तराष्ट्रिय लेभलमा चिनायो । अरूसँग भन्दा पनि म आफैसँग प्रतिष्पर्धा गर्न गएकी थिएँ । आफुमा रहेका कमी कमजोरीहरू महसुस भए । क्यामरासँगको डर कम भयो । निकै रमाईलो अनुभव भयो । साथीहरू नयाँ बने । धेरै रमाईलो गरेको सम्झना आउँछ ।

बाल्यकालमा गीतसंगीत कसरी सुन्नुहुन्थ्यो ?
सानो हुँदा रेडियोबाट सुनियो । अडियो क्यासेट किनेर समेत गीत सुनेको स्मरण छ । अनि कतिपय गीत मामुको मुखबाट सुन्दै सिक्ने गर्दथेँ ।

तपाईलाई मनपर्ने गायक तथा गायिका ?
गायक गायिका यहीं मनपर्छ भन्ने छैन । सबैको आफ्नै फरक–फरक जनरा, टेष्ट, स्किल हुन्छ । सबैको गायकीपनबाट नयाँ टेक्निक सिक्ने प्रयास गर्छु । मलाई सबैजना मनपर्नुहुन्छ ।

सांगीतिक क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
अनेष्ट भएर भन्दा गर्नेले गररिहेका पनि छन् । मेरो बिचारमा केहि हद्सम्म सकिन्छ । तर धेरै कमाएर यो गर्छु त्यो गर्छु भन्ने ठुलो सपना राख्ने हो भने अलि गाह्रै छ । त्यसैले संगीतसँगै पढाइ वा अन्य विजनेस गरेको राम्रो जस्तो लाग्छ ।

तपाईले देखेको सपना ?
संगीत सानैबाट मनमा थियो यहि फिल्डमा केहि त गर्छु भन्ने भयो । यसको महत्व बुझ्दै गए पछि प्रोफेसनल्ली नै लागेर सबैको मन छुने सपना बनेको छ ।

नेपाली सांगीतिक क्षेत्रका सकारात्मक कुरा ?
संगीत आफैमा सकारात्मक हुन्छ । नेपाली संगीतको राम्रो पक्ष लोक संगीत हो । ठाउँ, परिवेश अनुसार लोक संगीतहरू छन् । प्रतिभा भएका कलाकारले आफुलाई चिनाउन धेरै नयाँ–नयाँ प्ल्याट्फर्महरू पाइरहेका छन् यो नेपाली सांगीतिक क्षेत्रको सकारात्मक पक्ष हो ।

नेपाली सांगीतिक क्षेत्रमा सुधार गर्नुपर्ने कुरा ?
साँगीतिक क्षेत्रमा सुधार्नु पर्ने कुरा लोक गीत संगीतहरूको राम्रो संरक्षण भैरहेको छ जस्तो लाग्दैन । हामी जस्तो युथहरूलाई यसको महत्व बुझ्न जरूरी छ । त्यसैले लोक गीत संगीतको लागि केहि पहल गर्नुपर्छ जस्तो लाग्छ ।

निखारता कसरी थप्नु भएको छ ?
म अझै ‘विगिनर’ नै हुँ । धेरै सिक्नु छ । निखारिनुको लागि अनुभव तथा रियाज जति सकिन्छ लिनु र गर्नु जरूरी हो । गरिरहेको छुँ ।

संगीत क्षेत्रबाट पाएका कुरा ?
नाम र माया गर्ने मेरो सांगीतिक परिवार पाएको छु ।

संगीत क्षेत्रबाट गुमाएका कुरा ?
गुमाएको केहि छैन ।

अबका योजना के छन् ?
भर्खर संगीत र राजनीतिशास्त्रमा स्नातक सकेको छु । अबको योजना संगीतको अझै अध्ययन गर्छु । अन्तराष्ट्रिय सम्बन्ध सम्बन्धि समेत पढ्ने सोचिरहेकोछु । धेरैभन्दा पनि थोरै तर राम्रो गीत गर्ने योजनामा म छु ।

अन्तमा के भन्नुहुन्छ ?
पुरानो मेमोरीहरू ताजा भए हजुरलाई धन्यवाद । यस फिल्डमा अहिलेसम्म धेरै माया साथ पायरहेकी छु । यस्तै माया साथ दियरहनु हुनेछ आशा छ । सबैले नेपाली गीत संगीतलाई माया गरीदिनु होला भन्छु । दर्शक श्रोता र पाठकलाई समेत धेरै धन्यवाद ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button