पोखरामा निषेधाज्ञामा थप कडाइ, साइकलमा र पैदल हिड्ने ५०० जना नियन्त्रणमा

बिहानै २ सय सवारीसाधन नियन्त्रणमा

पोखरा न्यूज । कास्की जिल्लामा आज बिहान ५ बजेदेखि लागू हुने गरी आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । स्थिति भयावह हुन् नदिन भन्दै यस अघि वैशाख भर लागु गरिएको निषेधाज्ञाको समयावधि सकिनासाथ लागू हुने गरी थप एक साताका लागी कडा निषेधाज्ञा जारी गरिएको हो ।

कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना भरसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि पुनः एक साता थप गरिएको हो । आजबाट थप गरिएको निषेधाज्ञामा प्रशासनले कडाइ गरेको छ ।  पोखरासहित जिल्लामा अनावश्यक हिडडुलमा समेत कडाइ गरिएको छ । बिना काम हिड्ने तथा कार्यस्थलमा जानका लागि हिड्ने मजदुरहरूलाई समेत रोक लगाइएको छ ।

साइकल यात्रीलाई रोक्दै प्रहरी

कास्की प्रशासनले आजदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने भनी आदेश जारी गरेकाले कार्यस्थलमा जानका लागि भनेर हिँड्ने व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

पैदल यात्रीलाई होल्ड गराउने स्थानमा पठाउदै प्रहरी

उनीहरूलाई आज पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाइएको उहाँले जानकारी दिनुभयो । त्यसबाहेक अनावश्यक हिडडुल गर्ने पैदल यात्री तथा साइकल यात्रीलाई होल्ड गराएर चेतावनी दिएर पठाइएको उहाँले बताउनुभयो ।

आज बिहान ९ बजे सम्म अनावश्यक हिडडुल गर्ने झन्डै पाँच सय  जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । “आज बिहान ५ बजेदेखि ९ बजे सम्म ४९५ पैदल यात्री र साइकल यात्रीलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले भन्नुभयो “नियन्त्रणमा लिएकाहरूलाई २ घण्टा होल्ड गराएर सचेत गराउने र अटेर गर्नेलाई चेतावनी दिएर पठाएका छौँ ।”

सवारीसाधनको पास चेक गर्दै प्रहरी

प्रशासनले जारी गरेको आदेशको उल्लङ्घन गरी सञ्चालन भएका १९७ सवारीसाधनलाई पोखराका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरी प्रमुख, श्रेष्ठले बताउनुभयो । “हामीले आज बिहानै देखि आदेशको बरखिलाफमा सञ्चालन भएका ४४  वटा चार पाङ्ग्रे सवारीसाधन र १५३ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएका छौँ , उहाँहरूलाई दिनभर होल्ड गराएर आदेशको कार्यान्वयन गर्ने सर्तमा छाड्छौँ”, उहाँले भन्नुभयो ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएको अवस्थामा त्यसको जोखिमलाई कम गराउन प्रशासनले जारी गरेको आदेशलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनका लागी कास्की प्रहरी कटिबद्ध भएर लागिपरेको एसपी श्रेष्ठले बताउनुभयो । “ हामीले कास्कीका विभिन्न १९ ठाउँमा चेक पोइन्ट स्थापना गरी चेक जाँचमा कडाइ गरेका छौँ, उहाँले भन्नुभयो “ जिल्लामा पैदल गस्ती, मोबाइल गस्ती सहित ६४२ प्रहरी कर्मचारीलाई विभिन्न तवरबाट खटाएका छौँ । “ एसपी श्रेष्ठले कास्की प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै अटेर गरेमा नियम अनुसार कडा कारबाही हुने चेतावनी दिनुभयो ।

भित्रि बाटाहरुमा चेकजाँच गर्दै प्रहरी

जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्मको समय तोकेको छ । उक्त समयमा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) खुला हुने छन् भने खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्ने तर सोको लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन । फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं सङ्कलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । सार्वजनिक एवम् निजी सवारी साधन जेठ ७ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

सुनसान सिर्जनाचोक

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ । सरकारी प्राथमिकताप्राप्त आयोजनाका निर्माण सामग्री बोक्ने गाडी बेलुका ८ देखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

विवाह, व्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने तथा सवारीसाधनमा ५ जना मात्र सवार हुन र एक मात्र सवारी प्रयोग गर्न आदेशमा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखा मात्र निक्षेप १ लाखभन्दा बढी, चेक भुक्तानी, क्लीअरिङ र विप्रेषण सेवा मात्र बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने तथा त्यहाँ कार्यरत कर्मचारीहरू परिचय पत्र र कार्यालय पोसाक आधारमा बिहान १० देखि ११ र दिउँसो २ देखि साढे ३ सम्म आवतजावत गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button