सिलिण्डर व्यवस्थापनमा जुट्यो गाउँपालिका

पोखरा न्यूज । कोभिड सङ्क्रमण बढेर बजारमा अक्सिजन सिलिण्डर अभाव भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

अक्सिजन सिलिण्डरको उपलब्धता भएपछि जलविद्युत् केन्द्रलाई फिर्ता दिने गरी सिलिण्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ थान भरी सिलिण्डर र तीन थान खाली सिलिण्डर ल्याइएको छ । खाली सिलिण्डरलाई आज नै भर्न पठाइने पोखरेलले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार गाउँपालिकामा यस अगाडि दुईवटा भरी सिलिण्डर छ । थप सिलिण्डरको पनि खोजी कार्य गरिएको पोखरेलले जानकारी दिनुभयो । “आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ”, पोखरेलले भन्नुभयो । जलविद्युत् केन्द्रले उपलब्ध गराएको सिलिण्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल, वडा नं ३ का सदस्य दिनेश केसी आफैँ पुग्नुभएको थियो ।

आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौँ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।

क्लबले आइसोलेशन बनाउन भवन दिने

आँबुखैरेनी–३ स्थित अलस्टार क्लबले आफ्नो भवन आइसोलेशन निर्माणका लागि गाउँपालिकालाई दिने भएको छ । कोभिड सङ्क्रमित बढेको र आइसोलेशनका लागि भवन अभाव हुनसक्ने भएपछि क्लब भवन गाउँपालिकालाई दिन तयार भएको हो । क्लबका अध्यक्ष दिनेश केसीले गाउँपालिकाका अध्यक्ष थापालाई उक्त भवन प्रयोग गर्न दिने सहमतिपत्र हस्तान्तरण गर्नुभएको छ । वडासदस्यसमेत रहनुभएका केसीले कोभिड रोकथाम गर्नु सबै सङ्घसंस्थाको कर्तव्य भएकाले क्लबको भवन आइसोलेशनका लागि दिने निर्णय भएको बताउनुभयो ।

उक्त भवनमा पाँच शय्याको आइसोलेशन कक्ष बनाउन सकिनेछ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कोभिड रोकथामका लागि क्लबले पु¥याएको सहयोग उदाहरणीय रहेको बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button