
राजाराम पौडेल, पोखरा न्यूज सम्वाददाता । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बि.जी. अहिले पोखरामा हुनुहुन्छ । निषेधाज्ञाको कारण उहाँ यतिबेला नितान्त घरमै बसेर नै दिन बिताउने गर्नुभएको छ । पहिलो चरणको कोरोना संक्रमणलाई जित्नुभएका उहाँ नयाँ भेरियन्टको कोरोनाले पुनः संक्रमण गर्छ कि भनेर सचेत हुनुहुन्छ ।
बि.जी.को दैनिकी
म विहान २ घन्टा घर नजिकैको खेलमैदानमा मर्निङवाक गर्छु । मर्निङवाकबाट फर्किएपछिको समय सामान्य योगा प्रणायाम गरेर बिताउछु । यसले शारीरिक स्फुर्ति बढाउँछ । विभिन्न अनलाइन मिडियाको माध्यमबाट समसामयिक देश विदेशका समाचारहरु पढेर आफूलाई अपडेट राख्छु । आफ्नो मनमा लागेका केहीकुरा फेसबुकमा स्टाटस मार्फत अपडेट गर्ने बानी समेत मेरो छ । पुराना तस्विरहरु हेरेर केही समय घोत्लिने गर्छु ।
अर्को कुरा यतिबेला दैनिक जसो प्रतिष्ठानका केन्द्र प्रदेश जिल्ला तहका साथिहरुसंग जुम मिटिङ गर्ने गरेको छु । यसबाट लोकदोहोरी कलाकारको अवस्था के कस्तो छ बुझ्ने मात्र नभएर आवश्यक सहयोग गर्ने, सल्लाह, सुझाब तथा केन्द्रको निर्देशन समेत दिने अवसर मिल्छ।

यहीं फुर्सदको समयमा पुराना फिल्म हेर्ने, किताब पढ्ने गरिरहेको छु। केहि मनमा लागेका कुराहरु लेखेर राख्ने गरेको छु । कोरोनाको कारण मृत्यु भएका परिचितहरुको सम्झना गर्ने गर्छु । यसरी सम्झदा मन निकै भावुक हुन्छ । के गर्ने कसो गर्ने टुङ्गोमा नपुगी अलमलिन्छु । आफन्त र आफ्नो चिन्ताले घोरिने गर्छु ।
प्रतिष्ठानको नेतृत्वमा रहेको कारण सम्पूर्ण लोकदोहोरी कलाकारको भविष्यको चिन्ताले उस्तै सताउँछ । कलाकारहरुको वर्तमान र भविष्यको पिरलो गर्दै समाधानको उपाय के हुन सक्छ भनेर सोच्ने गर्छु । उनीहरुको जिविकोपार्जनको वैकल्पिक उपायको खोजी के होला त्यसैमा म बढी चिन्तित हुने गरेको छु ।

अप्ठ्यारोमा परेका कलाकारहरुलाई सहयोग संकलन र प्रदान गर्ने काम समेत भइरहेको छ । अभावको दवावले आत्महत्या वा अन्य गलतबाटोमा जान नदिन कलाकारहरुलाई कसरी मोटीभ गर्ने भन्ने बिषयमा निरन्तर छलफल गरिरहेकै छौ।
कोरोना संक्रमण भएका साथीहरुलाई संक्रमणसँग जुध्न हौसला दिने गर्छौँ । प्रतिष्ठानले कलाकारहरुलाई खोपको लागि पहल गरेको छ । आशा छ खोप आएपछि हामीले सबै कलाकारलाई खोप लगाउन सफल हुनेछौं । यो समयमा मलाई आफ्नो भन्दापनि सम्पूर्ण लोकदोहरी क्षेत्रका कलाकारहरूको भविष्य के होला भन्ने चिन्ताले सताउँछ ।





