यो फुर्सदको समयमा पुस्तक पढौं

दिमागलाई क्रियाशील राख्नका लागि पुस्तक पढ्नुपर्छ

राजाराम पौडेल, पोखरा न्यूज सम्वददाता । कोरोना महामारी तिव्र रुपमा फैलिएको कारण भएको निषेधाज्ञाका कारण धेरै जना अहिले घरभित्र बस्नुभएको छ । यसरी घरमा बसेको समयलाई उपयोगी बनाउने राम्रो तरिका हुनसक्छ पुस्तक अध्ययन । विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा पोष्ट भएका समाग्रीका कारण धेरैको मनमा त्रास समेत थपेको छ ।

यी सबै कुराबाट छुटकारा लिदै यो समयको सदुपयोग गर्न तपाईले आफ्नो ध्यान पुस्तक अध्ययनतर्फ मोड्न सक्नुहुन्छ । अध्ययनबाट प्राप्त नयाँ ज्ञानले अगाडि बढ्न उर्जा थप्नेछ ।

हुन पनि आफूलाई मनपरेको पुस्तक पढ्न पुस्तक पसलनै पुगेर किताब किन्नुपर्ने बाध्यता अहिले छैन । कतिपय पुस्तक अनलाइनमार्फत सिधै मगाउन सकिन्छ । कति पुस्तक तपाईको घरमानै थन्किएर बसेका पनि हुनसक्छन् ।

आफुले पढेका पुस्तकको ज्ञान परिवारका अन्य सदस्यलाई बाढ्दा समते ज्ञानको दायरा बढाउन सक्छ । पुस्तक पढ्ने तथा पढेको कुरा छलफल गर्ने बानीले कोरोना कहरका कारण मनमा आएका नकारात्मक कुरालाई विर्साउन सहयोग गर्दछ । महामारीको समयमा मन भुलाउन पुस्तक तपाईको लागि साथी बन्न सक्छ ।

र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालको अध्यक्ष केशवशरण लामिछाने किताब पढ्नु ठुलो कुरा नभएर पढेको कुरा व्यवहारमा उतार्नु महत्वपूर्ण भएको तर्क गर्नुहुन्छ । किताब पढ्नु ठूलो कुरा हैन, पढेको कुरा व्यवहारमा उतार्नु महत्वपूर्ण हो । किताब पढक्कडहरुसँग डेढअक्कल नभएको पनि देखेको छु । किताबै नपढेका विवेकी, ज्ञानी र असल मानिसहरु पनि व्यहोरेको छु । साँच्चै भन्दा मलाई डेढ अक्कलबिनाका पढक्कड मानिसभन्दा नपढेका र नपढ्ने ज्ञानी मानिस प्रिय लाग्छ । यसको मतलब नपढ्नु भन्नेचाहिँ हैन । पढौं । आफूले पढेर थाहा पाएको ज्ञान व्यवहारमा उतार्न प्रयत्न गरौं । उहाँको आग्रह छ ।

पोखरेली युवा सांस्कृतिक परिवारका मोती भुजेल केही बोल्न तथा समाजबारे केही जान्न पुस्तक पढ्नुपर्ने बताउनुहुन्छ । किन पढ्ने भन्ने ? किन खाने ? किन खेल्ने ? भने जस्तै हो । किताब नपढे फिल्म पढ्न मिल्दैन । आफ्नो आत्मा ज्ञानको लागि पनि पढ्नु पर्छ । कोर्सको किताबको कुरा अहिले गरेर हुन्न अहिले केहि बोल्न र समाजमा केहि सिक्न पढ्नु पर्नेमा उहाको जोड छ ।

नेपाली रंगमञ्चमा अगाडि बढ्दै गरेका युवा निर्देशक चे शंकर पुस्तक अध्ययन गर्ने बानीले आफूलाई परिमार्जित गर्दै जिउन सिकाउने बताउनुहुन्छ ।

मेरो लागि पुस्तक पढ्नु भनेको आफुलाई फराकिलो पार्दै लैजानु हो । आफु फराकिलो भएपछि सिकाइमा, बुझाइमा, हेराइमा र आफुले गर्ने व्यवहारमा परिवर्तन हुन्छ । मैले किन पुस्तक पढ्ने भनेर अहिले नै भन्ने बेला भएको छैन होला, मैले अझै धेरै बुझ्नै बाँकी छ । मेरा लागि पुस्तक एउटा साथी हो । मैले पढ्ने पुस्तकले मलाइ आगाडि देख्न, समाज र म बाँचेको परिवेशलाई नयाँ दृष्टीकोणबाट हेर्न र बुझ्न सहयोग गर्छ । मेरो व्यक्तिगत अनुभब चाहिँ, आफुलाई हतारिनबाट रोक्छ । पुस्तकले आफुलाई परिमार्जित गर्दै जिउन मात्र नभई जीवनमा पढ्ने बानीले कविता जस्तै रंग भर्दिन्छ । उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय साहित्य समाज गण्डकी तथा कस्केली अधिकृत समाज कास्कीको अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ ज्ञान हासिल गर्नको लागि पुस्तक पढ्नुपर्ने तर्क गर्नुहुन्छ । जति ज्ञान हासिल ग¥यो उत्ति अज्ञानता हट्दै जान्छ तसर्थ पुस्तक पढ्नु जरुरी हुने उहाँको भनाई छ ।

पोखरेली युवा साँस्कृतिक परिवारका पूर्वअध्यक्ष दीपक समिप पुस्तक अध्ययन गर्दा लेखकलाई नयाँ उर्जा प्राप्त हुने सुनाउनुहुन्छ । पुस्तक अध्ययन एक किसिमको नशा जस्तै हो । पुस्तक विशाल ज्ञानको भण्डार हो । ज्ञान प्राप्तिको लागि पढ्नै पर्छ । पुस्तक पढ्दा लेखकलाई एक किसिमको उर्जा प्राप्त हुने गर्दछ । त्यो उर्जा प्राप्तिको खातिर झन पुस्तक पढ्नै पर्छ । अझ लेखकहरु त अप टु डेट हुनकोलागि पनि पुस्तक र पत्रपत्रिका निरन्तर पढिरहनै पर्दछ भन्ने मेरो बुझाई हो ।

लेखक रेशम गिरी दिमागलाई क्रियाशील राख्नका लागि पुस्तक पढ्नुपर्ने बताउनुहुन्छ । पुस्तक पढ्ने उद्देश्य मानिसको उमेर, आवश्यकता र रुचि अनुसार भिन्नभिन्न हुन्छ । कसैले मनोरञ्जनका लागि पढ्छन् । कसैले देश काल र समयको जानकारी लिन पढ्छन् । विद्यार्थीहरूले ज्ञान आर्जन गर्न र कक्षा उर्तीण गर्नका लागि पढ्छन् मैले चाँही दिमागलाई क्रियाशील राख्नका लागि पढ्ने गरेको उहाँले खुलाउनुभयो ।

हिमालय रिर्डस कर्नर पोखराका सञ्चालक विजय भण्डारीले ‘किताब अब तपाईको घरमै’ भन्ने सोलोगन सहित पोखराभित्र फ्रि होमडेलिभरीमा पुस्तक उपलब्ध गराउने प्रयास गरिरहेको बताउनुभयो । पुस्तक अध्ययन गर्न खोज्नेहरुको सुविधाको लागि पालिखेचोक पोखरामा रहेको हिमालय रिर्डस कर्नरमार्फत सेवा प्रदान गरिएको उहाँले सुनाउनुभयो । ‘पुस्तकको केही माग आइरहेको छ, त्यस्तो धेरै त छैन, सोही कारण अहिले हिँडेर पूग्ने ठाउँसम्मको लागि सुविधा दिएका छौँ, माग आएको खण्डमा अन्य ठाउँका ग्राहकलाई समेत पुस्तक उपलब्ध गराउन सक्छौं’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button