डिजिटल प्लेटफर्ममा जानुपर्ने फिल्म क्षेत्रको बाध्यता

रोकिएर बस्दा नेपाली फिल्म प्रतिको मोह घट्न सक्ने चिन्ता

पोखरा न्यूज सम्वाददाता । कोरोनाको महामारीका कारण नराम्रोसँग प्रभावित बनेको क्षेत्र छ नेपाली फिल्मी क्षेत्र । पहिलो चरणको कोरोनाको कहरका कारण नै समस्यामा परेको फिल्म क्षेत्र दोस्रो भेरियन्टको कोरोना महामारीसँगै झनै थला परेको छ । पहिलो लहरको कोरोना कहरकै समयमा ५० वटा नेपाली चलचित्र सुटिङ सकेर, पोष्ट प्रोडक्सनमा बसेका थिए ।

२५ वटा जति फिल्म प्रर्दशनको मिति तय भएरै बसेका थिए । अहिले पुनः केही फिल्म निर्माण भए । केही निर्माणको चरणमा केही काम भएर रोकिएका छन् । यसले प्रदर्शन हुन बाँकी फिल्मको संख्यालाई बढाएको मात्र छैन करोडौँ लगानी फ्रिज भएको छ । अब त्यो लगानी कहिले उठ्ने पत्तो छैन ।

यसरी थला परेको फिल्मी क्षेत्रलाई उकास्न अब डिजिटल प्लेटफर्ममा जानुपर्ने बाध्यता देखिन थालेको छ । यसको लागि आवाज उठ्न समेत सुरु भएको छ । पहिलो चरणको लकडाउन देखि नै फिल्मी कर्महरु ठप्प भएका थिए । भाईसरको प्रभाव कम भए संगै फिल्मी क्षेत्र पुनः जुर्मुराउन सुरु गर्दै थियो । केही फिल्म निर्माण, सुटिङ लगायतका काम हुन थालेका थिए । तर भाइरसको दोस्रो लहर आएसंगै फेरि उस्तै अवस्थामा पु¥याएको छ ।

तुरुन्तै नयाँ संरचना र तरिकाले फिल्म क्षेत्र संचालन गर्न सक्ने अवस्थामा नभएकोले यसका लागि केही समय धैर्य गर्नुपर्ने सुझाब दिनेहरु फिल्म क्षेत्रमा छन् । दोस्रो चरणको कोरोना भाइरसको नयाँ भेरियन्ट आउनु अगाडि केही फिल्म हल सञ्चालनमा ल्याइएपनि दर्शकको सहभागिता अपेक्षाकृत हुन नसक्दा प्रभावकारी हुन सकेको थिएन । सोही कारण नयाँ फिल्म प्रदर्शन गर्ने आँट अधिकांश फिल्म निर्माताले गरेनन् । प्रर्दशन भएका फिल्ममा समेत दर्शक सहभागिता नहुँदा निर्मातालाई मात्र नभएर हल सञ्चालकलाई समेत निरास बनाएको थियो । अब झनै अन्यौलता बढेको छ ।

प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा धेरै जनालाई रोजगारीको अवसर सिर्जना गरेको फिल्म क्षेत्र ठप्प हुँदा यस्मा आश्रित हुनेहरुको रोजिरोटीमा झनै समस्या परेको छ । कोरोनाको दोस्रो लहरसँगै फिल्मी क्षेत्र कता जान्छ अन्यौलता बढेको कलाकार तथा चलचित्र निर्देशक माओत्से गुरुङ बताउनुहुन्छ । अब फिल्मकर्मी तथा कलाकारले विकल्पको बाटो अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । ‘पुर्ण रुपले कोरोनाको अन्त्य हुँदैन तबसम्म फिल्मी क्षेत्र चलायमान हुन सक्छ भन्ने अड्कल काट्न मैले सक्दिन’ उहाँले भन्नुभयो ।

यता फिल्म निर्देशक घनश्याम लामिछाने कोरोना संक्रमणको दोस्रो लहरका कारण फिल्म क्षेत्रलाई हलबाट विस्थापन गरेर डिजिटल प्लेटफर्ममा लाने अवस्थामा पु¥याएको बताउनुहुन्छ । पोखरा न्युजसँग कुरा गर्दै लामिछाने भन्नुहुन्छ –‘केही हदसम्म नेपाली फिल्मी क्षेत्रलाई पहिलो चरणको कोरोनाले थला पारेकै हो । अझैसम्म उठ्न नसकेको तितो यथार्थ पनि हो । तर, कोरोनाबाट मुक्ति पाउँदै छिट्टै पुरानै अबस्थामा फर्किन पाउनेछौँ भन्ने आशा गरेको बेला दोस्रो चरणको कोरोनाले त झन सिनेमा क्षेत्रलाई सिनेमा हलबाट नराम्ररी बिस्थापित गरेर डिजिटल क्षेत्रमा पो लैजाला जस्तो छ ।’

सिनेमा हलमा चल्ने फिल्महरु ओटिटी वा डिजिटल माध्यममा हेर्नुपर्ने अवस्था आयो भने यसले सिनेमाको सुन्दरतालाई असर पार्ने उहाँ बताउनुहुन्छ । ‘सिनेमा हलमा चल्ने फिल्महरु ओटिटी वा डिजिटल माध्यममा हेर्नुपर्ने भयो भने सिनेमा, सिनेमा नभएर वेब सिरिज हुन्छन्’ उहाँले भन्नुभयो । सिनेमाको सुन्दरता भनेको फिल्म हलमै चल्नु भएको उहाँको दावी छ ।

अब २, ३ बर्ष नेपाली फिल्म हलमा व्यावसायिक रुपले चल्न गाह्रो नै देखेको उहाँले सुनाउनुभयो । बिदेशी फिल्महरु हलमा चल्न थालेपछि मात्र नेपाली सिनेमा राम्रोसँग हलमा चल्ने उहाँको आशा छ। फिल्म उद्योगलाई कोरोनाले नराम्रो असर पारेको छ, कोरोनाको असर घटेर अवस्था सामान्य भएपछि मात्र पुनः अगाडि बड्न सक्ला जस्तो लाग्छ’ उहाँले थप्नुभयो ।

हलमा फिल्म नचलेनी निर्माताहरु त्यसै बस्न सक्दैनन् । सृजनशील व्यक्तिहरु बस्ने कुरा समेत भएन । यसले विकल्पको रुपमा डिजिटल बजारमा जानसक्ने ठूलो सम्भावना देखिएको हो । जुन बजार नेपाली फिल्म क्षेत्रले वास्ता नगरेको नेपाली सिनेमाको अर्को महत्वपूर्ण बजार भने भएको फिल्मकर्मी बताउन थालेका छन् । हुनपनि सृजनाले आफ्नो बाटो आफै रोज्ने भएकोले अब नेपाली फिल्मी क्षेत्र टेलिभिजन र डिजिटल बजारमा बिस्तार हुने सम्भावना बढेको छ । यसरी बजार विस्तार भएपनि सिनेमा हलमा प्रदर्शन हुँदाको जस्तो फिल्मको मिठास र प्रभाबकारिता हुन भने गाह्रो छ ।

अभिनेता महेश त्रिपाठी समेत अब प्रबिधिको माध्यमबाट नेपाली फिल्म क्षेत्र अनलाइन फिल्म रिलिज हुने वातावरण तर्फ जानुपर्ने बताउनुहुन्छ । ‘प्रविधिको प्रयोगद्धारा अनलाइन रिलिजको वातावरण तयार गर्न सके फिल्मी क्षेत्रलाई केही हदसम्म राम्रो हुने थियो । विश्व बजारमा समेत सहजै हाम्रा फिल्महरु पु¥याउन सकिने थियो’ उहाँले भन्नुभयो ।

कोरोनाका कारण परेको असरले निर्माता, कलाकार र दर्शकमा नेपाली फिल्म प्रतिको मोह घट्न सक्ने चिन्ता उहाँ गर्नुहुन्छ । ‘पहिले फिल्म निर्माण प्रति जति आकर्षण थियो अब अलि मोह भङ्ग हुन सक्छ’ उहाँको आशंका छ ।

यो स्थिर समयले मानव जीवनमा नयाँ कथाका क्रफ्टहरु दिएकोले प्रत्येक संकटग्रस्त समय पछाडि हरेक क्षेत्रले दुई गुणा फड्को मार्ने विश्वास उहाँ गर्नुहुन्छ । महामारी पछि नेपाली फिल्म क्षेत्र अझै परिस्कृत भएर आउने आशा त्रिपाठीको छ ।

गुरुङ फिल्म एसोसिएसन नेपालका अध्यक्ष भोजबहादुर गुरुङ महामारीबाट उठ्न जिफानले विभिन्न प्रयास गरेको बताउनुहुन्छ । ‘हामीले महामारीबाट उठ्न छोटा फिल्म निर्माण, फिल्मबारे अन्र्तक्रिया र छलफल गरेका थियौं, पहिलो चरणको लकडाउन खुलेपछि प्रदर्शन हुन बाँकी रहेका फिल्मलाई अब नियमित रुपमा हलमा फिल्म चल्नुपर्छ भन्ने अवधारणका साथ फागुन १ गतेबाट फिल्म प्रर्दशन गरेका थियौं’ उहाँले भन्नुभयो ।

कोरोनाको महामारीले कलाकार तथा प्राविधिकलाई बेरोजगार बनाएको उहाँको भनाई छ । कोरोनाको पहिलो लहर आएपछि पुराना पेन्डिङ काम गरेका थियौ । नयाँ फिल्मको तयारी खासै भएको छैन । अब भइहाल्ने समेत देखिदैन ।

कोरोना कहरले फिल्मी क्षेत्रका पुरानो मान्यतालाई भने तोडेको उहाँको दावी छ । कोरोना कहरले काठमाण्डौ केन्द्रित मेन स्ट्रिमको फिल्म क्षेत्रलाई विकेन्द्रित गरिदिएको उहाँले बताउनुभयो ।
अध्यक्ष गुरुङ भन्नुहुन्छ– ‘गुरुङ फिल्म प्रदर्शन गर्न विभिन्न हलबाट माग आउन थालेको थियो । कोभिड पछाडि समेत सहयोग गर्ने उहाँहरुको भनाई थियो । यसले गुरुङ फिल्मको बजार विस्तार हुने संकेत देखिएको थियो । केही फिल्मको काम सुरु भएका र केही सुरु हुने तरखरमा थिए, फेरि यस्तो अवस्था आयो ।’

विपतले केही सम्भावनको खोजी गर्ने उहाँको विश्वास छ । गुरुङ फिल्मलाई टेलिभिजनमा पैसा तिरेर घरमानै हेर्ने अवस्था सिर्जना गर्न तथा विश्वबजारमा फिल्म कसरी बेच्न सकिन्छ भनेर डिजिटल प्लेटफर्मका लागि छलफल गरिरहेको उहाँले सुनाउनुभयो ।

अभिनेता किसान सुनार कोरोना कहरको कारण नेपाली फिल्म क्षेत्र कुहिरोको काग जस्तै भएको बताउनुहुन्छ । ‘नेपाली फिल्मी क्षेत्र कुहिरोमा अल्लमलिएको काग जस्तो भएको छ, यस्ले आफ्नो गन्तव्य तय गर्न एक जुग नै फेर्नुपर्ला जस्तो छ’ चिन्तित बन्दै उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button