जिल्ला अस्पतालमा नै हुनथाल्यो शल्यक्रिया

पोखरा न्यूज । जिल्ला अस्पताल पर्वतमा चिकित्सक, उपकरण तथा भौतिक पूर्वाधार थप गरिएसँगै बिरामीका शल्यक्रियामा पनि वृद्धि हुन थालेको छ । सामान्य शल्यक्रियाका लागि बिरामीलाई पोखरा तथा काठमाडाैँ लिएर जानुपर्ने अवस्थामा समेत सुधार आएको छ ।
कोरोनाको महामारीका बीचमा जिल्ला अस्पतालमा एक सय ३५ बिरामीको शल्यक्रिया गरिएको छ ।

अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी गत बैशाखदेखि शुरु भएपछि १३ गर्भवतीको जटिलखालको शल्यक्रिया गरिएको छ । गत साउनदेखि यही जेठ २० गतेसम्म कूल ६६ जटिल प्रकृतिको सुत्केरीको शल्यक्रिया गरिएको छ भने हर्नियाको १० ,हाइड्रोशिलका दुई र एक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । सोही अबधिमा ५६ माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

“गत वर्ष पनि कोरोनाको महामारी कायमै रहेको बेलामा शल्यक्रिया सेवा पनि सञ्चालन भएका थिए । अहिले दोस्रो लहर चलिरहेको बेलामा पनि बिरामीलाई सेवा दिनको लागि हामी लागिरहेका छौँ ।” उहाँले भन्नुभयो, “चिकित्सक तथा स्वास्थ्यकर्मीहरू इमानदारीपूर्वक सेवामा लागिरहेका कारण यो सम्भव भएको हो । जोखिमको माझमा पनि बिरामीलाई सेवा दिनु हाम्रो को कर्तव्य हो ।”

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जिल्लाबासी सामान्य शल्यक्रियाका लागि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको बताउनुभयो । अस्पतालको स्तरोन्नति गर्दै सेवा सुविधा पनि थप भएपछि एमडिजिपी चिकित्सक सहितको टोलीबाट शल्यक्रियाका भइरहेको उहाँको भनाई छ ।

“अहिले अस्पतालको स्तरोन्नति गरिएको छ । पोखराका स्वास्थ्य संस्थामा प्राप्त गर्न सकिने विभिन्न स्वास्थ्य सुविधाको व्यवस्थापन अस्पतालमा नै गरिएको छ । अहिले सामान्य अवस्थामा बिरामीहरूलाई पोखरा वा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको छ ।” उहाँले भन्नुभयो “कोरोना कहरको यो विषम परिस्थितिमा पनि अस्पतालले मिर्गौला डायलिसिस, प्रसूति सेवा तथा आकस्मिक सेवालाई नियमित रूपमा सञ्चालन गरिएको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button