
राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । चर्चित गायक तथा संगीतकार रामभक्त जोजिजू संगीत सिर्जना र साधनामा व्यस्त हुनुहुन्छ । कोरोना महामारीका कारण घरबाहिर निस्कने अवस्था नभएपनि घरमानै बसेर आफ्नो नियमित कर्मलाई उहाँले अगाडि बढाइरहनुभएको छ । उहाँको पोखराको फूलवारीमा रहेको आफ्नै घरमा जे.ई. म्युजिक एकेडेमी तथा गीत रेकर्ड गर्नको लागि जे.ई. स्टुडियो रहेको छ । सोही मार्फत उहाँ यो समयमा समेत क्रियाशील बन्नुभएको हो ।
पोखरा न्यूजसँग कुरा गर्दै जोजिजूले यो समयमा संगीत सिर्जना, साधना र गीतको प्रमोसनमा व्यस्त रहेको बताउनुभयो । हरेक दिन बिहान रियाज, सरगम अलंकारको साधनामा समय दिने उहाँले त्यसपछिको समय बाँकी रहेका एरेन्जिङ्गका काम, नयाँ गीतको रेकर्डिङ, गीतको प्रोमोसन र संगीत सिर्जनामा दिने गर्नुहुन्छ ।
जोजिजूले हालै तयार गरेका सिर्जनाहरुमा ‘हे आमा शाम्भबी बिन्ध्यबासिनी’ गीत रहेको छ । केशवराज राजभण्डारीको शब्दमा रहेको गीतमा संगीत रामभक्त जोजिजूकै हो । आवाजमा उहाँलाई ईतु जोजिजूले समेत साथ दिनुभएको छ । ‘बग्न लागे सम्झनाले’ र ‘हे मेरो राम’बोलको गीत र भजन विश्वम्भर मिश्रको शब्द, संगीतमा हालै रेकर्ड भईसकेको छ । अन्जना पौडेल ‘अनुश्रुती’ को शब्द रहेको ‘जब–जब हुरि चल्छ’बोलको गीतमा उहाँको संगीत तथा स्वर रहेको छ । यो गीतमा ईतु जोजिजू आवाज समेत सुन्न पाइन्छ ।
गोपाल पौडेलको शब्दमा ‘म रुंदा सधैं’ गीत रामभक्त जोजिजूकै संगीत र स्वरमा रेर्कड भएको छ । दीपक पाठकको शब्द अनि किरण देबकोटाको संगीतमा गायक जोजिजूले स्वर भरेको ‘आशा हरु आज किन’ बोलको गीत मिक्सिङ हुँदैछ । गीतकार किरण देबकोटाका दैबको लिला’ र ‘म त भिरमा पनि’ बोलको गीत तयार हुँदैछ । ‘म त भिरमा’ गीतमा ईतु जोजिजूको आवाज रहनेछ ।

यसका अलावा अन्य केही गीतहरु एरेन्ज गरिरहेको उहाँले बताउनुभयो । ‘माछापुच्छ्रे छायां हेर’बोलको गीत सन्जीब पालको एरेन्जिङ्गमा तयार हुँदैछ । काम भइरहेका प्रायः जसो सबै गीतहरुमा सन्जिव पालको एरेन्ज रहेको छ । ‘आशाहरु आज किन’ बोलको गीतको एरेन्ज भने गोपाल रसाईली गर्नु भएको हो ।
यसरी सिर्जनामानै व्यस्त भएपनि गायक तथा संगीतकार जोजिजूले मनमा केही कुरा भने खेल्ने बताउनुहुन्छ । ‘भोलिको दिनहरुमा पनि यसरी नै लकडाउन मा बिताउनु पर्ने हो कि, जिन्दगीको बाटाहरुमा यस्ता समस्या कहिलेसम्म भोग्नु पर्ने हो, यस्तै कुराहरु मनमा खेल्न थाल्छन्’ उहाँले भन्नुभयो ।
कोरोना कहरका कारण भएको बन्दले केही फाइदा पनि भएको उहाँको भनाई छ । बन्दले घरमा बसेर साधना गर्न पर्याप्त समय दिएको उहाँले सुनाउनुभयो । ‘सकारात्मक तरिकाले सोच्दा अरुबेला व्यस्तताका कारण राम्रोसँग रियाज गर्न पाइएको थिएन, अहिले कमसेकम साधनालाई अगाडि बढाउन पाएको छु, यसमा भने खुशी लाग्छ’ उहाँले थप्नुभयो ।
२०४३ सालबाट सांगीतिक यात्राको आरम्भ गर्नुभएका गायक जोजिजूले २०५१ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीण गरी ‘समाल ती पाइलाहरु’ बोलको गीत रेर्कड गर्नुभएको थियो । २०५५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा ‘उडेर जुन छुन्छु भन्थे’ गीत गाएर उहाँ प्रथम हुनुभयो । यो गीतले उहाँको परिचयलाई फराकिलो बनाएको थियो ।

उहाँको २०५६ सालमा पहिलो एल्बम ‘सुमिलन गर हरिनाम’ बजारमा आएको थियो । २०५७ सालमा आएको आधुनिक गीति एल्बम ‘भाग्य’, २०५८ सालमा लोकपप गीत समावेश गरी आएको एल्बम ‘लक्ष्य’ लाई संगीत पारखीले रुचाए । उहाँले २०६२ सालमा पुनः भजनलाई समावेश गरी ‘चर्णार्मीत’ एल्बम पस्किनुभएको थियो । २०६४ सालमा जीवनसंगीनी ईतु जोजिजूसँगको युगल आवाजमा निकालेको एल्बम ‘छाँया’ बाट उहाँहरुको जोडी गायन क्षेत्रमा सफल युगल जोडीको रुपमा चिनिएको थियो । उहाँ नयाँ पुस्तालाई सांगीतिक क्षेत्रमा अगाडि बढाउन समेत उतिकै क्रियाशील हुनुहुन्छ ।
हालै उहाँको आवाजमा रहेको ‘लाईदिउँकी माया चट्टै’ बोलको गीत देविथान म्युजिक युट्यव च्यानलबाट सार्वजनिक गरिएको छ । उमेश सिकेले रचना गरेको गीतमा राजनराज शिवाकोटीले संगीत भर्नुभएको छ । राजन इसानले एरेन्ज गरेको गीतलाई श्यामस्वेत रसाइलीले मिक्सीङ गर्नुभएको हो । गीतको भिडियो समेत आर्कषक रहेको छ । भिडियोमा प्रियंका कार्की र निरज प्रधानको अभिनय रहेको छ । निकेश खड्को निर्देशन, बुद्ध थापाको छायाकंन र विकास धमलाको सम्पादनमा भिडियो तयार भएको हो ।
भिडियो लिंकः
https://www.youtube.com/watch?v=KYkvZ2F-PIo&t=130s






प्रतिक्रिया