नेपाली फिल्मको ‘टेष्ट’ के हो भन्ने स्थापित गर्न जरुरी छः अरुण गिरी

हिजोको भन्दा चलचित्र पत्रकारितामा सुधार भएको छ

पोखरा न्यूज सम्वाददाता । अरुण गिरी चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्ष हुनुहुन्छ । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउंपालिका वडानम्बर २ शिख गाउँमा जन्मनुभएका उहाँ हाल पोखरा महानगरपालिका–८, रत्नचोकमा बस्नुहुन्छ । उहाँ फेशन कोरियोग्राफी, इभेन्ट म्यानेज्मेन्टको अलावा म्युजिक भिडियो, टिभिसी, वृत्तचित्र तथा विभिन्न ‘सो’ निर्देशनमा सक्रिय हुनुहुन्छ । जक्सन डटकमका सम्पादक समेत रहनुभएका गिरीसँग यसपाली नेपाली फिल्म र पोखराको फिल्मी पत्रकारितासँग सम्बन्धित रहेर केही प्रश्न सोधेका छौँ ।

तपाई फिल्म कतिको हेर्नुहुन्छ ?
म धेरै फिल्म हेर्ने मानिसमा पर्छु जस्तो लाग्छ । किनकि म बच्चादेखिनै फिल्म हेरेर मज्जा लिने स्वभावको थिए । उमेर बढ्दै जाँदा फिल्म हेर्ने माध्यम पनि थपिदै गए । त्यसपछि फिल्म झनै हेर्न थाले । हप्तामा लगातार सातै दिन हलमा गएर फिल्म हेरेको रेकर्ड समेत मसँग छ । त्यसैगरी घरमानै ‘ओटिटी प्लेटफर्म’मा हेरेको रेकर्ड छ । सोही कारण म धेरै फिल्म हेर्नेमा पर्छु । विशेषगरी नेपाली फिल्म, साउथ इण्डियन र बलिउडका फिल्म हेरिन्छ ।

तपाईको फिल्म हेर्ने माध्यम के हो ?
पहिला मेरो फिल्म हेर्ने माध्यम हल नै थियो । अहिले मुख्य गरी ओटिटी प्लेटफर्मबाट धेरै हेरिन्छ । टेलिभिजन तथा युट्युब मार्फत समेत उतिकै फिल्म हेर्छु । अहिले लकडाउनका कारण इन्टरनेटनै हाम्रो लागि फिल्म हेर्ने सजिलो माध्यम बनेको छ । हलमा गएर फिल्म हेर्ने अवस्था यतिबेला छैन ।

हलमा र घरमा फिल्म हेर्दाको अनुभूति कस्तो हुन्छ ?
फिल्म हेर्न मज्जा त हलमानै हुन्छ । जसरी हलमा फिल्म हेर्दा मज्जा हुन्छ त्यस्तो घरमा हेर्दा त हुँदैन, कम हुन्छ । तर हामी हलमा त्यहीं फिल्म हेर्ने भनेर गएका हुुन्छौ सोही कारण एकाग्रता धेरै हुन्छ । स्क्रिनमा देखिएका ‘लार्जर देन लाइफ’का सिनहरु तथा सेन्टिमेन्टल सिनमा घुसाएर हेर्न पाइन्छ । हलमा बढी ध्यान दिएर फिल्म हेरिने भएकोले फिल्मको वास्तविक मज्जा लिन पाइन्छ । घरमा हलको जस्तो अवस्था हुँदैन । तर केही फिल्महरु घरमा एक्लै बसेर हेर्दापनि रमाइलो नै लाग्छ । यसमा फिल्मको जनराले पनि असर पार्छ । कुनै फिल्म हलमा हेर्दा पट्यार लाग्ने तर घरमा हेर्दा राम्रो लाग्ने हुन्छ । व्यवसायिक फिल्म हलमा हेर्नुपर्छ । कोरियन लगायतका विदेशी फिल्म हलमा भन्दा घरमा हेर्दा बढी रमाइलो लाग्छ । घरमा फिल्म हेर्दा ध्यान अरुतिर मोडिनसक्छ । हलमा हेर्दाको जस्तो अनुभूति घरमा नभएपनि मलाई फिल्म हेर्न घरमा समेत रमाइलो नै लाग्छ ।

बाल्यकालदेखि हालसम्म फिल्म हेर्दाका रमाइला अनुभव ?
बाल्यकालमा अगाडिको लहरको सिटमा बसेर फिल्म हेर्दा फिल्मको सिनको कारण डराएर रोएको थिए । भुवन केसीले फिल्मको एक सिनमा पेस्तोलले हानेर बोतल फुटाउँदा म रोएको थिए । अहिले सम्झदा हाँसो लाग्छ । सायद मलाई नै हान्यो भन्ने फिल भएको कारण त्यस्तो भएको होला । कलेज पढ्दा धेरै फिल्म हेर्ने गरियो । पृथ्वीनारायण क्याम्पसमा आइएस्सी पढ्ने बेलामा कलेज बंक गरेर हलमा गएर फिल्म हेरिन्थ्यो ।

त्यतिबेला बलिउड मुभी सावरिया हो जस्तो लाग्छ । हामी फिजिक्स पढ्ने साथीहरु भएर कलेज बंक गरेर फिल्म हेर्न गएका थियौ । आइएस्सीकै वायोलोजी पढ्ने साथीहरु समेत कलेज बंक गरेर जानु भएको रहेछ । हामीहरु बाहेक बाहिरी दर्शक कम थिए । त्यो फिल्म हेरेपछि हामी फिजिक्स र वायोलोजी पढ्ने साथीहरुको एउटा गुप्र बनेको थियो जुन गुप्र अहिलेसम्म कायम छ ।

हलमा हेरेको पहिलो फिल्म ?
मैले हेरेको पहिलो फिल्म ‘दूई थोपा आँशु’ थियो । बाबा ममीसँग गएर विन्ध्यवासिनी हलमा हेरेको थिए ।

मनपर्ने फिल्मी कलाकार ?
उमेर अनुसार समेत मनपर्ने कलाकार परिवर्तन हुँदो रहेछ । हिजो राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा, भुवन केसी, शिव श्रेष्ठ, निखिल उप्रेती, गौरी मल्ल मनपर्‍यो । फिल्म अनुसार कलाकार मनपथ्र्यो ।

अहिले फिल्म बुझ्दैजाँदा विपिन कार्की र सुरक्षा पन्त मनपर्छ । उहाँहरुको अभिनय गर्ने क्षमता मनपर्छ । विशेषगरी विपिन कार्कीको फ्याननै हो । उहाँले जुन क्यारेक्टर खोज्नुहुन्छ, बनाउनुहुन्छ, त्यसलाई ‘एडप्ट’ गर्ने खुबीसँगै भर्सस्टायल हुनुहुन्छ । अनि सुरक्षा अहिलेको राइजिङ स्टार हो ।

नेपाली फिल्मको सकारात्मक पक्ष ?
कुनै पनि देशको फिल्मले त्यहाँको माटो बोलेको हुन्छ जस्तो लाग्छ । त्यहाँको कथा, कला, संस्कृति, साहित्य बोल्छ । नेपाली फिल्मको राम्रो पक्ष भनेको नेपाली कल्चर, कला, साहित्य विश्वसामु चिनाउन मद्दत गर्छ । अहिले प्रविधिलाई स्विकार गर्दै अगाडि बढेको छ । गुणस्तर बढ्दै जाँदा अन्तरािष्ट्रय बजारमा प्रतिष्पर्धा गर्न सक्छ भन्ने धारणा आउन थालेको छ । मेकिङ शैली राम्रो हुँदै गएको छ । फिल्म अन्तराष्ट्रिय बजारमा जान सुरु भएको छ । नेपाली समाजमा नेपालको कल्चरलाई लैजान सघाएको छ । सन्देश प्रदान गर्ने, नयाँ कुरा सिकाउने र समाजमा सकारात्मकता फैलाउनु नेपाली फिल्मको सकारात्मक पक्ष हो ।

सुधार गर्नुपर्ने पक्ष ?
सुधार गर्नुपर्ने पक्ष मेकिङ हो । प्रविधिमा सुधार हुँदै गएपनि स्क्रिप्टमा नेपाली फिल्म कमजोर छ । विदेशी फिल्मको नक्कल गर्ने चलन बढी छ । नेपाल भित्रका कथा खोज्नु जरुरी छ । मौलिकता भएका कथा खोज्न आवश्यक छ । व्यवसायिक फिल्म बन्नुपर्छ । नेपाली फिल्मको ‘टेष्ट’ के हो भन्ने स्थापित गर्न जरुरी छ । निर्देशकले समेत स्क्रिप्टलाई न्याय गर्न सक्नुपर्छ । अडियन्स एड्भान्स भएका छन् । प्रविधिको कारण विश्वका सबैखालका मुभीमा उनीहरुको पहुँच छ । यतिकै हावामा फिल्म नबनाई अध्ययन अनुसन्धान गरेर फिल्म निर्माण गर्नुपर्छ ।

फिल्ममा अभिनय गर्ने रहर पलायन ?
अभिनयको रहर नपलाएको भने होइन । अभिनय गर्ने रहर नभएको मानिस हुँदैन, धेरै हुन्छ तर आफुले आफुलाईनै चिन्नुपर्छ । रहर पलाएर म्युजिक भिडियो पनि खेलियो केही सामान्य कथा पनि छन् । रहर पलाएको हो तर त्यसमा स्ट्रगल गर्न सकिएन । पेशा अभिनयसँग ‘कनेक्टेड’ त छ ।

फिल्मी पत्रकारिताको सुरुवात कसरी गर्नुभयो ?
कलेज पढेपछि फेसन कोरोयोग्राफी गर्थे । प्याजेन्टमा भाग पनि लिएको थिए । त्यतिबेला अनलाइन मिडियाको अहिलेको जस्तो न्युज पोर्टल थिएन । त्यतीबेला जक्सन डट कम इन्टरटेन्मेन्ट पोर्टल थियो । यो सहित केही यस्तै साइट ग्लामर्स क्षेत्रमा अगाडि बढिरहेका थिए । यसैक्रममा भुपाल गुरुङसँग भेट भयो । साथी भयौ । त्यसपछि जक्सनमा आवद्ध भएर काम गर्न थाले । पछि जक्सनलाई न्युज पोर्टल बनाउनुपर्छ भन्ने हिसाबले अगाडि बढ्यो । जक्सनको लागि केहि कन्टेन लेख्ने, फोटो खिच्ने गर्न थाले । भिडियो खिच्ने अन्तवार्ता लिने गर्न थालियो । त्यसपछि अहिलेसम्म जक्सनमानै छु । यहीं काम गर्दा चलचित्र पत्रकार संघ कास्कीको सदस्यता लिने मौका मिल्यो । पछि कायसमिति सदस्य भए । अहिले नेतृत्वको जिम्मेवारीमा छु ।

चलचित्र पत्रकार संघ कास्कीलाई कसरी अगाडि बढाउदै हुनुहुन्छ ?
जक्सन डटकमपछि कुनै संस्थालाई सिरियस रुपमा लिएको छु भने चलचित्र पत्रकार संघ कास्की हो । म समय दिन सक्दिनकी भनेर जुनसुकै संस्थामा एशोसिएट हुन खोज्दिन । रुचिको विषय भएर होला । यो संस्थासँग अलि बढी नजिकिए । अहिले समय दिनसक्छु भनेर सिरियस रुपमा लागेको छु । पहिलो कस्तो थियो संस्था भन्दा पनि आफ्नो कार्यकालमा यसलाई स्थापित गरौ भनेर लागेको छुँ । विभिन्न काम गरेर संस्थालाई स्थापित गरियो भने भोलीका दिनमा चलचित्र पत्रकारिताप्रति आर्कषण बढ्न सक्छ । हामीले गर्ने कामले यसको आर्कषण बढाउनेछ । वर्कसप तथा क्रियटिभ इभेन्टले यसको लागि मद्दत गर्छ ।

हुनत पोखराको सिनारियोमा विट पत्रकारिता छैन । हिजोको दिनमा पत्रिकामा खासै स्पेस मिल्थेन । टेलिभिजनमा पनि त्यस्तै थियो । पछिल्लो क्रममा अनलाइन आइसकेपछि सजिलो भएको छ । यो विटमा काम गर्नेलाई पत्रकार नमान्ने चलन समेत थियो । अहिले त्यस्तो अवस्था त छैन । तर अझै स्थापित गराउनुपर्ने खाँचो छ । सोही कारण अरु संस्था भन्दा उदारणीय बन्ने योजना हामो छ । नयाँसाथीलाई आर्कषित गर्न र भइरहेका साथीको उर्र्जा थप्न विभिन्न रचनात्मक कार्यक्रम गर्नेछौँ । कोेरोनाको कहरको कारण केही समस्या त परेको छ । असहजतामा सहजता खोज्ने प्रयासका साथ केही कार्यक्रम गर्‍यौ । केही कार्यक्रम गर्ने तयारी छ ।

संघ कास्कीमा कति सदस्य आवद्ध छन् ?
अहिले ५५ भन्दा बढी सदस्य आवद्ध छन् । यतिबेला सदस्यको अद्यावधिक गर्ने काम भइरहेको छ । नयाँ विधान आइसकेपछि हामीले सदस्यता अद्यावधिक गर्दैछौँ । यो अद्यावधिक पछि सबै वास्तविकता बाहिर ल्याउनेछौँ ।

चलचित्र पत्रकारितामा कस्तो चुनौती छ ?
चुनौती भनेर त्यस्तो छैन । पढ्नुपर्‍यो, सिक्नुपर्‍यो पत्रकारिताको आचासंहितालाई ध्यान दिनुपर्‍यो सजिलै छ । किनकि चलचित्र पत्रकारितामा अवसरहरु धेरै छन् । फिल्मी पत्रकारिता गरेर चर्चामा आउन सक्ने स्थापित हुनसक्ने अवस्था अहिले छ । मेहनत गर्दा अवसर धेरै छन् । सामान्य चुनौती त सबै क्षेत्रमा हुन्छ । यो क्षेत्रमा नहुने कुरा भएन ।

सन्तुष्ट हुने अवस्था छ कि छैन ?
हिजोको भन्दा चलचित्र पत्रकारिता धेरै माथि आइपुगेको छ । प्रविधिको कारण दायरा फराकिलो बनेको छ । कन्टेनमा विधिता आउन थालेको छ । यति हुँदाहुदै पनि पुरै सन्तुष्ट हुने अवस्था भने होइन । सिक्नुपर्ने धेरै छ ।

फिल्ममा पोखराको अवस्था पहिला र अहिले कस्तो पाउनुहुन्छ ?
मेकिङको हिसाबले निर्माता पहिलाको भन्दा पोखराबाट अहिले कम हो कि जस्तो भएको छ । अभिनेता, निर्देशकको हिसाबले पोखराको अवस्था राम्रो नै छ । माओत्से गुरुङ, प्रकाश घिमिरे जस्ता कलाकार निरन्तर लागिरहनुभएको छ । अब निर्माताहरुपनि थप आउनुपर्छ । अर्को कुरा पोखरामा बसेर नेपाली फिल्ममा स्ट्रगल हुँदैन भन्ने हिसाबले धेरै काठमाण्डौबाटै अगाडि बढ्न खोज्नहुन्छ ।

पोखराको उपस्थित विना नेपाली फिल्म पुरा हुँदैन भन्ने मान्यता हिजोदेखि कै हो । अहिले पनि कायम छ । सिनेमामा पोखरा तथा यस आसपासको दृश्यको उपस्थिति राम्रो छ । जसले पोखरालाई प्रचार गरेको छ । तर, विगतको तुलनामा अहिले छायाकंन भने पोखरामा कम हुन थालेको छ । छायाकंन गर्न नयाँ ठाउँ खोजी हुन थालेकोले होला । जे होस् पोखराले फिल्म क्षेत्रमा बेग्लै पहिचान बनाएको छ ।

अन्तमा के भन्नुहुन्छ ?
अब नेपाली फिल्म उद्योगको विकास हुुनुपर्छ । मेकिङ शैली स्तरीय हुनुपर्छ । केही राम्रो फिल्म बनेका छन् । टलकजंङ भर्सेस टुल्के, पशुपतिप्रसाद, झोला, लुट, कपर्दी, फिल्म मलाई मन परेका फिल्म हुन् । तर नेपाली फिल्ममा व्यवसायिक निर्माताको खाँचो छ । रहरले लहैलहैमा लागेर हुँदैन व्यवसायिक रुपमा सफल हुने रणनीतिका साथ निर्माता आउनुपर्छ ।

अन्त्यमा पोखरामा जति जनाले चलचित्र पत्रकारिता गर्दे आउनुभएको छ उहाँहरु सबैलाई निरन्तरता दिनको लागि आग्रह गर्दर्छौ । नयाँ साथीहरुलाई यो क्षेत्रमा स्वागत गर्छौ । सबै चलचित्र पत्रकारको साथमा हामी रहनेछौ । चलचित्र पत्रकारको लागि हामी केही कार्यक्रमको तयारीमा समेत छौँ । शुभहोस् । जयहोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button