मेयर जमानी बसेपछि सङ्क्रमितको शव दिन मेडिकल कलेज सहमत, दाहसंस्कारमा समस्या

पोखरा न्यूज ।  पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार खर्च तिर्न नसक्दा पाल्पाका एक पुरुषको दाहसंस्कार हुन सकेको छैन । कोरोना सङ्क्रमण भई उपचारका क्रममा लागेको खर्च नतिरेसम्म कलेजले शव दिन नमानेपछि तानसेन नगरपालिकाले जमानी बसेर शव निकाल्ने वातावरण मिलाएको छ । यद्यपि कसले कहाँ शव दाहसंस्कार गर्ने भन्ने टुङ्गो लाग्न भने सकेको छैन ।

तानसेन–९ डाँडाडुमका ५८ वर्षीय पुरुषको बुधवार कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । चार दिनदेखि कलेजमै उपचार गराइरहेका पुरुषको उपचार खर्च तिर्न नसकेपछि मृतकका ज्वाइँ गुहार गर्दै वडाकार्यालय पुग्नुभएको थियो । वडाध्यक्ष हरिहर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएकाले खर्च मिनाहा गरिदिन अनुरोधसहित सिफारिस दिएको बताउनुभयो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

बिरामीको उपचारका लागि रु एक लाख ७५ हजार खर्च भएको र त्यसमध्ये रु २० हजार धरौटी छ । मेडिकल कलेजले उपचार खर्च छुट गर्र्न नसकेको कुरा बिरामीका आफन्तलाई बताएपछि तानसेन नगरप्रमुख अशोककुमार शाहीले अस्पतालसँग समन्वय गरी आफू जमानी बसेको बताउनुभयो । नगरपालिकाले शव दिन अनुरोध गर्दै बक्यौता रकमका लागि नगरपालिका जमानी रहेको बताएपछि शव दिन मेडिकल कलेज सहमत भएको हो ।

“नगरपालिका जमानी बसेर कलेजले शव उठाउन भने पनि हामीसँग शव लैजाने पैसा छैन”, मृतकका ज्वाइँ राजु विकले भन्नुभयो, “कोसँग गुहार माग्ने ? ससुराको जग्गा पनि छैन, पैसा पनि छैन, यस्तो अवस्थामा दाहसंस्कार समेत कसरी गर्ने अलपत्र छाँै ।”

मेडिकल कलेज प्रभासका निर्देशक निर्दोष खनालले भन्नुभयो, “रु २० हजार मात्रै धरौटी लिएर बीचमा पैसा नमागी उपचार गरिरहेका हौँ । अहिले शव अस्पतालमै छ, तर कहाँ र कसरी आर्थिक जोहो गरेर शव व्यवस्थापन गर्ने भन्नेमा आफन्त अलपत्र अवस्थामा छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button