१४ महिनादेखि सुनसान सिनेप्लाजा

हलप्रति दर्शकको मोह नघट्ने सञ्चालक उत्तम द्वाको विश्वास

पोखरा न्यूज सम्वाददाता । कोरोना कहरका कारण विगत १४ महिनादेखि सुनसान बनेको छ पोखरा तेस्रापट्टीमा रहेको सिनेप्लाजा । कुनै समय यो ठाउँ पोखरा आसपासका फिल्म पारखी दर्शकको पहिलो रोजाईमा पथ्र्यो । फिल्म हेर्न पुग्ने दर्शकको कारण सिनेप्लाजा वरिपरी दिनभरीनै मानिसको ठुलो चहलपहल हुने गर्दथ्यो । तर विगत १४ महिनादेखि यो ठाउँमा त्यस्तो चहलपहल देखिदैन । कोरोनाका कहरका कारण हल बन्द हुँदा सुनसान बनेको यो ठाउँ पुनः पहिलाकै अवस्थामा पुग्ने आशा फिल्मप्रेमीले गरेका छन् । किनकि सिनेप्लाजामा पुगेर फिल्म हेर्दाका रमाइला किस्सा दर्शकसँग बाँकी नै रहेका छन् ।

सिनेप्लाजा पोखरा अन्तगर्त ४ वटा फिल्म हल रहेका छन् । विन्ध्यवासिनी, श्रीकृष्ण, बाराही ‘क’ र बाराही ‘ख’ । यी चारवटै हल पुर्ण रुपमा सञ्चालनमा नआएको १४ महिना भइसक्यो । कहिले सञ्चालमा आउने हो भन्ने बारेमा समेत यकिन भन्न सक्ने अवस्था छैन । तर ढिलोचाँडो हल सञ्चालनमा आउनेमा हलसञ्चालक ढुक्क हुनुहुन्छ ।

विन्ध्यवासिनी हल सञ्चालन गर्ने योजना २०४१ सालमा बनेको सिने प्लाजा पोखराका सञ्चालक उत्तम द्धा बताउनुहुन्छ । २०३६ सालबाट बुटबलमा कालिका चलचित्र मन्दिर सञ्चालन गरेको कारण पोखरामा हल खोल्दा दर्शकको साथ पाइने त्यतिबेला उहाँहरुमा विश्वास थियो । पोखरामा हल सञ्चालन गर्नुपर्छ भनेर हौस्याउनेहरु समेत भेटिएपछि उहाँहरु हल सञ्चालन गर्ने निष्र्कषमा पुग्नुभयो । ‘हामीले २०३६ सालबाटा बुटवलमा कालिका चलचित्र मन्दिर सञ्चालन गरेका थियौ, त्यसपछि पोखरामा एउटा बनाउनुपर्छ भन्ने कुरा आयो, हामीलाई समेत महशुस भयो, अनि सुरु ग¥यौ’ उहाँले भन्नुभयो ।

फलस्वरुप २०४३ सालबाट पोखरामा विन्ध्यवासिनि हल सञ्चालनमा आयो । हल सञ्चालनमा आएपछि हलको मुख्य प्राथमिकतामा पथ्र्यो नेपाली फिल्म । यहाँ प्रर्दशन हुने नेपाली फिल्म हेर्न पुग्ने दर्शकको भिडले सञ्चालकहरुमा उत्साह थप्यो । दर्शकको भिडका कारण फिल्म निर्माताको पहिलो रोजाइमा यो हल पर्न सफल बन्यो । फिल्म बन्ने क्रम बढ्दै जाँदा दर्शकको चाप हुँदाहुँदै समेत लामो समय एउटै फिल्म हलमा प्रदर्शन गर्न असम्भव हुन थाल्यो ।

यस हलमा मुख्यगरी नेपाली फिल्म प्रदर्शन हुने भएकोले हिन्दी फिल्म हेर्ने दर्शक आर्कषित बन्न सकेनन् । कहिलेकाँही हिन्दी फिल्म चलाउँदा मानिस झुक्किन थाले । त्यसपछि अर्को हलको आवश्यकता महशुस गरियो । हिन्दी फिल्मनै देखाउने योजनाका साथ श्रीकृष्ण हल २०५१ सालबाट सञ्चालनमा आयो ।

पोखरा न्यूजसँग कुरा गर्दै द्वा भन्नुहुन्छ– ‘त्यो बेला नेपाली सिनेमा एकदमै चल्ने थियो । सिनेमा चलिरहेकै अवस्थामा जहिलेपनि हतार–हतार गरेर फिल्म उतार्न पर्ने अवस्था देखियो । यसरी फिल्म देखाउन खोज्दा निर्माताहरुसँग विवाद उतिकै हुन्थ्यो । किनकी त्यतीबेला सबैलाई नेपाली फिल्म देखाउनको लागि विन्ध्यवासिनी हल नै चाहिन्थ्यो । अर्को कुरा नेपाली फिल्म देखाउदै जाँदा कहिलेकाही हिन्दी फिल्म चलायो भने मानिस झुक्किएर पनि नआउने भयो । अनि दुईवटा हल भए भने दर्शकमा एकरुपता ल्याउन सकिन्छ । दुवै खालका फिल्म एकैसाथ देखाउन पाइन्छ भनेरनै श्रीकृष्ण हल सञ्चालनमा ल्याएका थियौँ ।’

यसरी दुईवटा हल सञ्चालनमा आएपछि नेपाली फिल्म विन्ध्यवासीनी हलमा र हिन्दी फिल्म श्रीकृष्ण हलमा प्रदर्शन गर्न थालियो । एकैठाउँमा विकल्प हुने भएकोले समेत दर्शकलाई यहाँ जाँदा सहज बन्न थाल्यो । हिन्दी फिल्म हेर्ने र नेपाली फिल्म हेर्ने दुवै दर्शकको अत्याधिक माया हलले प्राप्त ग¥यो यसरी दुईवटा हल सञ्चालनमा आएपछि झनै दर्शकको भिड बढ्यो ।

विस्तारै फिल्म बन्ने क्रममा वृद्धि हुनथाल्यो । फेरि दर्शकको भिड हुँदा हुँदै फिल्म हलबाट उतारेर नयाँ फिल्म रिलिज गर्नुपर्ने अवस्था पुनः आउन थाल्योे । कहिलेकाही फिल्म जुधेर रिलिज हुँदा फिल्म रिलिज गर्न समस्या भयो । फेरी अर्को हलको महशुस गरियो । दूईवटा हलको बिचमा जग्गा समेत बाँकी थियो । अनि हिन्दी फिल्म र नेपाली फिल्मको लागि भनेर बाराही क र बाराही ख गरेर दूई हल सञ्चालनमा आए ।

‘विन्ध्यवासीनीमा नेपाली, श्रीकृष्णमा हिन्दी फिल्म बेस्सरी चल्ने भयो । नेपालीमा जस्तै हिन्दीमा पनि हप्ता–हप्तामा फिल्म आउँदा, एउटै हप्ता एक भन्दा बढी फिल्म रिलिज नयाँ फिल्म देखाउन नपाइने भयो । अघिल्लो हप्ता रिलिज भएको तर दर्शक आर्कषित भैरहेको फिल्म उतार्ने कुरा पनि मिलेन । झनै ठुलो समस्या आयो । त्यसपछि विन्ध्यवासिनीलाई एउटा सानो हल, श्रीकृष्णलाई अर्को सानो हल भन्ने कन्सेप्टले बाराही हल सञ्चालमा ल्याएका थियौ’ उहाँले सम्झनुभयोे ।
यसरी एकैठाउँमा ४ वटा हल सञ्चालनमा आएपछि सिनेप्लाजा प्रतिको दर्शकको आर्कषण र फिल्म निर्माताको रोजाई झनै बढेर गयो । यसको प्रत्यक्ष मार पोखराका अन्य हलमा परेको थियो ।

कोरोनाका कारण बन्द अवस्थामा रहेका यी चारवटा हलको कुल सिट क्षमता ३ हजार ४ सय हो । विन्ध्यवासिनि हल र श्रीकृष्ण हलको एक–एक हजार सिट क्षमता हो भने बाराही क र बाराही ख को सात सय–सात सय सिट क्षमता रहेको छ । अहिले सुनसान भएपनि अब के गर्ने भनेर आफुहरुले सोचि नसकेको द्वाले बताउनुभयो ।

‘हामीले केही सोचेका छैनौ, अब चारवटै हल एकै साथ भन्दा एउटा हल चलाउने, त्यो हल चलेपछि अर्को हल, अनि फेरि अर्को गरेर चलाउने भन्ने हो’ उहाँले भन्नुभयो । यस्तो बेलामा योजना बनाउनु बेकार हुने भएकोले पर्ख र हेर कै रणनितिमा आफुहरुको रहेको उहाँको भनाई छ ।

फिल्म हल पुर्ण रुपमा बन्द गर्ने अवस्था भने नआउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । फिल्म प्रतिको माया दर्शाउने दर्शक र फिल्म हलमानै गएर हेर्नुपर्छ भन्ने मान्यता अधिकांशको हुने भएकोले हल प्रति दर्शकको मोह नघट्ने उहाँको बुझाइ छ । टिममा भएका सबैजनाबिच सल्लाह गरेरनै आफुहरुले योजना बनाउने उहाँले खुलाउनुभयो ।

उहाँले यसअघि २०६२–२०६३ को जनआन्दोलमा लगातार १९ दिन र भुकम्पको बेलामा लगातार ६ दिनसम्म हल बन्द भएको बताउँदै लगातार १४ महिना हल बन्द गर्दा पिडा शब्दमा व्यक्त गर्नै नसक्ने बताउनुहुन्छ । फिल्म क्षेत्र भनेको मनारेञ्जनको क्षेत्र भएकोले दर्शकको आर्कषण सदैव रहने उहाँको विश्वास छ ।

‘बन्द हुनु भन्दा अगाडि सम्म समेतराम्रो सिनेमा आउँदा भिडभाड नै हुन्थ्यो’ उहाँले भन्नुभयो । लकडाउन हुनुभन्दा अगाडिसम्म सिनेप्लाजामा मसिक ५० देखि ६० लाख रुपैयाँ सम्मको व्यापार हुने गरेको उहाँले बताउनुभयो । हल बन्द भएपछि हलमा प्रयोग हुने मेसिनहरु जाम भएको छ । मोबिल पनि जम्यो, सामानहरु विग्रीएको छ । चारवटा हलमा गरेर ५२ जना कर्मचारीलाई रोजगारी दिएपनि हल बन्दा भएपछि अहिले एकाउन्टेन्ट र मेसिन चलाउनका लागि अपरेटर गरेर ४ जना कर्मचारीमात्र रहेको बताउनुभयो ।

पहिलो चरणको कोरोना कहर पछि पुनः सञ्चालमा आएका पोखराको मल्टिप्लेक्स हल मिड टाउन सिनेमाज तथा क्यूएफएक्स सिनेमाको फेन्चाइज पोखरा सिनेप्लेक्स भने केही समय खुलेर फेरि कोरोनाको दोस्रो भेरियन्टका कारण जारी भएको निषेधाज्ञाका कारण बन्द भएका छन् । लामाचौरमा रहेको हिमाज सिनेमा हलसमेत अवस्था सामान्य भएपछि दर्शकको माया बटुल्ने आशामा बसेको छ । पोखरा तेर्सापट्टीको कल्पना सिनेमा हल भने कोरोना कहर अगाडिनै बन्द भएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button