व्यासको बुदीमा फल्न थाल्यो स्याउ

पाेखरा न्यूज । गत वर्ष लगाइएकाे इटालेली गाला र फुजी जातकाे स्याउ दार्चुलाकाे  व्यास गाउँपालिका–१ को बुदीमा स्याउ फल्न थालेको छ । कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा गत वर्षदेखि स्याउ खेती शुरु गरेको थियो । स्याउ लगाएको दोस्रो वर्षमै फल दिन थालेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताउनुभयो ।                                                 

पहिलो वर्ष एक हजार ५०० बोट स्याउ खेती परीक्षणका रूपमा लगाइएको हो । अहिले फल दिएको स्याउको स्वाद र उत्पादन हेरेर थप स्याउ खेती विस्तार हुनेछ । फर्मले चालु वर्षमा पाँच हजार २०० बोट थप स्याउ खेती विस्तार गरेको छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्ने बुदीमा स्याउ लगाइएको हो । बुदीमा रहेको कुल २०० रोपनी जमीनमा स्याउ खेती विस्तार गर्ने योजना रहेको अध्यक्ष बुढाथोकी बताउनुहुन्छ । कुल छ हजार ७०० बोट स्याउ लगाइएको छ । यो क्षेत्रमा कम्तीमा १२ हजार बोट स्याउ खेती लगाउने योजना छ । बाटो घाटो नहुँदा अहिले ढुवानी भाडा महँगो हुँदा लागत बढेको छ । “अहिलेसम्म रु एक करोडभन्दा बढी लागत पुगिसक्यो”, अध्यक्ष बुढाथोकी भन्नुहुन्छ, “सडक चाँडो बन्न सके हामीलाई स्याउ खेतीमा सहज हुने थियो ।” अहिलेसम्म फर्मले कृषि ज्ञान केन्द्र दार्चुलामार्फत रु २१ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यो वर्ष एक हजार ७०० बोट स्याउ अनुदानबाहेक सरकारी लगानी पाइएको छैन ।                                                                       

अहिलेसम्म आफ्नै लगानीमा स्याउ खेती विस्तार भइरहेको अध्यक्ष बुढाथोकीले बताउनुभयो । “दार्चुला तिङ्कर सडक निर्माण समयमै हुन सक्यो भने बुदीमा फल्ने स्याउ सुदूरपश्चिमभरि पु¥याउन सहज हुन्छ तर सडक नपुगेसम्म उत्पादन भएको स्याउ बजारसम्म ल्याउन समस्या हुनेछ”, उहाँले भन्नुभयो । व्यास–१ छांगरुमा पनि हजारौँ बोट स्याउ लगाइएको छ ।

यहाँ उत्पादन हुने स्याउ सशस्त्र प्रहरी बल र भारतीय सुरक्षाकर्मीलाई विक्री हुँदै आएको छांगरुका स्याउ उत्पादक जीतसिह बोहराले बताउनुभयो । नेपालतिर बजार पु¥याउन बाटो घाटो छैन, अहिलेसम्म भारतीय सुरक्षाकर्मीलाई स्याउँ विक्री गर्ने गरिएको छ । दार्चुलाको व्यास, नौगाड, मार्मा र अपिहिमाल गाउँपालिकामा स्याउ खेती हुने गर्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button