मुख्यमन्त्री गुरुङले जेठ २७ मा विश्वासको मत लिने

पाेखरा न्यूज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिनुहुने भएकाे छ । प्रदेश सभाबाट विश्वासकाे मत लिनका लागि मुख्यमन्त्री गुरुङले आज प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएकाे हाे ।

प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले बैशाख २९ गते नेकपा एमालेका संसदीय दलका नेता गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियाे ।

यसअघि वैशाख २६ गते मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिनुभएकाे थियाे । उहाँकाे राजिनामा पछि प्रदेश प्रमुख सीता कुमारी  पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकोमा  दलहरूले बहुमत प्रदेश सांसदहरुकाे हस्ताक्षरसहित सरकार गठनका लागि दाबी पेश गर्न सकेका थिएनन् ।

प्रदेशमा सबभन्दा ठूलो दल एमालेका नेता गुरुङ पुन मुख्यमन्त्री बन्नु भएकाे हाे । बहुमत प्रदेश सदस्यहरुकाे समर्थन नभएर अल्पमतकाे सरकारकाे नेतृत्व गर्ने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ संवैधानिक व्यवस्था छ ।

विश्वासको मत लिनु ४८ घण्टा अघि प्रदेश सभामा प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ।

प्रदेशमा ६० सांसद छन् । सरकार गठन गर्न ३१ सांसदकाे मत चाहिन्छ । प्रदेशमा एमालेका २७ , कांग्रेसका १५, माओवादीका सभामुख सहित १२, जनमोर्चाका ३,  जसपाका २ र १ स्वतन्त्र सांसद राजिव गुरुङ रहेका छन् ।

स्वतन्त्र सांसद गुरुङ प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ भने निर्णायक रहेको जनमोर्चाका सांसदहरु मध्ये कृष्ण थापा पनि मुख्यमन्त्री गुरुङकाे पक्षमा हुनुहुन्छ । विश्वासकाे मतका लागि २ मत पुग्दैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button