नेपाल बहुल राष्ट्रिय राज्य हो, त्यसै अनुसारको व्यवस्था हुनुपर्छ : उपप्रधानमन्त्री महतो

संविधान अपूर्ण भएको भन्दै जसपाले मिसन चलाउने

 पोखरा न्यूज ।  उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।

शनिबार जसपाको पार्टी कार्यालय बबरमहलमा नवनियुक्त मन्त्रीहरूलाई स्वागत कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसैअनुसार नियम, कानुन, संविधान र व्यवस्थामा हिमाल,पहाड, तराई र मधेसको जनताको सहभागिता हुनुपर्ने बताउनुभएको हो ।

बहुलताले भरिएको देशमा एकल जातीय राज्यको प्रभाव परेको भन्दै बहुलतामा लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । बहुल राज्य नभएसम्म जनताले अधिकार र पहिचानको निम्ति आन्दोलन गरिरहने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल विविधताले भरिएको देश हो । विभिन्न जाति, वर्ग, समुदाय, चार वर्ण छत्तिस जातको फूलबारी भनेको विविधता हो । बहुलता भनेको त्यही हो । त्यसैले बहुल राष्ट्रिय राज्य हो । नेपाल भनेको बहुल राष्ट्रिय राज्य भएकोले त्यहाँ त्यो अनुसारको नियम, कानुन, संविधान, व्यवस्था, सहभागिता, हिमाल, पहाड, तराई, मधेसका जनताको हुनुपर्छ । विविधताले भरिएको देश, बहुलताले भरिएको देशमा एकल हुनै सक्दैन । बहुलता नै हुन्छ । बहुल भनेको कुनै एक जात, एक वर्ग, एक समुदाय होइन । बहुलता भनेको सबै हो । त्यसैले सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । पहिचान हुनुपर्छ । र यो नभएसम्म देशमा जनताले आफ्नो अधिकार पहिचानका लागि सङ्घर्ष गरिरहन्छ । आन्दोलन गरिरहन्छ पहिचानको लागि । नेपाल सम्पूर्ण नेपालीको हुनुपर्छ । बनाउनुपर्छ । जहाँतहाँ कमी कमजोरी छ । जहाँतहाँ विभेद छ । जहाँतहाँ एकल जातीय राज्य सञ्चालन गर्ने, एकल जातीय हिसाबले जहाँ प्रभाव परेको छ । त्यसलाई बहुलतामा लैजानुपर्छ । यो सबैको देश हो । राज्यको शासन प्रणालीदेखि लिएर सबै ठाउँमा उसको पहिचान, प्रतिनिधित्व हुनुपर्छ ।’

उहाँले संविधान अपूर्ण भएको भन्दै अधिकार र पहिचानको निम्ति जसपाले मिसन चलाउने पनि बताउनुभयो । देशका सबै कुरा ठिकठाक नभएको भन्दै उहाँले नियम, कानुन, संविधान र शासनमा भएको कमीकमजोरीलाई संशोधन र सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button