बेनी–जोमसोम सडक कालोपत्र शुरु

पोखरा न्यूज । उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक कालोपत्र शुरु भएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पहिलो र तेस्रो प्याकेजमा कालोपत्र शुरु गरिएको हो । पहिलो प्याकेजअन्तर्गत जिल्लाको राहुघाटदेखि बेगखोलासम्मको छ किलोमिटर र मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ ।

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आषिश मानन्धरले बताउनुभयो । “बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हँुदैछ”, उहाँले भन्नुभयो, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।”

सोह« दशमलव पाँच किलोमिटर दूरीको दोस्रोअन्तर्गत म्याग्दी र मुस्ताङको सिमानामा रहेको काभ्रे, बादरजुङ र घोप्टेभिर तथा पहिरो प्रभावित रुप्से क्षेत्रबाहेकका स्थानमा सडक स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । पहिलो प्याकेजको बेगखोला–जलथले खण्डमा भने ढिलाइ भएको छ । पहिलो प्याकेजको राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदार ओमकारेश्वर कन्सट्रक्शनका प्रतिनिधि अमृत दाहालले प्राइम कोड हालेर कालोपत्रको काम शुरु गरेको बताउनुभयो ।

“मौसमले साथ दियो भने गलेश्वरदेखि बेगखोलासम्मको छ किलोमिटर सडक जेठ महिनाभित्र कालोपत्र सक्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “सडक विस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्र गर्न लागिएको हो ।” कोरोना महामारीको जोखिम र निषेधाज्ञाका बाबजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदूर, उपकरण र निर्माण सामग्री जुटाएर आयोजनालाई निरन्तरता दिइएको दाहालले बताउनुभयो ।

विसं २०७४ साउनदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । करीब रु छ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डको ८८ र बेनी–जोमसोम खण्डको ६५ प्रतिशत भौतिक प्रगति छ । सात प्याकेजको जोमसोम–कोरला खण्डको चार प्याकेजको काम निर्माण सकिएको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताउनुभयो ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको बेनी– जोमसोम सडक कच्ची र जीर्ण थियो । कच्ची र साँघुरो सडकमा हिउँदमा धुलाम्मे तथा वर्षामा हिलाम्मे हुने समस्या थियो । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टाछुट्टै निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको थियो । रु तीन अर्ब ४० करोड लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मा÷युनाइटेड जेभीले लिएको थियो ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि ढिलासुस्तीले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको छ । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ ।

मुस्ताङमा १२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

मुस्ताङमा कोरोना भाइरसबाट सङ्क्रमित र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा आवश्यक पर्ने १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

निवर्तमान प्रतिनिधिसभा सदस्य तुलाचनको पहलमा ‘माउन्टेन हर्ट नेपाल’ले स्वास्थ्य उपकरण सहयोग गरेको हो । अमेरिकी संस्था ‘डाइरेक्ट रिलिभ’ मार्फत उपलब्ध सामग्री बिहीबार जोमसोममा मुस्ताङका स्थानीय तहलाई उपलब्ध गराइएको थियो ।

मुस्ताडको जोमसोम अस्पताल र पाँच स्थानीय तहलाई दुई÷दुई थान अक्सिजन कल्सन्ट्रेटर उपलब्ध गराइएको तुलाचनले जानकारी दिनुभयो । “अक्सिजन कल्सन्ट्रेटरले कोभिड सङ्क्रमित मात्र नभई अन्य बिरामीको उपचारमा पनि सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीका साथै लेक लागेर बिरामी हुने पर्यटक र तीर्थयात्रीका लागि पनि यसको प्रयोग गर्न सकिन्छ ।”

विदेशी संस्थाबाट सहयोग प्राप्त सामग्री हस्तान्तरणका लागि अध्यक्ष अवन गौतमसहित संस्थाका प्रबन्धक विजय पौडेल र इन्जिनीयर प्रताप अधिकारी हेलिकोप्टर चढेर मुस्ताङ पुग्नुभएको थियो । माउन्टेन हर्ट नेपालले गोर्खा, नुवाकोट र मुस्ताङमा कल्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ ।

संस्थाले केही दिनभित्रै मनाङ, म्याग्दी, रसुवा र कास्कीसहित आवश्यक पर्ने जिल्लामा अक्सिजन कल्सन्ट्रेटर हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । मुस्ताङ अस्पतालमा हालसम्म सघन उपचारकक्ष र भेन्टिलेटरको सुविधा छैन । अस्पतालमा पर्याप्त जनशक्तिसमेत नभएकाले संस्थाले प्रदान गरेको अक्सिजन कल्सन्ट्रेटर मुस्ताङका स्थानीयवासीलाई बहुउपयोगी हुने जनाइएको छ ।

अस्पतालमा न्यून क्षमताको अक्सिजन प्लान भएको र सिलिण्डरमा अक्सिजन भर्ने उपकरण नभएकाले अक्सिजन ढुवानीमा समस्या पर्दै आइरहेको छ । बर्खायामको मौसममा बाढी÷पहिरो र नदीकटानका कारण सडकको दुरावस्थाका कारण पनि अक्सिजन भरेर मुस्ताङ लैजान समस्या हुने गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button