को हो समाजसेवी ?

सनिस रानाभाट ।  मानिस आधुनिक विश्वमा प्रवेश गरे पनि मानवीयता भने हराएको छैन । हराउनु पनि हुँदैन । मानिसमा मानवीयता कायमै रहेको सङ्केत दिन दुःखीहरूको सेवा र सहयोगमा अघि बढेका हातहरूले प्रमाणित गरिरहेका छन् । युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरूले सामाजिक काममा आ-आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरूको सामाजिक कार्यमा सक्रियतालाई सङ्केत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवीयताको आवश्यकता छ ।

सामाजिक कार्यको विकास १९ औँ शताब्दी अगाडि भएको हो। सामाजिक कार्यले विभिन्न संस्थाहरूमा र संस्थाहरूमार्फत सहयोग दिलाउने काम गर्दछ। यसको सुरुवात व्यक्तिहरूले दिने दान या चन्दाबाट सुरु भएको हो। यो दान या चन्दा धार्मिक सङ्गठन र असहायहरूका लागि केही व्यक्तिहरूले दिन सुरु गरेपछि अन्य व्यक्तिले पनि सिको गरेर यसको अवधारणा सुरु भयो। यसको अवधारणा सुरु हुँदा त्यस बेलाको समाज धर्मभीठहरु थियो। र, धर्मकै नाममा मान्छेहरूले नजानिँदो तरिकाबाट समाजसेवा वा सामाजिक कार्यलाई अपनाउँदै गए। यो प्रक्रियाले विभिन्न ठाउँ र देशमा नजानिँदो तरिकाले प्रसारवादको रूप लिइरह्यो र विशेष गरी औद्योगिक क्रान्तिपछि मूर्तरूप लिन पुग्यो।

मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरूलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरूलाई सेवा गर्‍यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरूले पनि बताएका छन् । जुनसुकै धार्मिक ग्रन्थमा पनि समाजसेवा गर्नुपर्ने र यसले पुण्य मिल्ने कुराहरू कुनै न कुनै रूपमा लेखिएका छन् । हिन्दु धर्मग्रन्थहरूमा उल्लिखित ‘परोपकार पुण्याय पापाय परपीडनम्’ उक्तिले नै सार बोकेको छ । मुसलमान सम्प्रदायले आफ्नो आयको हिस्सा गरिब गुरुवालाई बाँड्ने गरेका छन् । क्रिश्चियन सम्प्रदायमा पनि यस कुराको मान्यता छ । सत्य साई बाबाले पनि समाजसेवालाई महत्त्व दिएका छन् । धर्म मात्र नभएर सामाजिक अनि आत्मिक हिसाबले सोच्ने हो भने पनि समाजसेवा ठुलो कुरा हो । विश्वमा एकले अर्कालाई गर्ने सहयोगबाट मात्र दुःखीहरूले राहत पाउन सकेका छन् । राज्य वा ठुला निकायको मात्र भर पर्ने हो भने विश्व कति दुःखले भरिन्थ्यो होला । कसैको ध्यान नपुगेका ठाउँमा आवश्यक परेकालाई सेवा भावले गर्ने सहयोगले कसैको अहित हुँदैन । बरु यसले दान गर्नेलाई पनि भावी दिनमा अप्ठेरो परे दान पाउने बाटो खोल्दछ ।

सामाजिक कार्य या समाज–कार्यको छोटो अर्थ समाजका लागि गर्ने काम हो। यो आफ्नो व्यक्तिगत कामभन्दा फरक हुन्छ। यसमा आफ्नो घर परिवारभन्दा बाहिर अन्य घर परिवारका पारिवारिक सदस्यहरूदेखि ठुलो समुदाय हुँदै सिङ्गो राष्ट्रलाई पनि सहयोग गर्न सकिन्छ। वास्तवमा सामाजिक कार्य यस्तो कार्य हो, जहाँ सामाजिक विज्ञानको मागमा रहेका विभिन्न मानव जीवन, व्यवहार, सामाजिक समूह र सामाजिक कार्यहरूका बारेमा अध्ययन गरिन्छ। यस्ता विज्ञानहरूमा मुख्यतः समाजशास्त्र, मानव शास्त्र, व्यवहारिक ज्ञान, व्यवस्थापन, जनसङ्ख्या, शिक्षा, भूगोल, इतिहास, कानुन, राजनीति शास्त्र, मनोविज्ञान, प्रशासन आदिहरू पर्छन्।

मानिसहरू समाज सेवा गर्न किन रुचाउँछन् भन्दा पनि समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवीयता हुन्छ । समाजसेवा आत्म चाहाना हो र आत्मा सन्तुष्टिका लागि मानिसले गर्ने गर्छ । समाजसेवा निस्स्वार्थ हुनुपर्छ नै तर आजभोलि हर क्षेत्रमा स्वार्थीहरूको प्रवेश भएको भने छ ।तर यी सबै कुराहरू सिद्धान्तमा मात्र छन् । सिद्धान्त र व्यवहार फरक कुरा हुन् भनेर त्यसलाई अनुसरण गरेको पाइँदैन । सिद्धान्त अनुसार चल्ने हो भने नाम अनुसार सबै काम हुन्छन् । समाजसेवी शब्द जस्तो छ नि त्यसको पनि मान राख्नु पर्दछ । तर यहाँ के भएको छ भने मानिसको अन्तिम बिन्दु समाजसेवीको नाममा अड्किएको छ ।

समाज सेवी फलाना र ढिस्काना भन्दै कार्यक्रम सञ्चालकले सम्मान गरेको देखका छौ । वास्तवमा के तिनीहरू सबै समाजसेवीको दायरामा पर्दछन् या समाजसेवीको बिल्ला राख्नको लागि साँच्चिकै हुन् त समाज सेवा भनेको परोपकार हो । परापूर्व कालदेखि नै समाज सेवाको थालनी इतिहासले देखाएको छ । ब्रह्माण्डभर समाज सेवाका प्रशस्त संघ तथा संस्थाहरू उम्रेका छन् ,समाज सेवी पनि त्यतिकै विश्वमा प्रख्यात समाजसेवीको सुची पनि छ तर यिनीहरू विश्वभरि नाम कमाएका छन् । तन, मन र धनले समाजप्रति भिजेका छन् र यिनीहरू राष्ट्रका विभूति कहलिन्छन् समाज सेवा मानवतासँग सम्बन्धित हुन्छ र मानवता प्रति देखाएको श्रद्धा नै समाज सेवा हुन् जान्छ । समाज सेवा र समाज सेवी सगरमाथा भन्दा पनि उच्च स्थानमा रहन्छन् समाज सेवाको भित्र स्वार्थ लुकेको हुनु हुँदैन र समाज सेवीको हृदय नाङ्लो जत्रो हुनु पर्छ ।

तसर्थ समाजसेवा अन्य व्यवसायभन्दा भिन्न र आत्म सन्तोषी पनि हुन्छ। समाजसेवामा वैयक्तिक आधार, समूह अथवा समुदायको सहायता लिइने भएको हुनाले यसलाई सभ्य, शिष्ट र अनुशासित बनाउन सम्बन्धित व्यक्ति या समाजको सामाजिक, आर्थिक एवं मनोवैज्ञानिक पक्षहरूको पनि अध्ययन गर्नुपर्छ। नत्र यसले सम्बन्धित व्यक्ति, परिवार, समुदाय वा सिङ्गो समाजलाई नै नराम्रो प्रभाव पार्न सक्छ।

यस्तै गोजी र झोली सङ्घसंस्थाकै निम्ति मन्त्रीले सचिव कुटेका समाचार पनि हामीले पढेकै छौँ। अनि, सामाजिक सङ्घसंस्थामा सामाजिक कार्यकर्ता या कर्मचारीहरू कसरी छनौट हुन्छन्, त्यो सुनेकै छौँ, समाचारमा पनि पढ्न पाएकै छौँ। ती सङ्घसंस्थाले कसरी कार्यक्रम चलाउँछन्, के गर्छन्, कति बिल पेस गर्छन्, राजनीतिक दल र सरकारमा भएका मान्छेलाई कसरी प्रभावमा पार्छन्, त्यो पनि पढेकै छौँ, सुनेकै छौँ।

समाज सेवाको नाममा कहीँ कतै ब्रम्हलुट पनि भएको हामीले समाचार सुनेका छौ । समाजसेवीको नामबाट गलत क्रियाकलाप पनि नभएका हैनन् तर त्यो समाज सेवाको रथ हाँक्ने जिम्मा मानिसले लिएका हुन्छन् । समाजसेवा पवित्र कार्य हो भने समाजसेवीको चरित्र तथा दरिद्र मानसिकताबाट समाज सेवामा कालो धब्बा लाग्दछ र समाजसेवा गर्ने संस्थाहरू गनाउने भएका छन् । आजकाल छ्याप छ्याप्थी जहाँ गयो त्यही समाजसेवी देख्न थालेको छ । मैले समाजसेवीको भावार्थ न बुझेको हो कि । सबैलाई समाजसेवी भनिदियो भने खाँटी समाजसेवी त ओझेलमा पर्ने हो कि भन्ने आशङ्का लागेको छ । हामी नेपाली समुदायले एउटा कुनै संस्थामा काम गर्‍यो र भूतपूर्व अध्यक्ष भयो या कार्यकर्ता भयो समाजसेवी लेखको पाइन्छ ।

समाजसेवी हो या स्वयंसेवक समाजसेवीलाई सस्तो बनाउनु हुँदैन र को समाज सही हो भन्ने कुनै निकाय पनि छैन केवल समुदायका सदस्यहरूले नै सम्मान गरी समाजसेवी भनी दिन्छन् र सरकारी तवरबाट पनि समाजसेवी भनेर सम्मान गर्ने परिपाटी छ । कतै कतै स्वयम्ले समाजसेवी पनि लेखिएको देखिएकोले छ र यहाँहरूले पनि देख्नु भएको होला भन्ने बुझेको छु । समाजसेवी बन्नलाई ठुलो त्याग गर्नु पर्छ र तिलाञ्जलि अर्पण गर्नुपर्छ समाजसेवी भनेर आफूलाई समाजमा उभ्याउनु भन्दा स्वयंसेवक भन्दा समाजले अझ सम्मान गर्ने छन् र विश्वास बढ्ने छ । जो कोही समाज सेवामा लागेका छन् र उनीहरूले त्यो सम्मान खोज्दैनन् । समाज सेवाको मर्म बुझ्न कोसिस गर्नु पर्छ । विशुद्ध समाज सेवीलाई सम्मान गर्न सिक्नु पर्छ समाजसेवी आफूले हैन अरूद्वारा पुकारिनु पर्छ र सम्बोधन हुनु पर्छ । केवल नाम र प्रतिष्ठा वृद्धि स्वरूप आफूलाई समाज सेवी भन्न तगारो लगाउनु पर्छ समाजसेवीको सही अर्थ लगाउन जान्नु पर्छ प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्र आएको छ जसले जे लेख्यो भने पनि कसैलाई टाउको दुखाई हुने छैन ।

समाजमा केही योगदान नगरेका समाज सेवी, जनताको करबाट सरकार मार्फत तलब खाने पनि समाजसेवी, जसको काम नै सुरक्षा गर्नु छ ऊ पनि समाजसेवी, आखिर को हो त समाजसेवी सोध्न मन लागेको छ मलाई , तर कोसँग सोध्नु ? आफैँ अनुत्तरित हुन्छु अनि चुप हुन्छु । खोइ कसले भनी दिन्छ समाजसेवी भनेको को हो ? समाजसेवा भनेको के हो ? समाजसेवी र समाजसेवा खोइ ?

सैद्धान्तिक र व्यवहारिक कुरामा जे–जति फरक भए पनि सामाजिक कार्य विशेष गरी समाज र नागरिकप्रति समर्पित कार्य हो। यो व्यक्तिगत स्वार्थबाट सधैँ टाढा रहने गर्दछ। नेपालको विकास क्रममा सामाजिक सेवा तथा कार्यको पनि लामो इतिहास छ। विभिन्न कालखण्डमा धेरै अभियन्ताहरूले सामाजिक सेवाका लागि जीवन समर्पित गरेका प्रशस्तै दृष्टान्त छन्। हाल यो क्रम जारी नै छ। चरम व्यक्तिगत, पारिवारिक, नातागत र धन कमाउने स्वार्थको राजनीतिक छायाले सामाजिक अभियन्ताहरुलाई छोपेको छ। तर, पनि अभियन्ताहरूको अभियानमा कुनै कमी आएको छैन।

आज भोलि बाल आश्रम, वृद्धाश्रम च्याउ जसरी उमारेका छन् कुनैले मन बाट गरे पनि कुनैले विभिन्न लोभ र आर्थिक लाभ का लागि खोलेका छन् यसको व्यवस्थापन भने शून्य छ। युवाहरू जानेर, नजानेर यस क्षेत्रमा प्रवेश गर्ने हुनाले धेरैको बुझाई गलत हुने गरेको छ। धेरैमा पैसा आउँछ र त्यही पैसा मध्ये केही रकमले मात्रै काम गर्ने गरेको भन्ने भ्रम हुँदो रहेछ। तर, जब पैसा हुँदैन भन्ने थाहा पाउँदा छक्कसमेत पर्ने अनुभव छ म सँग।

त्यस्ता लाञ्छनाले गर्दा पनि कतिपय युवाहरू मानसिक तनावमा पर्ने गर्छन्। ‘त्यस्तो कुरा गर्दा कहिलेकाहीँ फ्रस्टेसन हुन्छ तर, युवाहरूले जति अन्यले यस क्षेत्रमा काम गर्न सक्दैन जस्तो लाग्छ मलाई।समाजलाई समाजजस्तो बनाउन स्वार्थ, लोभ र पाप बाट मान्छेहरू माथि उठ्न जरुरी छ । अनि मात्र समाज समाज जस्तो बन्छ । अन्त्यमा, सेवा धर्म हो, गीता मा भनेझैँ कर्म गर फलको आस नगर भन्ने कुरालाई मध्यनजर गर्दै त्यसलाई व्यवहारमा उतार्ने मात्र समाजसेवी हुन सक्दछ । दलरहित, स्वार्थरहित, जो कर्ममा लाग्दछ त्यसलाई समाजसेवी भन्न सकिएला तर दलका, स्वार्थका अनुयायीहरू समाजसेवी हुन सक्दैनन् । तिनीहरूले समाजसेवा शब्दको अपमान नगरेकै राम्रो ।

अचेल एउटा व्यवसाय खुबै फापेको देखिन्छ– सम्मान र अभिनन्दन। पैसावाललाई सम्मान चाहिएको छ। धन्दा नमान्नुहोस्– त्यसका संस्था बग्रेल्ती छन्। तपाईँलाई कति हजार वा कति लाखको पुरस्कार थाप्नु छ, भन्नुहोस्। आफैँ रकम दिनुहोस्। त्यसको कार्यक्रम गर्ने खर्च बेहोर्नुहोस्। दोसल्ला आफैँ किन्नुहोस्। साथमा आयोजक संस्थालाई ‘सेवा शुल्क’ टक्र्याउनुहोस्। सम्मान पाउने तपाईँको अभिलाषा पूरा भइहाल्छ। उसको पनि व्यापार चल्छ। ‘विन–विन’ को यो धन्दा निकै फैलिएको छ। समाजसेवा यस्तै अर्को व्यवसाय हो। यसमा पनि झार्ने र कमाउने शैली उही प्रयोग हुन्छ।

देशका विभिन्न क्षेत्रमा बाढीले डुब्दा विदेशबाट करोडौँ उठ्यो। त्यो कहाँ पुग्यो– लेखाजोखा छैन। हरेक सिजन देशमा कुनै न कुनै विपत्ति आएकै हुन्छ। दानी नेपालीले ती सबै दुःखद क्षणमा दिएकै हुन्छन्। सदुपयोग भने औँलामा गन्नुपर्ने हुन्छ।
जब–जब देशमा विपत्ति हुन्छ, ‘समाजसेवा खेती’ निकै मौलाउँछ। भूकम्पले कति घरबार विहीन हुँदा कतिका दरबार जोडिए। पीडितका अगाडि गोहीका आँसु चुहाउँदै सहयोगका त्यान्द्रातुन्द्री तिनले छरे। ठुलो हिस्साले आफ्नै गोजी भरे।
अब त्यो पीडाको व्यापार गर्ने देशमा धेरै हुनेछन्। आफ्नो होइन, अरूको गोजीको पैसा मागेर ‘समाजसेवी’ बन्न हौसिनेहरू बग्रेल्ती देखिनेछन्। पीडितका पीडासामु केही रुपैयाँको ‘राहत’ बोकेर गलाभरिको माला हल्लाउँदै ती झुल्किनेछन्। र, आफैँ भन्नेछन्– ‘मजस्तो समाजसेवी अरू को होला ? ’

“मैले बुझेको समाजसेवा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजको सर्वोपरि हितको निम्ति लाग्नु हो “
कुनै पनि समाज सहृदयी एवं दूर दृष्टि भएका सामाजिक अभियन्ताका सत्प्रयासले अग्रगमनतर्फ अघि बढिराखेको हुन्छ । समाज सुसंस्कृत र समृद्ध हुन यस्ता व्यक्तित्वको सोच र चिन्तन अपरिहार्य हुन्छ । देशभरि नै यस्ता समाजसेवीको कमी छैन तर मोफसलका यस्ता मान्छेको पहिचान र कदर भने राज्यले विरलै गरेको पाइन्छ । हुन त यस्ता समाजसेवी कदर पत्र वा नामका लागि, केही पाइएला भन्ने उद्देश्यले सामाजिक रूपान्तरणका लागि जीवन उत्सर्ग गरेका हुँदैनन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button