तनहुँमा जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

पोखरा न्यूज । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि तनहुँमा गरिएको निषेधाज्ञालाई चौथो पटक थप गरिइएको छ । कोभिडको जोखिम अझै कम नभएको र समुदायमा व्यापक फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

जिल्ला गत वैशाख २२ देखि ३१ गतेसम्म पहिलो, यही जेठ १ देखि १५ सम्म दोस्रो र जेठ १६ देखि २२ सम्म तेस्रो पटक निषेधाज्ञा गरिएको छ । तेस्रो पटक गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कोभिड जोखिम कम नभएकाले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्न स्थानीय तह लगायत सबै पक्षलाई अनुरोध गरिएको छ ।

तीन प्रयोगशाला बन्द

दमौलीमा सञ्चालनमा रहेको तीन प्रयोगशाला प्रशासनले बन्द गराएको छ । दर्ता नभएका र उद्देश्य विपरित सञ्चालन भएका तीन प्रयोगशाला प्रशासनले बन्द गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा केही दिन अगाडी गरिएको अनुगमन पश्चात् चार प्रयोगशाला तत्काल बन्द गर्न निर्देशन दिइएको थियो । बन्द भएकाप्रयोगशालालाई प्रदेशबाट अनुमति लिएर आउन आग्रह गरिएपछि व्यास डायग्नोष्टिक प्रालिले मात्रै अनुमति ल्याएपछि उक्त ल्याबलाई सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिनुभयो ।

युआरएलको दमौली र दुलेगौडा तथा गणेशमानचोकमा सञ्चालित दमौली प्याथ ल्याबलाई भने प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुमतिपत्र ल्याएपछि मात्रै सञ्चालन गर्न दिइने बरालले जानकारी दिनुभयो । प्रशासनले अनधिकृत रुपमा पिसिआर स्वाब लिने काम समेत बन्द गर्न निर्देशन दिएको छ । “सबैले अनुमति ल्याउने प्रकृयामा रहेको जानकारी गराउनुभएको छ, अनुमतिपत्र ल्याएर प्रशासनलाई बुझाएपछि मात्रै सञ्चालन गर्न दिइनेछ,” उहाँले भन्नुभयो ।

म्याग्देलाई दुई थान अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री

तनहुँ उद्योग वाणिज्य सङ्घले म्याग्दे गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान २०७८ मार्फत् गाउँपालिकालाई दुई थान अक्सिजन सिलिन्डर सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । गाउँपालिकामा आज सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत पदाधिकारीले गाउँपालिकाका अध्यक्ष मायादेवी रानालाई उक्त सामग्री प्रदान गर्नुभएको छ । सङ्घले मास्क, स्यानीटाइजर, फेशसिल्ड, डस्टविन, पिपिई लगायतका सामग्री सहयोग गरेको सङ्घका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सङ्घले जिल्लाका विभिन्न पालिका र अस्पताललाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरिरहेको छ । यसअघि दमौली अस्पताललाई ६ थान अक्सिजन सिलिन्डर, बन्दीपुर अस्पताललाई तीन , आँबुखैरेनी स्वास्थ्यचौकीलाई तीन र पुरनडिही अस्पताललाई तीन अक्सिजन सिलिन्डर सहयोग गरिएको उहाँले बताउनुभयो । म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले कोभिड नियन्त्रणका लागि निजी क्षेत्रबाट गरिएको सहयोग उल्लेखनीय रहेको जनाउँदै सबैको सामूहिक प्रयासले यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सामग्री सहयोग गरेकामा सङ्घप्रति आभार व्यक्त गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button