दश दिनसम्म पिसिआर रिपोर्ट नआउँदा समस्या

पाेखरा न्यूज । कोरोना आशङ्कामा परीक्षणका लागि पठाएका स्वाबको नतिजा लामो समयसम्म नआउँदा समस्या हुन थालेको छ । पर्वत जिल्लाबाट पठाइएका करीब २५० को सङ्ख्याका स्वाबको नतिजा आउन बाँकी छ । गत वैशाख २८ गतेदेखि यताका स्वाबको नतिजा नआउँदा जाँच गराएका व्यक्ति अन्योलमा परेका छन् भने व्यवस्थापकीय जिम्मेवारीमा रहेका निकाय पनि अन्योलमा छन् ।

कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक उमाकान्त सापकोटाका अनुसार एक हप्तादेखि १० दिनसम्मका रिपोर्ट अझै आएका छैनन् । उहाँले कुनै उपाय नदेखेपछि फेसबुकमार्फत सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । सङ्क्रमितको आशङ्कामा परीक्षण गरिएको रिपोर्टको नतिजा ढिलो आउँदा आफूहरु अन्योलमा रहेको सापकोटाले बताउनुभयो ।

प्रयोगशालाले ढिलो रिपोर्ट दिँदा कन्ट्याक्ट ट्रेसिङको कुनै अर्थ नरहने सापकोटाको गुनासो छ । सङ्क्रमणको आशङ्का गरिएकाहरु समुदायमा घुलमिल भइसके । अलिअलि रुघाखोकी लागेका पनि निको भइसकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोना सङ्क्रमित भएको १० दिनपछि एकले अर्कोलाई सर्दैन र गम्भीर लक्षण पनि देखिँदैन भनेर भनेको छ । सातदेखि १० दिनअगाडि पठाएका स्वाबको नतिजा अब आउँदा पोजेटिभ आयो भने उनीहरु सङ्क्रमितसरह मानिने कि नमानिने बहसको विषय बनेको छ ।

कुश्माका ९७, बिहादीका ६७, फलेवासका र १०२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना परीक्षणको नतिजा ढिलो आउँदा आम मानिसमा चिन्ता बढेको छ । कुश्मा–१२ का वडाध्यक्ष राजेन्द्र पौडेलले रिपोर्ट ढिलो आउँदा मानिसले फोन गरेर हैरान पार्न थालेका बताउनुभयो । स्वास्थ्य निर्देशनालय र प्रयोगशालामा थन्किएका स्वाबको परीक्षण भए÷नभएका बारेमा जानकारी नभएपछि उहाँले केही दिन पर्खिनुहोस् भन्ने बाहेक कुनै जवाफ नभएको जानकारी दिनुभयो ।

स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक विनोदविन्दु शर्माले धेरै जिल्लाबाट स्वाब बढी मात्रामा आउँदा प्रयोगशालामा लोड भएकाले नतिजा दिन ढिला भएको बताउनुभयो । उहाँले केही रिपोर्ट पोखराबाट काठमाडौँको प्रयोगशालामा पनि पठाइएको र त्यहाँबाट रिपोर्ट दिन झनै ढिलो हुँदा समस्या भएको सुनाउनुभयो । उहाँले सोमबारसम्म रिपोर्ट आइपुग्ने जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button