१३ भूमिहीनले पाए लालपुर्जा, घर बनाउनका लागि रु ३ लाख

पोखरा न्यूज । १३ भूमिहीन भूकम्पपीडित तनहुँमा लाजपुर्जाका मालिक बनेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ तनहुँले भूमिहीन लाभग्राहीलाई आवास निर्माणका लागि जग्गा उपलब्ध गराएपछि लालपुर्जा पाएका हुन् । विगत लामो समयदेखि भूमिहीन लाभग्राहीले पुर्जा पाएपछि खुशी भएका छन् ।

प्राधिकरणले भूमिहीन तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित हुन चाहने भूकम्पपीडितलाई घडेरी खरीद गर्न रु दुई लाख उपलब्ध गराउने प्रावधानअनुरुप उपलब्ध गराएको थियो । लालपुर्जा खरीद गर्न रकम पाउने प्रावधानअनुसार जग्गा खरीद गरेर १३ जनालाई हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइका कम्प्युटर अपरेटर सुजन तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार लालपुर्जा प्राप्त भइसकेपछि आवास अनुदानका लागि रु तीन लाख पाउनेछन् ।

प्राधिकरणबाट जग्गा खरीदका लागि थप रकम रु दुई लाख लिएका लाभग्राहीले १० वर्षसम्म जमीन तथा घरलाई बिक्री गर्न नपाउने व्यवस्था रहेको सो कार्यालयले जनाएको छ । आफ्नो नाउँमा लालपुर्जा लिने सपना पूरा भएकामा निकै खुशी लागेको बन्दीपुर गाउँपालिका–६ धरमपानी निवासी आइतमाया भुजेल र दलमाया भुजेलले जानकारी दिनुभयो ।

५८ लाभग्राहीलाई रु ५० हजार दिइने

त्यसैगरी जिल्लामा जोखिम वर्गका ५८ लाभग्राहीलाई थप रु ५० हजार प्रदान गरिने भएको छ । भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधिअनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिक, ६५ वर्ष नाघेका अशक्त एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा १६ वर्षमुनिका नाबालिगलाई जोखिम वर्गका लाभग्राहीका रुपमा लिने गरिएको छ ।

जोखिम वर्गका रुपमा ५८ जना छनोट गरिएका र थप १५ जनाको सूचीकृत हुने क्रममा रहेको एकाइका कार्यालय प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिनुभयो । जोखिम वर्गकाले आवास अनुदानका लागि रु तीन लाखका अतिरिक्त थप रु ५० हजार गरी कूल रु तीन लाख ५० हजार अनुदान पाउने व्यवस्था रहेको गुप्ताले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button