अस्पतालमा आइसीयू शय्या खाली नहुँदा उपचार गराइरहेका युवाको ज्यान गयाे

मृतकका बुबाआमासहित परिवारका अन्य पाँच जना पनि सङ्क्रमित

पोखरा न्यूज । कोरोना सङ्क्रमित एक युवाको उपचारका क्रममा त्रिशूली अस्पताल नुवाकोटमा आज बिहान मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै शनिबार बिहान ४ बजे भर्ना भएका किस्पाङ गाउँपालिका–५ अर्चलेका ३३ वर्षका युवाको निधन भएको हो । अस्पतालको आइसोलेशन कक्षमा उपचाररत उनको अवस्था गम्भीर हुँदै गए पनि अस्पतालमा रहेको आइसीयू शय्या खाली नहुँदा बचाउन नसकिएको अस्पतालका प्रमुख डा दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार त्रिशूली अस्पतलामा कोरोना सङ्क्रमित बिरामीको चाप बढेसँगै शय्याको अभाव देखिएको छ । अस्पतालमा रहेको छ शय्याको आइसीयू, चार शय्याको एचडीयूसहित तीनवटा भेन्टिलेटरमा बिरामी भर्ना गरिएको कारण शय्या पाउन समस्या छ ।

ज्यान गुमाएका युवाको बुबाआमासहित परिवारका अन्य पाँच जनालाई पनि कोरोना सङ्क्रमित भएर स्वास्थ्यकर्मीको निगरानीमा राखिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो । यस अस्पतालमा आजको यस घटनासहित पछिल्लो चार दिनमा दैनिक एक जना सङ्क्रमितले ज्यान गुमाउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button