सुतेकै अवस्थामा निधन भएका म्याग्दीका निरसहित ३ जनाको शव नेपाल पठाइयो

तिलु शर्मा पौडेल, दोहा कतार  । गत मे २० मा  कतारमा निधन भएका म्याग्दी जिल्ला मालिका -५ रुन्माका निर प्रसाद कामीको शव नेपाल पठाइएको छ ।

मृतक कामीका आफन्तहरू मोना कतारका अध्यक्ष नरेन्द्र फगामी र कम्पनीका जिम्मेवार अधिकारीहरूसहित कतारको सरकारी हमाद अस्पताल पुगेर  प्रक्रिया पुरा गरी शव नेपाल पठाइएको हो ।

रोजगारीको सिलसिलामा करिब ८ वर्ष अघि कतार आएका कामीको हृदयाघातका कारण दुई साता अघि सुतेकै अवस्थामा निधन भएको थियो । उहाँका  २ छोरा, श्रीमती र  आमा हुनुहुन्छ ।

कामीको मृत्यु लगत्तै नेपाली नियोगमा पुगेर शव नेपाल पठाउन तथा कामीले पाउनु पर्ने सबै रकम लिएर पठाउने कार्यमा अध्यक्ष फगामीले सहजीकरण गर्नु भएको थियो ।

फगामीका अनुसार मृतकको श्रीमतीको नाममा बैकमा खाता खोलेर पाउनु पर्ने इन्सोरेन्स र बोनस बापत प्राप्त कतारी रियाल २१ हजार ५६९ रियाल अर्थात् ६ लाख ८४ हजार ९४७ रुपैयाँ जम्मा गरीसकिएको छ ।

कम्पनीले लाइफ इन्सोरेन्स गरिदिएको भए मृतकको परिवारलाई रकम बढी मिल्ने फगामीले बताउनुभयो । ‘कम्पनीले वर्क इन्सोरेन्स मात्र गरेको रहेछ त्यस कारण रकम कम प्राप्त भयो’, फगामीले भन्नुभयो । परिवारको अवस्था दयनीय भएको हुँदा मोना कतारले पनि आर्थिक सहयोग जुटाउने फगामीले बताउनुभयो ।

मृतक कामी सँगै कतार एयरवेजको जहाजमा बन्द बाकसमा जङ्ग बहादुर सुवेदी र धन बहादुर नेपालीको शव पनि पठाइएको छ ।

नेपाली नियोग कतारका द्वितीय सचिव भुवन भट्टका अनुसार भोलि नेपाल एयरलाइन्सको उडान मार्फत थप १ विष्णु प्रसाद बस्यालको शव नेपाल पठाउन लागिएको छ ।

कतारको सरकारी अस्पतालमा अझै ८ जना नेपालीको शव रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button