केवल शब्द थुपारेर मात्र साहित्य सिर्जना हुँदैनः सूर्य खड्का बिखर्ची

  • पोखरा न्यूज
  • २०७८ जेष्ठ ४
केवल शब्द थुपारेर मात्र साहित्य सिर्जना हुँदैनः सूर्य खड्का बिखर्ची

पोखरा न्यूज सम्वाददाता । कास्की जिल्लाको रुपाकोटमा जन्मनुभएका सूर्यबहादुर खड्काको साहित्यिक नाम ‘बिखर्ची’ हो । उहाँ गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपति हुनुहन्छ । २०२५ सालबाट साहित्यिक यात्रा सुरु गर्नुभएका उहाँले हालसम्म खण्डकाव्य गीत, कविता, नाटक, समालोचना, आात्मकथा विभिन्न ५३ वटा कृति प्रकाशित गरिसक्नुभएको छ । उहाँको पहिलो प्रकाशित रचना भानुभक्तप्रति कविता हो । जुन कविता २०३२ सालमा प्रकाशित भएको थियो ।

नेपाली साहित्यमा स्नाकोत्तर गर्नुभएका बिखर्चीले प्राध्यापन क्षेत्रमा समेत आफ्नो बेग्लै पहिचान बनाउनुभएको छ । शैक्षिक, साहित्यिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील उहाँले थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको पहिलो कुलपति बन्न सफल बिखर्चीसँग साहित्यिक यात्राको बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईको साहित्यक यात्रा कसरी सुरु भयो ?
खासगरी कास्की रुपाकोटको प्राकृतिक रमणियता खोलानाला, डाँडाकाँडा, लहर पहरा, गाउँवेसी, देउराली, चौतारी, भञ्ज्याङ, रुपा, फेवा, वेगनास, गुँदे, खास्टे, मैदी, दिपाङ लगायतका तालतलैयाको साथै माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी हिमालका मनमोहक दृश्यले मलाई साहित्य क्षेत्रमा अगाडि बढ्न हौसायो । यसका अलावा रोधी घर, हाटबजारमा ठाडो भाका गाउने पिता मान बहादुर खड्काको प्रेरणा, घैया, धान, मकै, कोदो गोड्दा र तीज तथा रत्यौलीमा गीत गाउने नाच्ने गर्नुहुने मेरी आमा कृष्णमाया खड्काको प्रेरणाबाट म अगाडि बढे ।

मेरो बुबाले गीत गाएर सौतेनी आमा ल्याएको हुनाले मेरो आमालाई दुःख दिनुभयो । आमाको दुःख देखेर नै मैले यो क्षेत्रमा अगाडि बढ्न कस्सिए । आमाले भोग्नुभएका तीनै पिडालाई साहित्य कृति मार्फत पस्किए । गाउँघरमा पुजाआजा तथा चाडपर्व गाउने भजन चुड्का, अग्रज साहित्यकारको लेख, रचना गीत, कविताका कारण यात्रा गर्न थप हौसला मिल्यो

खासगरी २०२५ सालमा मेरा छिमेकी दाजु पर्नेको विवाहको दिनमा बाजामा म आफैले गीत गाउँदै नाचेको अवस्थामा चार पैसे ढ्याक पुरस्कार पाएको थिए । त्यो चार पैसा ढ्याकको प्रेरणा र प्रोत्साहनले मलाई उर्जा थप्यो । २०२५ सालदेखि यो क्षेत्रमा लागे । मेरो कविता २०३२ सालमा प्रकाशित भयो भने किताब २०३७ सालदेखि प्रकाशित भए ।

साहित्यको कुन विधा मनपर्छ ?
साहित्यकारको नाताले मलाई सबै विधाहरुने मनपर्छ । तरपनि तोकेर भन्दा मलाई कविता विधानै बढी खास लाग्छ ।

तपाई गण्डकी प्रज्ञा प्रष्ठिानको अध्यक्ष बन्नुभयो, अबका योजना के छन् ?
नेपालमै प्रदेशमा स्थापित पहिलो गण्डकी प्रज्ञा प्रतिष्ठान भएको छ । यसको सुरुवातमानै हामीले कार्यालय र कर्मचारीको व्यवस्थापन गर्नेछौ । यस प्रदेशका भाषा साहित्य, लोक साहित्य, संस्कृति, ललितकला, नाट्य तथा संगीतको संरक्षण र सर्वद्धन गर्ने योजना छ । यस प्रदेशमा मनाङ, मुस्ताङ, बागलुङ, पर्वत, म्याग्दि, कास्की, तनहुँ, गोरखा, स्याङजा, लमजुङ, नवलपुर गरी ११ वटा जिल्ला पर्छन् । ती सबै जिल्लाका नयाँ पुराना श्रष्टाहरुलाई समुचित सम्मान गर्दै अगाडि बढ्ने मेरो लक्ष्य छ ।

योसँगै प्राविधिक पुस्तकालय स्थापना गर्ने, लोक उन्मुख भाषा कला तथा संस्कृतिको जगर्ना गर्ने, साहित्यक अवलोकन भ्रमण गर्ने, गोष्ठी सम्मेलन गर्ने, बहुभाषिक कवि गोष्ठी गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिक उत्सव मनाउने र कविता प्रतियोगीता राख्ने लक्ष्य बनाएका छौँ ।

विभिन्न साहित्यकारको स्मृतिमा ठाउँठाउँमा पुस्तकालय वाचनालय स्थापना गर्ने, गण्डकीका श्रष्टा परिचय प्रकाशित गर्ने, ललितकला र नाट्यकला संगीत क्षेत्रको उत्थानको लागि छुट्टै विभाग गठन गर्ने तयारी हाम्रो छ । गण्डकी प्रतिभा उपचार कोष स्थापना गर्ने, गण्डकी प्रतिभा पुरस्कार प्रदान गर्ने, अग्रज साहित्यकारलाई प्रतिष्ठानको मानार्थ तथा आजिवन सदस्यता प्रदान गने, प्रदेश भित्रका साहित्यिक, सांस्कृतिक, ललितकला तथा नाट्य संगीत सम्बन्धी संघसंस्थासँग हातेमालो गरी पोखरामा एउटा साहित्यिक सिर्जनाग्राम निर्माण गर्ने मेरो तत्कालिन लक्ष्य हो । यसका अलावा विज्ञ, प्राज्ञ र पदाधिकारीहरुको सरसल्लाह तथा गण्डकी प्रदेश सरकारको निर्देशनमा रही काम गर्ने योजना छ ।

बाल्यकालमा आफ्ना इच्छा कसरी पुरा गर्नुहुन्थ्यो ?
बाल्यकालदेखि नै मानिसहरु मलाई अलि बढी महत्वकांक्षी छ भन्थे । हुनत मेरो बाल्यकाल सर्घषमय रह्यो । सुरुका दिनमा पिताजीले आमालाई ज्यादै दुःख दिनुभयो । पिताजीलाई भन्दा बढी आमालाई मैले माया गर्नुको कारण पिताजीले आमालाई हेला गरेको कारण थियो । आमाले मलाई आफ्नो मुटुकै टुक्रा ठान्नुहुन्थ्यो । पिताजीले मलाई लाहुरे बनाउन खोज्नुहुन्थ्यो । गाउँमा लाहुरेको समाज थियो । तर आमाले मलाई लाहुरे बनाउन चाहनुहुन्थेन । आमाले मलाई शिक्षक बनाउछु भन्नुहुन्थ्यो । लाहुरे भन्दा शिक्षक ठूलो हो भन्ने उहाँ सोच्नुहुन्थ्यो ।

हुनत म नियमित विद्यालय जाने विद्यार्थी होइन । हप्ताको एकदिन शुक्रबार मात्र विद्यालय जान्थे । शिशुकक्षाबाट एकमा गए । दुई कक्षाको किताब खरर भनिदिएको हुनाले सरले दुईमा नलगि तीन कक्षामा सार्नुभयो । तीनकक्षामा हुँदा मैले अग्रेजीको पाठ खरर भनिदिएको हुनाले पाँच कक्षामा फड्किए । यसरी फड्कीदा पछि मलाइ नै घाटा भयो । प्राथमिक लेभलमा प्रथम भएको म ६ कक्षाबाट पास मात्र भए । सधै स्कुल नजाने भएको हुनाले प्राइभेट जस्तै भयो एसएसली सम्मनै । हप्ताको एकदिन शुक्रबार मात्र पढ्न जान्थे । प्रवेशिका परिक्षामा पनि पहिलो वर्ष असफल भए । दोस्रो वर्ष खुट्टा भाँचिएर सामेल भइन ।

तेस्रो वर्ष बल्ल मैले एसएलसी पास गरेको हुँ । १० कक्षा सम्म छात्रवृत्ति भने पाइरहे । किनभने मैले गाइवस्तु हेरेर पनि हप्तामा एकदिन स्कुलजाँदा कविता गीत गाएर, कथा भनेर सबैलाई खुशी बनाउथे । मलाई गुरुहरुले एकदमै माया गर्नुहुन्थ्यो । वादविवाद तथाकथा प्रतियोगीतामा पहिलो दोस्रो भइरहे । पढाइमा भने त्यती राम्रो हुन सकेन । पिताजीले पढाइमा खर्च गर्न डराउनुभयो । सोही कारण मेरो पढाइमा उत्कृष्टता र बाल प्रतिभा अपेक्षाकृत प्रस्फुटन हुन सकेन । तर अन्यायको विरुद्ध लड्न पिताजीले सिकाउनुभयो । किनभने पिताजीले आमालाई हेला गरिसकेपछि मैले पनि पिताजीसँग र्सघष गरे । अलि ठूलो भएपछि उहाँले यो कुरा महशुस गर्नुभयो । मातापितालाई दोष दिनु भन्दापनि त्यो बेलाको परिवेशमा मैले आमाबाट पढ्नुपर्छ भन्ने प्रेरणा पाए भने पिताजीबाट लाहुरे हुनुपर्छ भन्ने प्रेरणा पाए ।

तपाईलाई मनपर्ने साहित्यकार ?
सरल, सहज कविता भन्ने कवि मनपराउँछु । मलाई साह्रै मनपर्ने माधव प्रसाद घिमिरे, धर्मराज थापा, भानुभक्त आचार्य, लेखनाथ पौडेल, भुपि शेरचन, लक्ष्मीप्रसाद देवकोटा, अलिमिया हुनुहुन्छ । यसका अलावा अरु धेरै साहित्यकारपनि राम्रो लाग्छ । नाम लिदाँ छुट्न सक्नुहुन्छ ।

साहित्य क्षेत्रमा लागेर जीवन धान्न सकिन्छ ?
केही अपवाद बाहेक साहित्य क्षेत्रमा लागेर आफ्नो जीवन धान्न सकेको देखिदैन । त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ । कुनैपनि राष्ट्रिय प्रतिभालाई जीवीत छदै सम्मान गर्नुपर्छ । जीवीत छदा दुःख दिने पछि गोहीका आँशु खसाल्ने गर्ने गरेको देखिन्छ । यो राम्रो होइन ।

साहित्यकारले. आफ्नो लेखनलाई स्तरीय बनाउनु भयो भने अब जीवन धान्न सम्भव हुँदै गएको भने छ । हुनत हाम्रो भाषा संसारमा अलिकति पछाडि परेको हुनाले विश्वको नोवेल पुरस्कार पाउने खालका साहित्यकारहरुपनि ओझेलमा पर्नुभएको छ । माधवप्रसाद घिमिरेका कृतिले किन संसारको सबैभन्दा ठूलो नोवेल पुरस्कार पाउनुभएन भन्दा हाम्रो भाषा त्यति विकसित नभएको कारण हो । सर्वप्रथम हामीले आफ्नो भाषालाई माया गर्नुपर्छ । सधै आयातित शब्दको प्रयोग गर्ने हो भने हाम्रो भाषाको अस्तित्व मेटिने खतरा छ । यदी हामीले हाम्रो भाषालाई राम्रोसँग संरक्षण गर्ने हो भने हाम्रा साहित्यकारले लेखनबाट आफ्नो जीवनयापन गर्न सक्छन् । नोपली साहित्य क्षेत्रमा लाग्नेको लागि ठुला– ठुला राशीका पुरस्कार सम्मान दिन थालिएको छ । राज्यले पनि केही सम्मान तथा सुविधा दिन सुरुवात गरेको छ । तर पुरै सन्तुष्ट हुन सक्ने अवस्था भने होइन । अहिल्यै नै साहित्य लेखनबाट सबैले ज्यान पाल्न सक्छन् भन्न म सक्दिन तर साहित्य लेखनबाट जीवन धान्ने साहित्यकारहरु देखिन थालेका छन् । यो सुखद पक्ष हो ।

तपाईले देखेको सपना ?
सपना विनाको मानिस त्यति जीउँदो जस्तो लाग्दैन । सपना देख्नुपर्छ । त्यो सपना कार्यान्वयन गर्नको लागि उसले आफू इमान्दार बन्नुपर्छ । देश र जनताको सुन्दर भविष्य बनाउने कल्पना नगरी साहित्य सिर्जनाहरु राम्रो हुन सक्दैन । साहित्यको क्षेत्रमा केही गर्ने मेरो सपना हो । जे लेख्यो त्यो साहित्य हुँदैन, साहित्य हुन रचना सुन्दर हुनुपर्छ । साहित्यले खाली निरासावादी भन्दा आशाको सञ्चार जागृत गराउनुपर्छ ।

नेपाली साहित्य क्षेत्रको सकारात्मक पक्ष ?
नेपाली साहित्यको अगाडि बढ्न सजिलो छ । पहिला गाह्रो थियो । २०३२ सालमा मैले एउटा उपन्यास लेखे । त्यो बेला कृति सेन्सर गर्नुपथ्यो । उपन्यास लिएर अञ्चलाधिश कहाँ सेन्सर गर्न जाँदा धेरै लाइन काटिए । सोही कारण किताब छपाउन सकिन । २०३७ सालतिर मुर्दावाद कविता लेखेको थिए। मुर्दावाद किन लेखिस् भनेर रातो लगाए । सेन्सर हुन सकेन । किनकि पञ्चायतकालमा स्वतन्त्र रुपले अभिव्यक्त गर्न पाइने थिएन । प्रजातन्त्र लोकतन्त्र आइसकेपछि अहिलेका दिनमा हामीले पुर्ण रुपमा लेख्न सक्छौ । यो सकारात्मक पक्ष हो । अहिले हामी निर्धक्का साथ आफ्नो साहित्यिक रचना तयार पार्न सक्छौँ । खासमा नेपाली साहित्यको सकारात्मक पक्ष भनेको मौलीकपना हो ।

नेपाली साहित्य क्षेत्रमा सुधार गर्नपर्ने पक्ष ?
केवल शब्द थुपारेर मात्र साहित्य सिर्जना हुँदैन । भाषामा ध्यान दिनुपर्छ । अध्ययन अभ्यासले मात्र निखारता थप्छ । साहित्य क्षेत्रमा अगाडि बढ्न खोज्नेले यो कुरा बुझ्नुपर्छ । अध्ययन, अभ्यास र साधना धेरै गर्नुपर्छ । गहन अध्ययन, निरन्तरको अभ्यास र साधनाले बल्ल खारिएको साहित्यकार बन्न सघाउँछ ।

आफूमा निखारता कसरी थप्दै आउनुभएको छ ?
आफ्नै प्रशंसा गरेर म हलुका बन्न चाहन्न । धेरै किताब पढ्ने मध्येमा म पनि औलामा गन्नेमा पढ्छु । अध्ययन तथा अध्यापनले नै निखारता थपेको हुँ । निरन्रतको अभ्यासले मेरो कलम माझिदै गएको छ । हालसम्म ५३ वाट कृती प्रकाशन गरे । लेख्ने वित्तिकै अहिले छाप्दीन । २, ४ वटा किताब छपाउन निकै मेहनत गरेको छु ।

म नेपाल प्रज्ञा प्रतिष्ठान पुग्दा समेत तहाँ भेटिने हरेकलाई एउटा किताब कोसेली स्वरुप दिन्छु । अरुले नपढी तपाइसँग कति गुँदी छ भनेर थाहा हुँदैन । अध्ययनले नै समाजलाई सभ्य बनाउँछ । सबैले अरुको सिर्जनालाई सम्मान गर्नुपर्छ ।

नामको पछाडि बिखर्ची राख्नुको कारण ?
नेपालमा सानो किताब छाप्न पनि २,३ महिना लाउने भएको कारण म २०४१ सालमा भारतको वनारसमा किताब छपाउन गएको थिए । त्यहाँ कस्तो हुने रहेछ भने रिक्सावालाले ठग्दा रहेछन् । नदीपुरबाट महेन्द्रपुल लैजाउन भन्यो भने फेवाताल घुमाएर ल्याउने खालको । २ रुपैया पर्ने बाटोलाई मैले १२ रुप्रयाँ तिनुपर्ने भयो । यसरी भारतमा १०, १२ दिन बस्दा मेरो पैसा सकियो । किताब छापेर त ल्याए । पछि लगेजको पनि पैसा चाहिन्छ भन्यो । सुनौलीमा आउँदा ४० रुपैयाँ मात्र थियो । कर तिर्नुप¥यो । पोखरा आउने बस त भेटाए । तर गोजीमा पैसा थिएन । एउटा जुक्ति लगाए । अनि कविता लेखे । लेखेको कविता बसमा गएर वाचन गरे । कवितामा आफूसँग पैसा नभएर बिखर्ची भएको उल्लेख गरेको थिए । बसमा पढेपछि मसँग भएका केही किताब विक्री भए । पोखराको भाडा तिर्नसक्ने भए । कन्डक्टरले भाडा पर्दैन भनेपनि मैले पैसा दिए । तर बाटोमा उनीहरुले स्टाफ जसरी नै मासु भात खुवाएर ल्याएका थिए । त्यसपछि बिखर्ची भन्न थालेको हुँ ।

अर्को कुरा २०४२ सालमा चुनाव लडेको थिए । चुनाव लड्नेबेलामा सूर्य बहादुर खड्का बिखर्ची भन्नुभन्दा सूर्य बिखर्ची भनेर सानो लोगो बनाए । त्यो लोगो लगाएर काठमाण्डाबाट पोखराकोलागि बस चढ्दा कन्डक्टरले गलत्याएर निकालेको थियो । पछि पैसा तिर्छु यो त लकेट मात्र हो भनेपछि चढ्न दियो । त्यसपछि मेरो बिखर्ची भन्ने परिचय रह्यो । म बनारसमा नगएको भए किताब नछापेको भए बिखर्ची बन्ने थिइन । साहित्यिक यात्रा गर्दा नै बिखर्ची बनेको हुनाले मैले साहित्यक उपनाम बिखर्ची राखेको हुँ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस