
पोखरा न्यूज सम्वाददाता । कलाकार तथा निर्देशक माओत्से गुरुङ यतिबेला पुरै समय पोखरामा रहेको आफ्नो घरमा बिताउनुहुन्छ । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको महामारीका कारण भएको निषेधाज्ञाका कारण उहाँ घरभित्र खुम्चिएर बस्न बाध्य हुनुभएको छ । यसरी घरमा बस्दाखेरि उहाँले आफुलाई शारिरिक रुपमा तन्दुरुस्त राख्न र बाँकी रहेका स्क्रिप्ट लेखनका कामलाई पुरा गर्न खोज्नुभएको छ । विभिन्न नेपाली तथा गुरुङ भाषामा फिल्ममा अभिनय गरेर अभिनयको माध्यमबाट दर्शकको मन जित्नु भएको गुरुङले अभिनय गरेका केहि फिल्म प्रर्दशन हुन बाँकी नै छन् । हालसम्म दशवटा गुरुङ चलचित्र निर्देशन गरिसक्नुभएका उहाँ गुरुङ फिल्म एशोशिएशन नेपालको संस्थापक अध्यक्ष हुनुहन्छ । फिल्ममा मात्र नभएर रंगमञ्चमा समेत उतिकै क्रियाशील हुनुहुन्छ । म्युजिक भिडियोमा अभिनय तथा निर्देशन गरेर समेत उहाँले आफ्नो क्षमता देखाइरहनुभएको छ ।

यस्तो छ दैनिकी
म बिहान पाँच बजेदेखि छ बजेसम्मको समयमा उठ्ने गर्छु । केही नित्यकर्मपछि शारीरिक अभ्यासको लागि समय दिन्छु । हरेक दिन बिहान कम्तिमा एकघण्टाको समय शारीरिक अभ्यासको लागि छुट्याउने गरेको छु । यो समयमा विभिन्न ‘एक्र्ससाइज’ गरेर आफू फिट हुने कोसिस गर्छु । शारीरिक अभ्यास सकिएपछि ब्रेकफास्टको समय सुरु हुन्छ । बिहान ८ बजेको आसपासमा ब्रेकफास्ट लिइसकेपछि म करेसावारी तर्फ जान्छु । करेसावारीमा पुगेर तरकारी लगाउने, झारहरु उखेल्ने, जे देखिन्छ त्यो काम निर्धक्कका साथ गर्छु । यसरी करेसावारीको काम सकेपछि लञ्च समय सुरु हुन्छ । प्रायः मैले विहान ११ बजेदेखि मध्यान्न १२ बजेभित्र लञ्च खाइसक्छु ।
विहानको खाना खाइसकेपछि फिल्महरु हेर्ने र फिल्मको बाँकी रहेका केही स्क्रिप्टको विषयमा घोत्लिने गर्छु । घरमा बसेकै यहीं समयमा लेखन कार्य सक्ने मात्र नभएर धेरै भन्दा धेरै सिनेमा हेर्ने मेरो योजना छ ।
दिउँसो तीन देखि चार बजेभित्रमा खाजा खाने समय हो । खाजा खाइसकेपछि पुनः सिनेमाकै विषयमा घोत्लीने तथा सिनेमाहरु हेर्ने गर्छु । यसबाट केही समय बाँकी रह्यो भने घर नजिकै भएको ठुलो चौरमा गएर शारीरिक स्फुर्तीको लागि अभ्यास गर्ने मेरो बानी छ ।
म बेलुका ८ बजेभित्रनै डिनर खान्छु । डिनरमा एकदमै हल्का खाना खाने गर्छु । विशेषगरी रोटी तरकारी खाने गर्छु । प्रायः बेलुका ९ देखि १० बजेभित्र सुत्ने मेरो दैनिकी हो ।

मनमा यस्तो कुरा खेल्छ
यो बेलामा मेरो मनमा खेल्ने भनेको मुख्य कुरा कोरोनाबाट कसरी सुरक्षित रहने भन्ने नै हो । यसका अलावा खोपहरु अलि छिटो भन्दा छिटो सबै मानिसमा पुगे कोरोना समाप्त भई काममा फर्कन पाए दैनिक जीवन राम्रोसँग चल्न सक्थ्यो भन्ने समेत मनमा खेल्नेगर्छ । साथीभाइ, आफन्त, इष्टमित्रहरु दिनप्रतिदिन गुमाइरहेको समाचार सुन्दा छटपटि हुन्छ, पिडा हुन्छ । छिटो भन्दा छिटो राज्य पक्षले खोप ल्याउन चासो देखाई सर्वसाधरण सबैमाफ पुग्न सक्ने वातावरण बनाइदिए सबै लाभान्वित हुने थिए भन्ने कुरा मेरो मनमा खेलिरहन्छ ।

छिट्टै पुरानै अवस्थामा फर्कने आशा
विभिन्न गुरुङ फिल्मबाट निर्देशनको अनुभव लिएको मैले निर्देशन गरेको नेपाली फिल्म ‘दयारानी’ प्रदर्शन हुन पाएको छैन । विभिन्न कारणले प्रदर्शन हुन नसकेको यो फिल्मको प्रदर्शन अहिले कोरोनाका कारण झनै अनिश्चित बनेको छ । यो फिल्म प्रर्दशन हुने समयको प्रतिक्षामा समेत छु । मैले दक्षिण भारतीय चलचित्र ‘थिरीमाली’मा काम गर्ने अवसर पाएको छु । यो फिल्मको केही काम भइसक्यो । अब केही काम भारतमा गएर गर्नुपर्नेछ । नेपाली तथा हिन्दी भाषामा निर्माण हुने यो चलचित्रबाट नयाँ सिकाइ मिलिरहेको छ । उत्साहित पनि छु । तर बाँकी रहेको काम कहिले सुरु हुन्छ अन्यौल बनेको छ । अन्य केही फिल्मका काम बाँकी छन् । केही फिल्ममा अफर पनि आएको छ । छिट्टै पुरानै अवस्थामा फर्किएर निर्धक्क काम गर्न पाउने आशा गरेर बसेको छु ।





