
पोखरा न्यूज । आज देशभरि कोभिड–१९ का कारण २२५ को निधन भएको छ । आज निधन भएका सङ्क्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो ।
आज निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।
आज नौ हजार ४८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पिसिआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ सङ्क्रमित पुष्टि भएको हो ।
आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ सङ्क्रमित छन् । यस्तै सङ्क्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।
यस्तै पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी –बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।
आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०
सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् ।
यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।





