पत्रकार बस्नेतको संक्रमणका कारण निधन

पोखरा न्यूज । ३२ वर्षीय पत्रकार लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण आज निधन भएकाे छ । कोरोना संक्रमण पुष्टि भएपछि तीन हप्तादेखि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज दिउँसो उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।

दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ ।

नेपाल पत्रकार महासंघले स्वर्गीय पत्रकार बस्नेतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेकाे छ । महासंघका महासचिव रोसन पुरीले शाेकविज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्नुभएकाे छ ।

महासंघका अनुसार कोरोनाकै कारण हालसम्म १४ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल समेत गरेकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button