फिल्म निर्माताले छिट्टै डिजिटल प्लेटफर्मबारे सोच्नुपर्छ : जीतेश

राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । कोरोना महामारीका कारण थला परेको फिल्म क्षेत्रलाई उकास्नको लागि निर्माताहरुले सोच्नुपर्ने अवस्था आएको पोखरा फिल्म सोसाइटीका अध्यक्ष जीतेश प्रधान बताउनुहुन्छ । पोखरा न्यूजसँग कुरा गर्दै उहाँले थला परेको फिल्म क्षेत्रलाई उकास्ने माध्यम डिजिटल प्लेटफर्म हुनसक्ने बताउनुभयो । ‘थला-थला परेको यो फिल्म क्षेत्रलाई उकास्नको लागि नेपाली फिल्म निर्माताहरुले छिट्टै कुनै डिजिटल प्लेटफर्मको बारेमा सोच्नुपर्‍यो’ उहांले भन्नुभयो ।

हलमा निर्धक्कका साथ दर्शकको उपस्थितिमा फिल्म प्रदर्शन गर्न नसक्दाको अवस्थामा बजेट कम खर्च गरेर भएपनि दर्शकमाझ पुग्ने वैकल्पिक माध्यम डिजिटल प्लेटफर्म बन्ने उहाँको दावी छ । ‘अब हलको उपाय नभइन्जेलसम्म हामी बजेट कम खर्च गरेर फिल्म बनाएर डिजिटल प्लेटफर्ममा जानुपर्छ’ अध्यक्ष प्रधानले थप्नुभयो ।

सम्भव भएको खण्डमा राम्रो फिल्म बनाएर अन्तराष्ट्रिय डिजिटल प्लेटफर्ममा जानु राम्रो हुने उहाँको तर्क छ । डिजिटल प्लेटफर्ममा जतिसुकै सुरक्षाका उपाय अपनाएपनि फिल्म डाउनलोड गरेर हेर्ने भएकोले यो प्लेटफर्ममा जाने फिल्ममा लगानी धेरै भने नगर्न उहाँको सुझाव छ । उहाँ भन्नुहुन्छ-‘सकेसम्म गुणस्तरीय फिल्म निर्माण गरेर नेटफ्लिक्स जस्तै अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा फिल्म पुर्‍याउनुपर्दछ । डिजिटल प्लेटफर्मबाट जतिसुकै सेक्युरिटी राखेपनि फिल्म डाउनलोड हुने हुनाले धेरै महंगो फिल्म बनाएर डिजिटल प्लेटफर्ममा भने जानु हुँदैन, लगानी धेरै गरेर डिजिटल प्लेटफर्ममा जाँदा लगानी झनै खतरामा पर्छ ।’

अन्तर्राष्ट्रिय प्लेटफर्ममा फिल्म बेच्न सकियो भने फिल्म निर्माताहरूलाई राहत हुने भएकोले निर्माताले त्यतातिर ध्यान दिनुपर्ने उहाको जोड छ । ‘नेपाली डिजिटल प्लेटफर्ममा मात्र फिल्म राखेर पैसा उठ्नेवाला छैन । यसको लागि फिल्म निर्माताहरूको बिचमा ठुलो संवादको खाँचो छ’ चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको सल्लाहकार समेत रहनुभएका प्रधानले भन्नुभयो । प्रधान फिल्म सम्पादन, छायाकंन र निर्देशनमा क्रियाशील हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button