सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरिने

पोखरा न्यूज ।  गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।

यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि सङ्घका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

हवाई उडान सहजीकरण गर्न आग्रह

पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न सङ्घले अनुरोध गरेकोछ । विदेशबाट नेपाल फर्कँदा नेपाली दूतावासबाट अनुमति लिनुपर्नेलगायत विषयमा विद्यमान झन्झटिला प्रावधान हटाई यात्रा सहजीकरण गरिदिनसमेत सरकारसँग अनुरोध गरिएको छ ।

नागरिकतासम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण

लामो समयदेखि नै गैरआवासीय नेपाली सङ्घले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन देखिएकाले गैरआवासीय नेपालीको माग सम्बोधनका लागि सङ्घले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button