सकारात्मक उर्जा थप्दै अभिनेता पुष्प

पोखरा न्यूज सम्वाददाता । अभिनेता पुष्प बहादुर खड्का कोरोना महामारीको यो समयमा आफ्ना शुभचिन्तकमा सकारात्मक उर्जा थप्न कस्सिनुभएको छ । कैलाली जिल्लाको लम्किचुवामा जन्मिनुभएका पुष्प अहिले गृह जिल्लामा हुनुहुन्छ । शनिबार विश्व वातावरण दिवसको अवसरमा विरुवा रोपेर पानी हाल्दै गरेको तस्विर उहाँले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।

कोरोनाले हामीलाई केही सिकाएको छ भन्दै उहाँले ‘केही लिनलाई केही दिन पनि जान्नुपर्छ, हामी बस यसलाई माटो र पानी दिउँ यसले हामीलाई जीवन दिनेछ’ लेख्नुभएको छ । वृक्षरोपण र त्यसको संरक्षण प्रत्येक नागरिकको कर्तव्य बनेको छ भन्दै उहाँले विश्व वातावरण दिवसको शुभकामना दिनुभएको थियो ।

चारदिन अगाडि मकैबारीमा कोदालो लिएर खन्दै गरेको तस्विर पोष्ट गर्दै उहाँले ‘नेपाल कृषिप्रधान देश हो, म आफू किसान हुनुमा गर्व लाग्छ’ भन्दै काम गर्दै गरेको तस्विर पोष्ट गर्नुभएको थियो ।

यसरी आफुले गरेका सामाजिक काम तथा व्यक्तिगत काम सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले आफ्ना फ्यान तथा साथीभाईको ध्यान खिच्न सफल हुनुभएको छ । उहाँले गरेको यस्ता कर्मलाई अधिकांशले सकारात्मक भनि प्रतिक्रिया दिएका छन् । केहीले उहाँलाई जिस्क्याएर कमेन्ट गरेका छन् ।

अभिनेता पुष्प मनकारी समेत हुनुहुन्छ । केही समय अगाडि पुष्पले कोरोना महामारीको समयमा भएको अक्सिजन अभावलाई ध्यान दिँदै अक्सिजन खरिदको लागि सहयोग गर्नुभएको थियो । कैलालीको मैनादेवी फाउन्डेशनसँग सहकार्य गर्दै अक्सिजन खरिदका लागि रकम सहयोग गर्नुभएका उहाँले अन्य विभिन्न संघसंस्थासँग सहकार्य गर्दै अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने बताउनुभएको छ ।

हुनत बाल्यकालदेखिनै अभिनय र नृत्यमा रुचि राख्ने पुष्प विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेपछि मात्र फिल्म क्षेत्रमा आउनुभएको हो । अझैपनि फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्नुभएका खड्काले दर्पण छायाँ २, मंगलम, दाल भात तरकारी र मारुनी मार्फत आफ्नो अभिनयको क्षमता प्रर्दशन गर्नुभयो । खड्काले अभिनय गरेका पाँच वटा नेपाली फिल्म प्रर्दशन भइसके । खड्काले अभिनय गरेको कृष्णलीला प्रर्दशनको क्रममा छ । चालबाज तथा तिम्रो मेरो साथ फिल्ममा समेत उहाँको अभिनय हेर्न पाइनेछ ।

उहाँ फिल्ममा भन्दा म्युजिक भिडियोमा झनै व्यस्त हुनुहुन्छ । हेमन्त शर्माको ‘के माया गर्न हुन्न’ गीतबाट म्युजिक भिडियोमा अभिनय गर्न थाल्नुभएका पुष्पले हालसम्म ७ सय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । यसका अलावा उहाँ विज्ञापनमा गरेको अभिनय मार्फत समेत दर्शकमाझ परिचित बन्नुभएको छ ।

जेहोस् कोरोना कहरको कारण फुर्सद मिलेको यो समयमा सकारात्मक कार्य गर्दै उर्जा थप्ने उहाँको प्रयास तारिफयोग्य नै छ । पहिलो चरणको कोरोना कहरको समयमा भने उहाँ म्युजिक भिडियोमानै बढी व्यस्त हुनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button