भारतमा एकै दिन चार लाख बढी कोभिड–१९ संक्रमित, झण्डै चार हजारको मृत्यु

पोखरा न्यूज । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १५ लाख पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप तीन हजार ९१५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३४ हजार पुगेको हो ।

हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १७ हजारको ज्यान गइसकेको छ ।

भारतमा अझै पनि ३६ लाख ४५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । पछिल्लो २४ घण्टामा सक्रिय संक्रमित झण्डै ७९ हजार व्यक्ति थपिएका थिए । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७६ लाख १२ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ४० लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ । अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को २९ करोड ८६ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन १८ लाख २६ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

बुधबार मात्र भारत सरकारका मुख्य वैज्ञानिक सल्लाहकार के. विजय राघवनले कोरोना संक्रमणको दर उच्च भइरहे भारतमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिनु भएको छ । तर उहाँले तेस्रो लहर कहिले आउँछ भन्ने बारेमा अझै प्रष्ट भइनसकेको पनि बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button