कोरोना सङ्क्रमितलाई सम्मानसहित निःशुल्क भोजन

पोखरा न्यूज । हाम्रो नेपाली समाजमा केवल सांस्कृतिक, धार्मिक, सामाजिक, भौगोलिक र आर्थिक मात्रै होइन, आत्मिक विविधता पनि हुँदोरहेछ भन्ने प्रशस्त उदाहरण अहिले देखिन थालेका छन् । नयाँ भेरिएन्टसहितको कोभिड–१९ को महामारीले हाम्रो देश थलिएको छ । देशका सबै अङ्गहरू शिथिल र निस्क्रिय रहेको अवस्थामा म्याग्दीका ग्रामीण भेगमा उच्च मानवीय भावनाका रहरलाग्दा सङ्केत देखिएका छन् ।

अन्त्यन्त उदाहरणीय काम पनि भएका छन् । ती काममध्येको एउटा हो– कोरोना सङ्क्रमित भएर मानसिक र शारीरिकरूपमा कमजोर भएका व्यक्तिलाई सम्मान र प्रोत्साहनसहित दैनिक पोषिलो निःशुल्क भोजनको व्यवस्था । मानिस रोगले मात्रै होइन, मनोवैज्ञानिकरूपमा समेत कमजोर बन्दै गइरहेका छन् । कोरोना सङ्क्रमणको लहर आउनुभन्दा अघि गाउँमा कोही बिरामी भएको थाहा हुनेबित्तिकै फलफूल र पोषिला खानेकुरा लिएर भेट्न जाने, बिरामीसँग कुरा गर्ने, हौसला बढाउने, सँगसँगै बसेर सुख दुःखका कुरा गर्ने नेपालीको विशिष्ट चलन अहिले कोरोना सङ्क्रमणको डरले गायब भएको छ ।

मानिस बिरामीलाई भेट्न, नजिक बस्न, कुरा गर्न त परको कुरा कोरोना सङ्क्रमित व्यक्ति भएको घरको बाटो भएरसमेत हिँड्न छाडेका अवस्थामा म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्थायी अस्पतालमा उपचाररत बिरामीलाई स्थानीयवासीले प्रोत्साहित मात्र गरेका छैनन्, स–सम्मान निःशुल्क पौष्टिक भोजनको समेत व्यवस्था गरेका हुन् ।

स्थानीय युवा क्लब, आमा समूह र सामाजिक सङ्घसंस्थाको समन्वयमा पिप्लेमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएर उपचारका लागि अस्थायी कोभिड अस्पतालमा आएका सङ्क्रमितसँगै बिरामी कुरुवा, आफन्तलाई समेत निःशुल्क भोजनालय सञ्चालन गरिएको वडाध्यक्ष जीवनकुमार मल्लले बताउनुभयो । “सङ्क्रमितले खानुपर्ने सबै पौष्टिक आहारको व्यवस्था मिलाइएको छ, घरमै बसेका सङ्क्रमितलाई भन्दा पनि धेरै सुविधा दिने गरी समुदाय परिचालन भएका छन्”, अध्यक्ष मल्लले भन्नुभयो ।

कोभिड अस्थायी अस्पतालमा उपचाररत बिरामीलाई अस्पतालको नजिकै रहेको मन्दिर परिसरमा सञ्चालन गरिएको भोजनालयमा स्थानीय न्यू सन्तोष सेवा युवा क्लब, नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाइजी क्लबलगायत स्थानीय अन्य सङ्घसंस्थाले सङ्क्रमितको प्रतिरोधात्मक शक्ति बढाउने खानालाई प्राथमिकता दिएका छन् । “समय– समयमा आवश्यक पर्ने खानाका लागि मेन्यू नै तयार गरिएको छ, समुदायको सहयोगले सङ्क्रमित भएर उपचारका लागि आउनुभएका बिरामीसमेत उत्साहित हुनुहुन्छ”, न्यू सन्तोष सेवा युवा क्लबका सचिव मुक्तिप्रसाद शर्माले भन्नुभयो ।

उहाँले विश्वव्यापीरूपमा फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन र सङ्क्रमितको उपचार तथा रेखदेखमा सघाउनु मानवीय धर्मका साथै हरेकको जिम्मेवारी भएको बताउनुभयो । स्थानीयवासीको उदाहरणीय अभियानमा सघाउन स्वदेश तथा विदेशमा रहेका रघुगङ्गावासीले समेत साथ दिएका छन् । स्वयंसेवकहरूले भान्सादेखि सङ्क्रमित व्यक्ति रहेको आइसोलेशनकक्षसम्म बिहानदेखि बेलुकीसम्म नै बिरामीका लागि खानासँगै तातोपानी, बेसारपानी, सुपलगायत आवश्यक पर्ने खानेकुराको निःशुल्क उपलब्धता गराउने गरेका छन् । उपचारपछि घर फर्किने सङ्क्रमितले समेत सबैलाई भेटेरै धन्यवादसमेत दिने गरेका छन् ।

होम आइसोलेशनमा बस्न नसक्ने अवस्थाका र शरीरमा अक्सिजनको अभाव भएकालाई अक्सिजन दिनुपर्ने, दीर्घरोगी सङ्क्रमितहरू संस्थागत आइसोलेशनमा छन् । हालसम्म आइसोलेशनबाट ११ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने बिहीबार साँझसम्म नौ सङ्क्रमित उपचाररत रहेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । स्थानीयवासीले निःशुल्क भोजनसहित सङ्क्रमितलाई हौसला बढाउने काम गरेको भन्दै प्रशंसासमेत भइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अक्सिजनसहित विभिन्न उपकरणसमेत जुटाउने गरिएको छ ।

अहिले देश नै सङ्कटमा परेको अवस्थामा राज्य र सरकारी निकायको मात्र मुख नताकी सबैले आ–आफ्नो स्थानबाट गर्न सकिने काम आफैँले गर्नुपर्ने स्थनीयवासीको भनाइ छ । सङ्क्रमितको मनोबल खस्कने र उनीहरू अपमानित हुने खालका कुनै पनि कार्य नगरी मनोबल बढाउने तथा उनीहरूलाई सहयोग पुग्ने खालका गतिविधि गरिदिन पिप्लेवासीले सम्पूर्ण नेपालीहरूसँग अनुरोध पनि गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button